काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध र चेसको गहिरो सम्बन्ध रहेको बताएका छन्।
अखिल नेपाल चेस संघद्वारा आयोजित भक्त राणा स्मृति चेस प्रतियोगितालाई सम्बोधन गर्दै जनयुद्धका क्रममा चेस खेलको विशेष महत्त्व रहेको बताए।
उनले भने, ‘१० वर्षको जनयुद्धको अवधिमा हाम्रा क्रान्तिकारी योद्धाहरूले बढी खेल्ने खेल चेस नै थियो। यो खेलले बौद्धिक विकास मात्र होइन, मनोविज्ञानको उपचारमा पनि ठूलो योगदान दिएको थियो। रणमैदानमा दुस्मनसँग चलाइने चाल जस्तै चेसमा पनि रणनीतिक चाल चलिन्थ्यो।’
उनले चेस प्रतियोगिता राष्ट्र र अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई चिनाउने अवसर भएको उल्लेख गर्दै अखिल नेपाल चेस संघलाई धन्यवाद दिए ।
खेलाडीहरूको उत्साहपूर्ण सहभागिता सराहना गर्दै आयोजकहरूको सम्भावित समस्या समाधानमा सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
उनले भक्त राणा मगरलाई क्रान्तिकारी, इमान्दार र निष्ठावान् योद्धाको रूपमा स्मरण गर्दै उनको त्याग र बलिदान सदैव नेपाली जनताको स्मृतिमा रहने बताए।
उनले भने, ‘भक्त राणा मगर युद्धमा नै घाइते हुनुभयो, उपचारकै क्रममा वीर अस्पतालमा उहाँको निधन भयो। उहाँको स्मृति हामी सबैको मनमा ताजा छ।’

Leave a Reply