काठमाडौं । पछिल्लो समय हलभित्र चलचित्र हेर्न छिरेका दर्शकहरू क्यामेरा र बुमको आतंकले आजित छन् । दर्शकहरूको इच्छाबिना अचानक बुम तेर्साउँदा उनीहरूले अप्ठ्यारो महसुस गरिरहेको भिडियोहरू सामाजिक सञ्जालमा भेटिन्छन् ।
यसरी बुम तेर्साउनेहरू कोही नभएर प्रदर्शनरत चलचित्रका निर्माण टिम हुन्, जसले चलचित्रको प्रचारप्रसारका लागि दर्शकहरूको स्वीकृतिबिना भिडियो प्रतिक्रिया लिइरहेका हुन्छन् । अचानक बुम तेर्साएर प्रतिक्रिया लिन खोज्दा प्राइभेसी हनन भएको भनेर सञ्जालमा विरोध पनि भएको थियो ।
अब भने यसरी दर्शकको बिनाअनुमति कुनै पनि दृश्य खिच्न नपाइने आईएनआई सिनेमाजले नियम नै बनाएको छ । आईएनआई, बानेश्वरका सञ्चालक तथा अभिनेता दीपकराज गिरीका अनुसार यसरी दर्शकमाथि बुम तेर्साइँदा उनीहरूको प्राइभेसी हनन हुन्छ । दर्शकको आनन्दले मनोरञ्जन लिने अधिकार र उनीहरूको प्राइभेसीको सम्मान गर्दै यस्तो नियम ल्याइएको गिरीले बताए ।
उनले भने, ‘सबै दर्शक क्यामेराप्रेमी हुन्छन् भन्ने हुँदैन । चलचित्र हेरेर उनीहरू हाँसिरहेका हुन सक्छन् वा रोइरहेका हुन सक्छन् । तर, उनीहरूको त्यो इमोसनलाई व्यापारको माध्यम बनाउनु हुँदैन । हलबाहिर मास्क लगाएका दर्शकले हलभित्र मास्क नलगाएका हुन सक्छन्, उनीहरूलाई क्यामेरा र बुमले आर्तक सृजना गर्न सक्छ । उनीहरूको त्यही संवेदनशीलतालाई ख्याल गरेर हामीले हलभित्र क्यामेरा र बुम लान नपाइने नियम ल्याएका हौं ।’
यदि दर्शकको प्रतिक्रिया नै निर्माण टिमले लिन चाहेमा हल बाहिर दर्शकको अनुमति लिएर मात्रै लिने पाइने गिरीले बताए । आईएनआईका अहिले चारवटा मल्टिप्लेक्स चेन छन् । एनबी सेन्टर नयाँ बानेश्वर, लोत्से मल गोंगबु, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरमा आईएनआई अन्तर्गत हलहरू सञ्चालनमा रहेका छन् ।

Leave a Reply