काठमाडौं । दायाँ काँधको हड्डी फ्याक्चर भएपछि अभिनेता केदार घिमिरे ‘माग्ने बुढा’ ले एक महिना आराम गर्नुपर्ने भएको छ । हिजो कुपण्डोलमा ब्याडमिन्टन खेल्ने क्रममा उनी घाइते भएका थिए ।
हिजो घाइते भए पनि माग्ने बुढा नियमित काममा थिए । तर, आज दुखाइ बढेपछि चेकजाँचका लागि एभरेस्ट हस्पिटल गएका थिए । हस्पिटलमा चेकजाँचको क्रममा उनको दायाँ काँधको हड्डी अलिकति फ्याक्चर भएको रिपोर्ट आएको हो ।
डाक्टर सम्पूर्ण महर्जनले चार हप्ता आराम गर्नुपर्ने सुझाव दिएको माग्ने बुढाले बताए ।

उनले भने, ‘अब चार हप्ता आराम गर्नुपर्ने छ । चलचित्रको प्रचार प्रसारको काम त हुन्छ नै, तर सुटिङका कामहरू चाहिँ रोकिने भएको छ ।’
अहिले माग्ने बूढाको चलचित्र ‘माग्ने राजा’ हलहरूमा चलिरहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पनि पाइरहेको छ । आउँदो दशैँ फूलपातीमा उनको ‘माइतीघर’ प्रदर्शन हुँदैछ भने लगत्तै ‘जेरी अन टप’ प्रदर्शनको तयारीमा छ ।

Leave a Reply