काठमाडौं । प्रतिनिधि सभाबाट पारित संघीय निजामती सेवा विधेयकमाथि संशोधनकर्तासँगको छलफल टुंगिएको छ । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले संशोधन दर्ता गराएका सांसदहरूसँग धारणा सुनेपछि अब समितिका सदस्यबीच छलफल सुरु गरेको हो ।
यसअघि विधेयकमाथि राष्ट्रिय सभामा एकल र संयुक्त गरी १५ वटा संशोधनमार्फत १९३ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । बुधबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्मा, भुवनबहादुर सुनार, जितजंग बस्नेत, कमलादेवी पन्त, पदमबहादुर परियारलगायतका संशोधनकर्ताले आफ्नो पक्ष राखेका छन् ।
कुलिङ अफ पिरियड मुख्य बहसको विषय
सांसदले विशेष गरी विधेयकको दफा ८२ मा रहेको कुलिङ अफ पिरियडको व्यवस्था कायमै राख्नुपर्नेमा जोड दिए । सांसद विष्णुबहादुर विश्वकर्माले संशोधनकर्तासँग छलफल भए पनि निष्कर्षमा पुग्न नसकेको भन्दै समितिमा बहसको औचित्यप्रति प्रश्न उठाए । उनले समय अभाव भएकाले छिटो टुंग्याउन आग्रह गरे ।
सांसद जितजंग बस्नेतले संघीय निजामती सेवा विधेयकलाई विवादित नबनाउन चेतावनी दिँदै दफा ८२ मा सबैलाई मिलेर गम्भीर छलफल गर्नुपर्ने बताए । उनका अनुसार, “२ वर्षको कुलिङ अफ पिरियड जसरी पनि कायम रहनुपर्छ।”
सांसद पदमबहादुर परियारले विधायकी अधिकार कुण्ठित नहुने तर्क गर्दै केही व्यक्तिको निर्णयमा मात्र कानून निर्माण स्वीकार्य नहुने बताए । उनले प्रतिवेदनअनुसार दफा ५ हटाई २ वर्षको कुलि अफ पिरियड लागू गर्नुपर्नेमा जोड दिए ।
संशोधनकर्तालाई धारणा राख्न दिने चरण सकिएपछि अब समितिका सदस्यबीच दफाबार छलफल सुरु भएको छ । हाल विधेयकको दफा १० का विभिन्न उपदफामा बहस भइरहेको समितिले जनाएको छ।

Leave a Reply