झण्डै १५ करोडको क्षतिपुर्तीबाट धीरज मगरलाई राहत, निर्मातासंग मिल्यो कुरा

काठमाडौं । अभिनेता धीरज मगर र ‘ऐरी’ फिल्मका निर्माताबीचको विवाद सकिएको छ । बुधबार छलफलपछि धिरज र चलचित्र निर्माताको कुरा मिलेको हो।

अभिनेता धिरज मगर विरुद्ध चलचित्र ‘ऐरी’ को निर्माण कम्पनी मल्टी म्याट प्रा।लिले १४ करोड ७९ लाख ५१ हजार ९ सय ५३ रुपैयाँको क्षतीपूर्ती माग गर्दै निर्माता संघमा उजुरी दिएको थियो। मल्टी म्याट प्रालिका सञ्चालक कमलबहादुर आलेले दिएको उजुरीमा धिरजले सम्झौता बमोजिम काम नगरेर धोका दिएको कुरा उल्लेख गरिएको थियो ।

उजुरीमा धिरजले चलचित्रका लागि कागजी सम्झौता गरेर अग्रिम भुक्तानी लिइसकेपछि १६ दिन मात्र छायांकनमा गइ, बाकीको २८ दिन छायांकनमा समय नदिएको र उनको गैरव्यवसायीक, गैरजिम्मेवार र नियतपूर्वक गरेको लापरबाहीपूर्ण व्यवहारका कारण कम्पनीलाई ठूलो क्षति पुगेको कुरा पनि उल्लेख गरिएको थियो। सोही क्रममा पुगेको क्षतिको क्षतिपूर्ति माग गर्दै निर्माण टिमले धिरजविरुद्ध उजुरी हालेका थिए जुन भदौ २ गते संघमा दर्ता भएको थियो ।

उजुरीपछि चलचित्र निर्माता संघले बुधबार धीरज र फिल्मका निर्मातालाई बोलाएर छलफल गरेको हो । छलफलपछि संघको रोहबरमा दुवैपक्षबीच सहमति भएको संघका अध्यक्ष नवल खड्काले जानकारी दिएका छन् । छलफलपछि तोकिएको अवधिमा धीरजले छायांकनका लागि समय दिने सहमति भएको छ भने अक्टोबर ५ देखि नोभेम्बर १५ सम्म फिल्मको छायांकन समय तोकिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *