रूपन्देही । गत निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवार हराएको आरोपमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश समितिले प्रदेश समिति सदस्य विष्णु पोखरेललाई तीन वर्षपछि कारबाही गरेको छ ।
उनलाई पार्टी केन्द्रको दबाबमा प्रदेश सदस्यको जिम्मेवारीबाट हटाइएको छ। पोखरेललाई साउन ११ गते नै जिम्मेवारीबाट मुक्त गरिएको भए पनि यसलाई सार्वजनिक गरिएको थिएन ।
पोखरेलविरुद्ध निर्वाचनका बेला प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भरतकुमार शाहलाई हराउन भूमिका खेलेको भन्दै पार्टी केन्द्रमा उजुरी परेको थियो।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले पोखरेललाई पार्टी केन्द्रले पदमुक्त गर्न भनेकोले जिम्मेवारीबाट मुक्त गरिएको बताए।
‘उहाँविरुद्ध रुपन्देहीको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका भरतकुमार शाहले उजुरी गर्नुभएको थियो। त्यसै कारण पदमुक्त गर्न भनेको हुनुपर्छ,’ पुनले भने।
२०७९ सालको निर्वाचनमा शाहले २७१२० मत पाएर नेकपा एमाले उम्मेदवार वासुदेव घिमिरेसँग पराजित भएका थिए। शाहले आफूलाई हराउन पोखरेलले भूमिका खेलेको आरोप लगाउँदै आएका छन्।
२०७४ सालको निर्वाचनमा पोखरेल सोही निर्वाचन क्षेत्रको प्रदेशसभा निर्वाचन क्षेत्र क बाट प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका थिए भने २०७९ मा सोही निर्वाचन क्षेत्रमा उम्मेदवारका आकाङ्क्षी थिए । तर तत्कालीन सत्ता गठबन्धनका बिचमा भएको सहमति अनुसार उक्त निर्वाचन क्षेत्र नेकपा माओवादी केन्द्रको पोल्टामा परेपछि पोखरेल उम्मेदवार बन्नबाट वञ्चित भएका थिए।
पदमुक्त गरिएका पोखरेलले आफूलाई अहिलेसम्म कसैले कारबाही गरेको र पदमुक्त गरेको भन्ने जानकारी नदिएको बताए।
‘मलाई पार्टी विरोधी गतिविधि गरेको वा उम्मेदवार विरुद्ध लागेको भनेर स्पष्टीकरण पनि सोधिएको छैन। यस विषयमा सभापतिसँग सोध्छु, एक साता अघि भेट भएको थियो केही बताउनुभएन’ पोखरेलले भने।
पार्टीले पोखरेललाई पठाएको पत्रमा भने पार्टीको विधान २०१७ को परिच्छेद ४ धारा १३ को उपधारा १० (झ) बमोजिम पदमुक्त गरिएको उल्लेख छ।
सभापति पुनले प्रदेश सभापतिलाई आफ्नो कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी मुक्त गर्ने अधिकार रहेको र स्पष्टीकरण सोध्न नपर्ने बताए।
पोखरेल रुपन्देहीमा नेपाल विद्यार्थी संघको राजनीतिबाट उदाएका युवा नेता हुन्। २०६२/०६३ को आन्दोलनमा सक्रियता पूर्वक लागेका पोखरेलले राज्यको पुनः संरचना गर्ने समयमा तत्कालीन लुम्बिनी अञ्चलका पहाडी र तराईका जिल्ला विभाजन गर्ने प्रस्तावविरुद्ध काँग्रेसको तर्फबाट अगुवाइ गरेका थिए।
पोखरेल पार्टीको इतर समूहमा रहेका छन् । यसअघि प्रदेश महामन्त्री विक्रम खनाललाई पनि सोही निर्वाचनमा आफ्नो नेताहरू विनोद चौधरीविरूद्व लागेका भन्दै कारबाही गरी हटाइएको छ । उनी पनि इतर समूहका हुन् ।

Leave a Reply