कांग्रेस-एमाले डरले मिलेका हुन्, सुशासन र समृद्धिको आशा गर्न सकिँदैन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ऊर्जा र कृषिलाई गणतन्त्रको पहिलो सरकारले नै आधारभूत प्राथमिकता दिएको स्मरण गरे।

गणतन्त्र स्थापनापछि बनेको आफू नेतृत्वको सरकारले १० वर्षमा १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्यसहित ऊर्जा क्षेत्रमा क्रान्तिकारी कदम चालेको बताए।

उनले भने, ‘हामीले त्यस बेला लोडसेडिङ अन्त्य गर्ने मात्रै नभई, देशलाई ऊर्जा आत्मनिर्भर बनाउन दीर्घकालीन भिजन बनाएका थियौँ। कृषिलाई दोस्रो प्राथमिकता दिँदै किसानको ऋण मिनाहा तथा समस्याको समाधानका लागि नीति कार्यक्रम ल्याइएको पनि थियो।’

ऊर्जा र कृषिसँगै मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग र सूर्यको खेतीबाट अर्को पूर्व–पश्चिम राजमार्ग निर्माणजस्ता योजना त्यही भिजनका हिस्सा भएको बताए। दोस्रो कार्यकालमा ऊर्जा क्षेत्रमा विशेष ध्यान दिँदै ‘उज्यालो अभियान’मार्फत लोडसेडिङ अन्त्य भएको स्मरण गरे।

उनले थपे, ‘जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने र कुलमान घिसिङलाई प्राधिकरणको नेतृत्वमा ल्याउने निर्णय परम्परागत ढाँचा भत्काएर नयाँ जनपक्षीय सेटिङ बनाउने राजनीतिक आँट थियो। देशमा ऊर्जा विकासको सम्भावना भए पनि अवरोध पु¥याउने मुख्य कारण पुराना झण्झटिला कानुन र नियम अझै परम्परावादी हुनु र नौकरशाहीको सोच पुरानो शैलीमै सीमित हुनु नै हो। पुरानो सेटिङ भत्काएर नयाँ, गतिशील र जनपक्षीय सेटिङ बनाउनैपर्छ।’

भारत र बंगलादेशसँग ऊर्जा व्यापारका लागि आफूले प्रधानमन्त्री हुँदा निरन्तर पहल गरेको स्मरण गर्दै, निजी क्षेत्रलाई नाफा कमाउने वातावरण बिना लगानी सम्भव नहुने बताए।

उनले थपे, ‘लगानीमैत्री वातावरण बनाउन माओवादी नेतृत्वकै सरकार दृढ रह्यो। हालको अस्वस्थ प्रतिस्पर्धा, संस्थागत अतिक्रमण र विधेयक पारित गर्न ढिलाइले ऊर्जा क्षेत्रमा प्रगति अवरुद्ध भएको छ। विद्युत् ऊर्जा विधेयक छिट्टै पारित गरेर लगानी र विकासको बाटो खोल्नुपछ।’

नयुद्ध र जनआन्दोलनबाट आएको गणतन्त्र, संघीयता, समावेशीता र समानुपातिक प्रतिनिधित्व माओवादीकै नेतृत्वको उपलब्धि भएको बताए। माओवादी सरकारमा हुँदा लोडसेडिङ अन्त्य, राष्ट्रिय गौरवका आयोजना अगाडि अघि बढ्नुका साथै शिक्षा र निजामती सेवा सम्बन्धी विधेयक दर्ता भएको बताए।

कांग्रेस र एमालेलाई भ्रष्टाचार ढाकछोप गर्ने प्रवृत्तिका कारण आलोचना गर्दै भने, ‘यो सरकार डरबाट बनेको हो, यसबाट सुशासन र समृद्धिको आशा गर्न सकिँदैन। जनताले बुझ्न थालेका छन्। देश बनाउन सक्ने शक्ति माओवादी नै हो।’

Comments

One response to “कांग्रेस-एमाले डरले मिलेका हुन्, सुशासन र समृद्धिको आशा गर्न सकिँदैन : प्रचण्ड”

  1. ksp pyl Avatar
    ksp pyl

    भारतको दलालीभन्दा सुको काम गरेको छैन । धक्कु लगाउछन । लोडसेडिङ त्यसै हटछ ? पूर्वाधार बनाउनु परेन ? ओलिले बनाएको पूर्वाधारले हटेको हो लोडसेडिङ् । दिउसै झुट बोल्ने ? तिम्रो काम त ३-३ महिनामा मन्त्री फेर्ने ६-६ महिनामा दल फेरेर सरकारलाई अस्थिर बनाउने मात्र रह्यो । हामीले देखेनौ ? विदेशीको नेपाललाई नियन्त्रित अस्थिरता भित्र राख्ने योजनाको दलाल बन्यौ तिमी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *