काठमाडौं । नेपाल शिक्षक महासंघले नेकपा एमालेको कार्यालयमा धर्ना दिदै ध्यानाकर्षण बुझाएको छ ।
विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउदै आन्दोलनरत महासंघले बिहीबार ललितपुरको च्यासलस्थीत एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
सरकारले आफुहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।
शिक्षकहरुको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थीत गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरुको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबीच भएको सहमति कार्यान्वयन प्रति एमाले प्रतिवद्ध रहेको उल्लेख गरे ।
पोखरेलले सरकारसँग भएको सहमतिहरु कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भएपनि ती बिषयहरुलाई समावेश गर्न पहल गर्ने आश्वासन दिए ।
त्यस्तै महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासंघसंग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन्।
प्रतिनिधिसभा पेश भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै बिषयहरु अझै पनि सम्बोधन हुन नसकेको बताइन् ।
उनले विधेयकमा रहेका असहमतिका बुँदाहरुलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट संम्बोधन गर्न राजनीतिक दलहरुले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । महासंघले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।

Leave a Reply