एमाले काठमाडौं जिल्ला अध्यक्षले ओलीको भनाइ बङ्ग्याएको सचिवालयको आरोप, भनेका के थिए ?

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँगको अनौपचारिक छलफल र भेटघाट कार्यक्रममा व्यक्त गरेको भनाइलाई हवाला दिएर प्रकाशित समाचारप्रति प्रधानमन्त्री केपी ओलीको सचिवालयले आपत्ति जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति निकाल्दै कार्यक्रम कुनै प्रशिक्षणमूलक नभई अनौपचारिक भेटघाट मात्र भएको जनाएको हो ।

सचिवालयले भनेको छ, ‘भदौ ११ गते नै विधान महाधिवेशन हुने ललितपुर जिल्लाका पार्टी अध्यक्ष र पदाधिकारीसँग पनि अध्यक्ष ओलीको भेटघाट भएको थियो । काठमाडौँका प्रतिनिधिसँग अध्यक्ष ओलीले बोल्दै नबोलेका ‘एमालेमा मलाई धक्का दिन विद्या भण्डारीबाहेक कसैको दम छैन, विद्याले छाडे सबै मिल्छ’ जस्ता भ्रामक र मनगढन्ते विषयहरू स्वार्थपूर्णरुपमा बाहिर ल्याइएको देखिएको छ ।’

भेटघाटमा अध्यक्ष ओलीले नेपालमा वामपन्थी आन्दोलनको ऐतिहासिक र सङ्घर्षपूर्ण विगतको पृष्ठभूमि, पार्टीको हित विपरीत व्यक्तिगत स्वार्थमा लाग्दा आन्दोलनलाई हुन पुगेका क्षति, अहिले पार्टीले लिएको नीति र पार्टीको केन्द्रीय कमिटीको पछिल्लो निर्णय, अहिलेको सरकारले विकास र सुशासनका लागि गर्दै आएका सकारात्मक कामलगायत विषयमा आफ्नो दृष्टिकोण राखेको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘पूर्व राष्ट्रपति भण्डारीलाई आफूलेजति सम्मान र माया अरू नेताले नगरेको तर उहाँ अहिले पार्टी र नेतृत्वको विरोध गर्ने ठाउँमा कसरी पुग्नुभयो भन्ने आश्चर्यमा परेको उल्लेख गर्दै भन्नुभएको थियो ।’

पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा विधिवतरुपमा सदस्यता प्राप्तिको बाटो नलिएर मिडिया र अरुअरु पार्टीका नेताहरूसँग भेटेर सक्रिय राजनीतिमा आउने कुरा गरेकोप्रति ओलीले असन्तुष्टि जनाएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले पार्टीको लक्ष्य र आन्तरिक एकतामा सहयोग पुग्दैन र उहाँ त्यसरुपमा आएर पार्टीको एकतालाई भड्काउन हुँदैन भन्ने पार्टीका आम साथीहरूलाई लागेको छ र केन्द्रीय कमिटीले त्यसअनुसार उहाँलाई सदस्यता दिँदा उहाँ र आन्दोलनको सम्मानमा आँच पुग्ने निष्कर्ष हो । उहाँले पार्टीमा आएर अध्यक्ष उठ्दा जित्नुहुन्न । नेतृत्व लिने कुरा कसैको आँखामा नबिझ्ने लालगेडी हुनु होइन । नेतृत्व क्षमता चाहिन्छ । परिस्थिति अनुसार डटेर सामना गर्नुपर्ने हुन्छ । उहाँ पार्टीमा आएर अध्यक्ष उठेमा हार्नुहुन्छ । हारेपछि पार्टीको विरोधमा लाग्नुहुन्छ, त्यसपछि पार्टीले भीम रावललाई झैँ स्पष्टीकरण र कारबाहीमा जानुपर्ने हुन्छ । त्यस खालको अपमानजनक अवस्थामा जानुभन्दा त उहाँलाई अहिले नै सम्मानजनक हैसियत छ, त्यसैले मसँगको भेटमा पनि उहाँलाई पार्टीमा समस्या खडा गर्नेगरी राजनीतिमा नआउन मैले आग्रह गरेको थिएँ । तर उहाँ च्यासलले सदस्यता खोस्यो, पार्टीको नेतृत्वले देश चलाउन सकेन जस्ता मिथ्या आरोपपूर्ण सार्वजनिक अभिव्यक्ति दिन थाल्नुभएको छ । उहाँलाई उहाँसँग निकट भएका साथीहरूले त्यसो नगर्न सम्झाउनुपर्छ, उल्काउनु हुँदैन ।’

Comments

4 responses to “एमाले काठमाडौं जिल्ला अध्यक्षले ओलीको भनाइ बङ्ग्याएको सचिवालयको आरोप, भनेका के थिए ?”

  1. ksp pyl Avatar
    ksp pyl

    बुँदा भनेर बाहिर ल्याउने काठमाडौ जिल्लाको अध्यक्ष नै हो । उसलाई त्यसै छोडने ? पार्टीमा बिग्रह ल्याउन उद्दत नैतिकहिनहरू नभए पार्टी झन् बलियो हुन्छ । आजै एउटा बिचौलियाले विद्यालाई एमालेमा ल्याउने काम मैले गरिदिएको हो भनेर खुला रूपमै भन्यो त । यसबाट प्रमाणित हुन्छ विद्या कसको गोटी बनेको भनेर । त्यसो भन्ने विचौलिया विदेशीको एजेण्ट हो फेरि । भनेपछि विद्यालाई कसले उचालिरहेको छ भनेर प्रष्ट भएन र ? मैले गरेको भन्ने बिचौलिया त यस्तै काम गरेर देशमा नियन्त्रित अस्थिरता भित्र्याउन खटाईएको भाडाको टट्टु मात्र हो भन्ने कुराको पनि हेक्का रहोस् । यो देश बनाउने, देशको अस्तित्व जोगाउने, देशलाई विश्वमा चिनाउने हो भने त्यो काम केवल एमालेले र त्यसमा पनि ओलिले मात्र गर्न सक्छ । यो कुनै लठैत भएर मैले भनेको होईन । म एमालेको सदस्य पनि छैन । शुभचिन्तक मात्र हुँ । मैले अहिलेसम्म गरेको अध्ययन, विभिन्न पार्टीका, तिनका नेताका भनाई, लेखाइ र व्यवहारलाई हेरेर अध्ययन गरेर निकालेको निष्कर्श हो यो ।

    1. bharat kumar thapa Avatar
      bharat kumar thapa

      बैचारिक लडाइँ जुनसुकै कम्युनिस्ट पार्टीमा हुन्छ निशेध को राजनितीले क्षति मात्र गर्छ

      1. ksp pyl Avatar
        ksp pyl

        दुईपटक राष्ट्रपति भएर देशकै अभिभावक भए पछि फेरि पार्टीमा छिरेर वडासदस्य पाए पनि खान्छु भनेजस्तो गर्नु त न पदीय गरिमा कायम गरेको भयो, न अरूले पनि पालो पाउनुपर्छ भनेको भयो । यो त केवल पदको चरम आशक्ति भन्दा अरू केही हुनै सक्दैन । यो कसरी विचारको लडाई भयो र ? जसरी पनि मलाई त्यहि पद चाहियो भन्नु विचारको लडाई हो र ? बरू एमालेले एउटा गल्ती के गर्यो भने विद्याले पार्टी राजनीति गर्न गतिविधि अघि बढाउने बितिक्कै हुन्न भनिदिएको भए हुने । सुविधा त्याग्न खोज्दा पनि चुप लागेको चाहिँ मिलेन । पूर्व राष्ट्रपति भएर सुविधा खाएर बस भनिदिनुपर्ने । अब त सुविधा पनि भएन र पद पनि । बालहठ गरेकोलाई पहिल्यै नरोकिदिनु एमालेको कमजोरी हो । फेरि उमेर, स्वास्थ्य, विचार, क्षमता हेर्दा विद्याले त्यस्तो पार्टी नै हाँक्न सक्छिन भन्ने मलाई त एक रत्ति पनि विश्वास छैन । एमाले अरू पार्टी जस्तो होईन । यो त एकमात्र जिम्मेवार पार्टी हो नि । उ माथि चौतर्फी घेराबन्दी हुन्छ । त्यसलाई चिरेर मिसनमा अघि बढन त्यति सजिलो छ र ? त्यो काम अहिले केवल ओलिले मात्र गर्न सक्छन् ।त्यसैले विद्याको कुरा गरेर कुनै पनि एमालेले ल्याङ्ल्याङ् नगरौं । भलाई यसमै छ । ल्याङ्ल्याङ् गर्ने पनि विद्याको क्षमतामा विश्वास भएर होईन कि नेतृत्वसँगका असन्तुष्टीलाई देखाईदिन विद्यालाई उचाल्दैछन् ।

  2. Homnath Acharya Avatar
    Homnath Acharya

    फेरी महारानीकाे भुतले एमालेमा समश्या आउने भाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *