काठमाडौं । नेकपा एमालेनिकटका पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले पार्टीको आसन्न दोस्रो विधान महाधिवेशन (२०-२२ भदौ) लाई लक्षित गर्दै ७ बुँदे सुझाव पेश गरेको छ ।
अध्यक्ष गणेश पाण्डे नेतृत्वको चौतारी पदाधिकारीको टोलीले एमाले मुख्यालय च्यासलमा महासचिव शंकर पोखरेललगायतका नेतालाई भेटेर सुझाव पेश गरेको हो ।
सुझाव पत्रमा प्रेस स्वतन्त्रता, पार्टीको उमेर हद र नेतृत्व कार्यकालको बहस, पार्टी सदस्यता, सम्पर्क समन्वय कमिटी, साथै मिडिया कानूनका विषयका सुझाव राखिएको छ ।
चौतारीले नेपालको संविधानले प्रत्याभूत गरेको प्रेस स्वतन्त्रतालाई पार्टी विधानको प्रस्तावनामा नै ‘पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध छ’ भन्ने वाक्यांश राख्न सुझाव दिएको छ ।
पछिल्ला वर्षहरूमा नेपालीको औसत आयु बढेको सन्दर्भमा एमालेमा ७० वर्षे उमेर हद हटाउने र दुई कार्यकालमात्र पार्टी अध्यक्ष हुन पाउने प्रावधान हटाउने केन्द्रीय कमिटीको निर्णयलाई स्वागतयोग्य मानिएको छ । यसले अनुभवी नेतृत्वलाई निरन्तरता दिने र पार्टी आन्दोलनलाई थप सशक्त बनाउने विश्वास जनाइएको छ ।
केन्द्रीय कमिटीको आकार सन्दर्भमा पदाधिकारी वान डिजिट र अधिकांश जनसंगठनको केन्द्रीय कमिटी टू डिजिटमा झार्ने निर्णय कार्यान्वयन गरिसकेको सन्दर्भमा विधानमा प्रस्तावित १५ सदस्यीय पदाधिकारीलाई ९ कायम गर्न र केन्द्रीय कमिटीको संख्या २५१ कायम राख्न सुझाव दिइएको छ ।
प्रेस चौतारीले विशेष सुझावको रूपमा राष्ट्रपति, उपराष्ट्रपति भइसकेका व्यक्तिलाई सक्रिय राजनीतिमा फर्कन नपाउने गरी संविधान र पार्टीको विधानमा किटान गर्न पनि भनेको छ । यसैगरी, संवैधानिक आयोगमा नियुक्त भएका प्रमुख आयुक्त र आयुक्तहरूलाई पनि पार्टीमा फर्किन नपाउने व्यवस्था गर्न भनिएको छ ।

Leave a Reply