नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापनाका लागि सम्झौता, १० महिनामा कोरियाली कम्पनीले प्रतिवेदन बुझाउने (भिडिओ)

काठमाडौं । लगानी बोर्ड र दक्षिण कोरियाली कम्पनी जी–फिलोस कम्पनी लिमिटेडबीच नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट तथा फ्युल सेल स्थापनाका लागि सम्झौता भएको छ । कोरियाली कम्पनीले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गर्ने भएको हो ।

लगानी बोर्डको कार्यालयमा आयोजित कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र जी–फिलोस कम्पनीका प्रमुख कार्यकारी अधिकृत गावु पार्कले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । यो सम्झौतासँगै अब नेपालमा स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खुलेको छ ।

समझदारी अनुसार, जी–फिलोस कम्पनीले लगानी बोर्डबाट सर्वेक्षण अनुमति प्राप्त गरेपछि करिब १० महिना भित्रमा विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार गरी बोर्डको कार्यालयमा पेस गर्नेछ । यसले नेपालमा ग्रीन हाइड्रोजन उत्पादनको प्राविधिक र आर्थिक सम्भाव्यताको स्पष्ट खाका प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

हस्ताक्षर कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताए योङले नेपालमा स्वच्छ ऊर्जाको प्रचुर सम्भावना रहेको बताउँदै यस्ता परियोजनाले नेपालको दिगो विकास लक्ष्य हासिल गर्न सकिने बताए । दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्युत नियमन आयोग, विद्युत विकास विभाग, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, नेपाल विद्युत प्राधिकरण र काठमाडौं विश्वविद्यालयका उच्च पदस्थ अधिकारी तथा अनुसन्धानकर्ताहरूको उपस्थिति थियो । उनीहरूले नेपालमा ग्रीन हाइड्रोजनको नीतिगत र कानुनी व्यवस्था, यसका बहुआयामिक लाभहरू र भविष्यमा यसको उपयोगका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस परियोजनाले नेपालमा पूँजी र प्रविधिको आदानप्रदानमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। अध्ययन प्रतिवेदन प्राप्त भएपछि यथाशीघ्र नेपालमा ग्रीन हाइड्रोजन प्लान्ट स्थापना गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

जी–फिलोस कम्पनीले २०८२ वैशाख १५ मा सार्वजनिक–निजी साझेदारी मोडलमा ग्रीन हाइड्रोजन तथा फ्युल सेल प्लान्ट स्थापनाको प्रस्ताव लगानी बोर्डमा पेस गरेको थियो । बोर्डको ६३औँ बैठकले सोही प्रस्तावलाई अगाडि बढाउँदै कम्पनीसँग समझदारी गर्ने निर्णय गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *