तीन वर्षअघि अन्तरघात गरेकाे भन्दै उपनिर्वाचनको मुखमा रुपन्देहीका प्रभावशाली कांग्रेस नेतामाथि कारवाही

रुपन्देही । तीन वर्षअघि भएको निर्वाचनमा अन्तरघातको  गरेकाे भन्दै नेपाली कांग्रेसले  रुपन्देहीका नेताहरुलाई कारबाही थालेकाे छ । उपनिर्वाचनकाे मुखमा कारवाही गर्दा पार्टीलाई क्षति पुग्ने भन्दै स्थानीय नेताहरु चिन्तित बनेका छन् ।

गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आराेपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई तीन वर्षपछि कारबाही गरिएकाे छ ।  उनलाई पार्टी केन्द्रकाे दवाबमा प्रदेश सदस्यकाे जिम्मेवारीबाट हटाइएकाे हाे ।

कार्तिक १७ गते रुपन्देहीमा उपनिर्वाचनको तयारी भइरहेको छ । नेविसंघ रुपन्देहीमा लामो समय काम गरेका र रुपन्देही ५ बाट यसअघि नै प्रदेश सभाको उम्मेदवार भइसकेका युवा नेता पोखरेललाई कारबाही गरिएसँगै अहिले निर्वाचनमा यसको प्रभाव पर्ने भन्दै पार्टी नेताहरुले यसको आलोचना थालेका छन् ।

त्यसो त पोखरेल आफैले यसको कुनै वैधानिकता नभएको र आफूलाई कुनै स्पष्टिकरण समेत नसोधिएको दावी गरेका छन् ।

‘रुपन्देहीमा उपनिर्वाचन आइरहेको छ, त्यो क्षेत्रमा सबै संगठन बनाउने काम गरेको छु । मलाई तीन वर्ष अघिको निराधार आरोपमा यसो गरिएको त्यो पनि सामाजिक सन्जालबाट थाहा पाएको छु । मैले सभापतिलाई के हो भनेर फोन गर्दा उठाउनुभएको छैन । म सबै कुरा प्रष्ट राख्ने मान्छे हुँ । आलोचना नपच्नेलाई मेरो भन्नु केही छैन । मैले पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर गएर काम गरेको छैन’ उनले भने ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पार्टी केन्द्रले पदमुक्त गर्न भनेकोले जिम्मेवारीबाट मुक्त गरिएको बताए।

‘उहाँविरुद्ध रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी गर्नुभएको थियो। त्यसै कारण पदमुक्त गर्न भनेको हुनुपर्छ,’ पुनले भने।

२०७९ सालको निर्वाचनमा शाहले २७१२० मत पाएर नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेसँग पराजित भएका थिए। शाहले आफूलाई हराउन पोखरेलले भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।

२०७४ सालको निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र क बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए भने २०७९ मा सोही निर्वाचन क्षेत्रमा उम्मेदवारका आकाङ्क्षी थिए । तर तत्कालीन सत्ता गठबन्धनका बिचमा भएको सहमति अनुसार उक्त निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि पोखरेल उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।

पदमुक्त गरिएका पोखरेलले आफूलाई अहिलेसम्म कसैले कारबाही गरेको र पदमुक्त गरेको भन्ने जानकारी नदिएको बताए।

‘मलाई पार्टी विरोधी गतिविधि गरेको वा उम्मेदवार विरुद्ध लागेको भनेर स्पष्टीकरण पनि सोधिएको छैन। यस विषयमा सभापतिसँग सोध्छु, एक साता अघि भेट भएको थियो केही बताउनुभएन’ पोखरेलले भने।

पार्टीले पोखरेललाई पठाएको पत्रमा भने पार्टीको विधान २०१७ को परिच्छेद ४ धारा १३ को उपधारा १० (झ) बमोजिम पदमुक्त गरिएको उल्लेख छ।

सभापति पुनले प्रदेश सभापतिलाई आफ्नो कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी मुक्त गर्ने अधिकार रहेको र स्पष्टीकरण सोध्न नपर्ने बताए।

पोखरेल रुपन्देहीमा नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवा नेता हुन्। २०६२/०६३ को आन्दोलनमा सक्रियता पूर्वक लागेका पोखरेलले राज्यको पुनः संरचना गर्ने समयमा तत्कालीन लुम्बिनी अञ्चलका पहाडी र तराईका जिल्ला विभाजन गर्ने प्रस्तावविरुद्ध काँग्रेसको तर्फबाट अगुवाइ गरेका थिए।

पोखरेल पार्टीको इतर समूहमा रहेका छन् । यसअघि प्रदेश महामन्त्री विक्रम खनाललाई पनि सोही निर्वाचनमा आफ्नो नेताहरू विनोद चौधरीविरूद्व लागेका भन्दै कारबाही गरी हटाइएको छ । उनी पनि इतर समूहका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *