तीजको समीक्षा- मौलिकता हरायो, युवा पुस्तामा सांस्कृतिक ज्ञानको अभाव

तीज नेपाली महिलाको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व हो, जसको आरम्भ पौराणिक कथासँग जोडिएको छ । मान्यताअनुसार देवी पार्वतीले भगवान् शिवलाई पति स्वरूप प्राप्त गर्न कठोर व्रत र तपस्या गरेको स्मरणमा तीजको परम्परा स्थापित भयो ।

परम्परागत रूपमा तीज महिलाको भेटघाट, सामूहिक गीत-नृत्य र माइती परिवारसँग पुनर्मिलनको अवसर पनि हो । ग्रामीणदेखि सहरीसम्म यसको महत्त्व रहँदै आएको छ ।

धार्मिक मान्यताअनुसार व्रत बस्ने, शिव–पार्वतीको पूजा गर्ने ,शिव मन्दिर दर्शन र भक्ति गीत, भजन गाउने गरिन्छ ।

धार्मिक मात्र होइन, सांस्कृतिक पर्वको रूपमा धूमधामसँग मनाइन्छ । चेलीले आफ्ना मनका तीतामीठा भावना समेटिएका गीत गाउने, मादल, ढोलकको तालमा लोकगीतमा नृत्य गर्ने, दर खाने र एक–अर्कालाई शुभकामना दिने प्रचलन छ ।

तीज पर्वले सामाजिक सन्देश दिने काम पनि गरेको हुन्छ । गीतको भावमा सामाजिक विकृति, विसंगति, विभेदविरुद्धका आवाज समेटिएका हुन्छन् । २०४६ भन्दा पहिले देशको सामन्ती सत्ताविरुद्ध बुलन्द आवाज उठाउने भनेका महिला थियौँ । दल प्रतिबन्धित थिए ।

राजनीतिक दलका विचार सिद्धान्त जनतामाझ लैजाने माध्यम तीजका गीत, दशैंको पुनर्मिलनमा सांस्कृतिक कार्यक्रम, तिहारको भैलो, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको माध्यमबाट दलका विचार राखिन्थ्यो । तीजमा पनि सार्वजनिक स्थलमा गीत र नाचबाट प्रतिष्पर्धा हुन्थ्यो । विचार तिखारिन्थे । गीत रचना हुन्थे, पुस्तक प्रकाशन गरी गाइन्थ्यो । दर खाने भनेको तीजको अघिल्लो दिन मात्र हुन्थ्यो । दर खाने दिनको विशेष महत्त्व हुन्थ्यो । तीजमा आमाले पकाउने परिकारको महत्त्व भिन्दै थियो । झिनिया, अनदीका चामलको घिउ राखेर पकाउने खाजा र दूधको खवा, दही, तामाजस्ता चिज अनिवार्य हुन्थे ।

आमा बाबा, दाजु, भाउजू, श्रीमान्, सासुससुरा, देवर–नन्द, अमाजु–जेठाजु, जेठानीका मायाप्रेम, हेलाहोचोलाई दिदीबहिनी, साथीका माझ कला, गला र अभिनयबाट व्यक्त गरिने हुनाले नारी एकताको पर्व पनि हो । पारिवारिक जमघट र प्रेम, आपसी सहयोग र सांस्कृतिक निरन्तरता हो । परम्परागत भेषभूषामा सजिएर रातो सारी, हरियो रातो चुरा, पोतेमा नारी सौन्दर्य र संस्कारको प्रतीक मानिँदै आएको छ ।

परम्परादेखि महिलाको पर्व मानिँदै आए पनि अहिले महिला पुरुषको साझा पर्व बनेको छ । दर खान पनि दुवै जाने, मादलमा सहयोगी बन्दै आएकोमा दाजुभाइ गाउने, नाच्ने, रमाउने चलन आएको छ । त्यो राम्रो पक्ष हो । के पुरुष के महिला समानताको बाटोमा समाज जाँदैछ । जानुपर्छ । तर, आजकल तीजको मौलिकता, सामाजिक मूल्य मान्यता र अनुशासन अलिक फितलो बन्दै गएको छ । स्वतन्त्रतासँगै अनुशासन कायम राख्नुपर्छ ।

प्रायः गीत व्यावसायिक हुने क्रम बढ्दो छ । व्यवसायीकरणको दबाबले ब्राण्डेड लुगा, महंगो गरगहना र भोज महोत्सवले मौलिकता छोप्ने खतरा देखिएको छ । साउने संक्रान्तिको दिनबाट नै दरको नाममा मासु, चिउरा, पेय पदार्थ त्यो पनि पार्टी प्यालेसमा हुनाले प्रगतिशील, चेतनामूलक र विचारका गीत सुनिन छोडेछन् ।

लामो समय विचारको नेतृत्व गर्दै आएको व्यक्ति वा पुस्तालाई दरसँगै विचार हराएको महसुस भएको आमा, दिदी, भाउजूको गुनासो सुनिन थालेको छ । हरेक दर जाने कार्यक्रममा डेक घन्किएपछि ताल आउने व्यावसायिक कलाकारका जस्ता शब्द भए पनि नाच्ने तर गाउन बजाउन अल्छी मानेको देखियो ।

सांस्कृतिक विकृति: मौलिक भजन–लोकगीतको स्थानमा भड्किला वा अश्लील गीतको प्रयोग हुने र स्वतन्त्रता र रमाइलोको रूपमा मान्यजन र बालबालिकाको ख्याल नै नगरी उत्ताउला अभिनय हुन थालेका छन् ।

हाम्रोजस्तो नेपाली समाजले अझै सहजै पचाउन सक्दैन । हिजो महिला वर्गलाई हेर्ने दृष्टिकोण र आज फरक त परेको छ । तर, अझै युरोप अमेरिका होइन, नेपाली समाज हो । नेपाली परिवेशमा सभ्य र मर्यादित तरिकाले पनि रमाउन र सन्देश दिन सकिन्छ ।

स्वास्थ्य समस्या: लहैलहैमा कठोर व्रतले गर्भवती, वृद्ध वा स्वास्थ्य समस्याग्रस्त महिलामा जोखिम थपिन्छ । उहिले पार्वतीले व्रत बसेर शिवजी पाइन् भन्ने नाममा आजका एक्काइसौँ शताब्दीका छोरीचेली मजाले आफ्नो जीवन साथी रोज्ने अधिकार छ । शिक्षामा छलाङ्ग नै मारेका छन् ।

अब त व्रत गरेर भन्दा सहनशीलता, कुरा सुन्ने धैर्यता, आपसी सहमति, स्वास्थ्यमा ध्यान, आपसमा सहकार्य, समर्थन, सहअस्तित्वको जमानामा अन्धभक्त हुनु आफूलाई बदल्न नसक्नु हो । अन्धविश्वासभन्दा बाहिर आउन सक्नुपर्छ । एक्काइसौँ शताब्दीका शिक्षित वर्गमा वैज्ञानिक सोच, चिन्तनले अगुवाइ गर्नु राम्रो हो । हिजोको जमानामा परम्परा र संस्कारका नाममा अन्धाधुन्ध विश्वास गरेर आफूलाई अस्वस्थ बनाउनु बाध्यताजस्तै थियो ।

अशिक्षा र घरको डरले भ्रम पालेर नै बस्नुपर्ने बाध्यता थियो । बोले ‘पोथी बासेको’, हाँसे ‘उत्ताउली भएको’ भन्थे । ज्ञानगुनका कुरा छोरो मान्छेले मात्र सुन्ने अवस्था बदलेर अहिलेको गणतन्त्र ल्याएको हो । गणतन्त्रमा व्यक्तिगत स्वतन्त्रता हुन्छ, तर सामाजिक उत्तरदायित्व र मूल्य मान्यता सबैले पालना गरेरै व्यवस्था सुदृढ बन्दछ ।

दुबैखाले अतिवाद घातक हुन्छ । अति उपभोक्तावादी प्रवृत्तिले धर्म कर्मभन्दा कमाउने हो रमाउने हो भन्दै अलि उत्ताउलो बन्नु पनि आजको समस्या हो । रहर र रमाइलोको नाममा मान्यजन र बालबालिकासामु कतिपय व्यावसायिक गीत र अभिनयले राम्रो सन्देश दिँदैनन् । महिनौँसम्म दर भन्दै दिनदिनै फरक कपडा, फरक श्रृंगार, आफ्नो परिवारको आयले धान्न नसक्ने गरी देखाउनको निम्ति ‘ऋण खोजेर घ्यू खाने’ भनेजस्तै साथीहरुको लहलहैमा लागेर समस्यामा परेको पनि धेरै देखिन्छ ।

सामाजिक सञ्जालले गर्दा एकपटक फोटो खिचेर पोष्ट गरेपछि फेरि उही लगाए के भन्लान् भन्ने मनोविज्ञानले पनि समस्या थपेको छ । के हुनेखानेले झैँ फेरिफेरि लगाउने, के सहभागी नै नहुने, विभिन्न बहाना देखाएर तर्किनु पर्ने ,संस्था, समूह, कार्यालय, साथीसंगीको समूहसमेत गरी महिनौँसम्म पार्टी प्यालेसमा दर चल्छ ।

धनले पनि नपुग्ने, महिनौँसम्म दर खाने र रमाइलो गर्ने भएपछि माइत जान नभ्याउने, उता माइती दाजुभाइले पनि आफ्ना दिदी बहिनी वास्तविक दर खाने दिन तीजको अघिल्लो दिनभन्दा आफ्ना साथीभाइसँग रमाउन अन्य दिनमै एक दिन बोलाएर उम्किने संस्कार विकास हुँदैछ । तीज पर्वको मौलिकता र वास्तविक माइतको महत्त्व घटाउनु हुँदैनजस्तो लाग्छ ।

जहिले फुर्सद छ, त्यहीले दर खुवाउने गर्दा र एक महिना पहिलेबाट दरमा रमाउनाले पर्वको वास्तविक मर्म र अर्थ युवापुस्तामा हस्तान्तरण हुँदैन ।

जेनेरेसन ग्यापः अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई संस्कृति हस्तान्तरण गर्न साथी बनाएर सँगसँगै हिँडाउन कोसिस गर्नुपर्छ । आधुनिक जीवनशैली र विदेशी संस्कृतिको प्रभावले परम्पराप्रति आकर्षण घट्दै जानुको कारण ग्याप पनि एक हो ।

आमा, दिदी, बहिनी आ–आफ्ना संस्था, समूह र काममा व्यस्त हुने सन्तानलाई समय नदिने, घरका ज्येष्ठ नागरिक हजुरबुवा, हजुरआमाबाट टाढा राख्ने, आफूलाई समय निकाल्न उनीहरूको मागअनुसारका सुविधा, महंगा मोबाइल, बाइक किनिदिने, अनि उनीहरू विभिन्न किसिमका गेम र एआईको प्रयोगले सामाजिकीकरण हराउँदै गएको छ ।

युवापुस्ताले कोठाभित्र बसेर इन्टरनेटमा विश्व भ्रमण गर्न जानेपछि घरमा आएको आगन्तुक या आफन्तसँग के नाता हो ? कसरी बोल्नुपर्ने भन्ने शिष्टाचार भुल्न थालेका छन् । माटोमा काम गर्ने परिश्रमी किसानले ल्याएको अर्ग्यानिक तरकारी, फलफूल, दूध, दहीभन्दा भाटभटेनीमा सपिङ्ग गर्न मन पराउने भएका छन् । आफ्ना सन्तान फरर अंग्रेजीमा बोले मख्ख पर्ने अभिभावक आफ्नो पुर्ख्यौलीको भाषा, धर्म, संस्कृति, रीति–रिवाज, चाडपर्वको मौलिकता, पेशा, व्यवसाय सन्तानमा हस्तान्तरण गर्न सकेका छैनन् ।

अब कसरी राष्ट्रिय स्वाभिमान, नेपालीत्व र चाडपर्वको मौलिकता जोगिन्छ रु हरेक देशका नागरिकमा आफ्नो देशको मौलिकता जोगाउने दायित्व हुन्छ । आफू जन्मेको भूगोल, आफ्ना पूर्खा, भाषा, धर्म, भेषभुषा संस्कृतिप्रति गर्व महशुस हुनुपर्छ । परेको बेला आफ्ना सन्तानलाई राष्ट्रियताको सवालमा बिनास्वार्थ, बिनाहिच्किचाहट बोल्नसक्ने असल नागरिक तयार गर्नु हरेक असल नागरिकको कर्तव्य पनि हो । त्यसैले चाडपर्वमा रमाइलोमात्र होइन, आफ्नो परिवार, आफन्तजन, संघसंस्था र समाजमा पनि विचारले नेतृत्व गर्न सक्नुपर्छ ।

तत्कालीन परिवेश, आवश्यकताअनुसार चाडपर्वलाई रचनात्मक, सिर्जनात्मक, मितव्ययी बनाउन जरुरी देखिन्छ । नाच्दा, गाउँदा पनि जमाना, समयको माग र परिवेशअनुसारका गीतको बोल पनि हुनुपर्छ । तर, सभ्य, चेतना र सकारात्मक सन्देश दिने हुनुपर्छ । शरीरभरि सुन छ, महँगा कपडा छन्, तर कर्म छैन, लाउन हुँदैन भन्ने गीतमा नाचेको अलि सुहाउँदैन ।

आफ्नो परिवेशअनुसारका गीतमा अभिनय गर्ने वा समाजलाई दोहोर्‍याउने चेतनामूलक गीत हुनुपर्दछ र युवा पुस्तामा ज्ञान हस्तान्तरण हुँदै जानेछ । मान्यजनको पनि मर्यादा रहन्छ । अभिभावक नै रंग रमाइलोमा मात्र केन्द्रित हुँदा परिवार र समाजमा वास्तविक धरातल भेटाउन सकिँदैन ।

युवापुस्तामा मौलिक संस्कृतिको ज्ञान दिन हरेक चाडपर्वको पृष्ठभूमिको ज्ञान दिलाउनुपर्छ । तीजमा आफ्ना रचना, सिर्जना, स्वर, अभिनय र व्यवहारबाट देखाउन वा पस्कन कोसिसमात्र भए पनि गर्नुपर्छ । युवापुस्ताले जुन विधिबाट सिक्न चाहन्छन्, त्यही विधि प्रयोग गरेर भएपनि आफ्नो राष्ट्र, भूगोल, पुर्खा, संस्कार, संस्कृति, परिवार पालेको पेशाप्रति सकारात्मक भाव विकास गराउनुपर्छ ।

विभिन्न उपाय देखाउने जुन बाटोमा उनीहरू जान चाहन्छन्, त्यो वातावरण सिर्जना गर्न तथा यथासम्भव कोसिस गर्नु अभिभावकको दायित्व हो । समाजको पनि दायित्व हो । आफ्नो समाज कस्तो बनाउने भन्ने योजना सामूहिक सोचबाट बन्दछ । आफ्नो सन्तानजस्तै छिमेकीको पनि बनोस् भन्ने भावनाले मात्र समाजवाद सम्भव छ । तीजलाई स्वास्थ्य, समानता र सशक्तीकरणसँग जोडेर नयाँ सन्देश दिन कोसिस गर्नुपर्छ ।

विद्यालय–क्याम्पसस्तरमा तीजको मौलिकता विषयक गोष्ठी र सांस्कृतिक कार्यक्रम आयोजना गर्ने, विकृति नियन्त्रणका लागि समुदायस्तरमा सामूहिक र किफायती पर्व मनाउने अभियान चलाउने, प्रविधि प्रयोगमार्फत नेपालबाहिरका नेपाली समुदायसम्म मौलिक तीजको सन्देश पुर्याउने गर्नाले समावेशी सांस्कृतिक सम्पदाका रूपमा विश्वस्तरमा परिचित गराउन सकिन्छ ।

नेपालको मौलिक संस्कृतिको जगेर्ना गर्न सबै सचेत वर्ग लाग्नुपर्छ । रमाइलोसँग विचार पनि सम्प्रेषित गर्दै जानुपर्छ । समाजलाई अग्रगामी दिशामा हिँडाउन पनि विचारले नेतृत्व गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *