रुबी साहका हत्या आरोपीको दाबी- उनीसँग मेरो विवाह भएको थियो, आमाले छुटाइन् (भिडिओ)

काठमाडौं । रौतहटकी रुबीकुमारी साहको हत्या आरोपमा पक्राउ परेका युवकले निर्धक्कसँग अपराधको स्वीकारोक्ति गरेका छन् । आत्मदाह प्रयास गर्नुपूर्व उनले भिडिओ नै बनाएर घटना विवरण सुनाएका थिए ।

गौर नगरपालिका वडा नम्बर २ डेरा गरी बस्दै आएकी रुबीको शव सुटकेशभित्र राखिएको अवस्थामा गौर–९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोडनजिक सडकको पश्चिम किनारमा भेटिएको थियो । घटनापछि खोजतलासमा जुटेका जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक राजु कार्की नेतृत्वको टोलीले जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ६ बस्ने लक्ष्मण पासवानलाई पक्राउ गरेको हो।

पक्राउ गरिनुपूर्व नै पासवानले भिडिओ बनाएर पोस्ट गरेका थिए । शरीरमा आगो लगाएर जलेको अवस्थामा पक्राउ गरेर प्रहरीले उनलाई अस्पताल भर्ना गरेको छ ।

पासवानले आफ्ना भिडिओमा रुबी आफ्नै प्रेमिका मात्र नभएर श्रीमती नै भएको दाबी गरेका छन् । आफूहरूले नेपाल र भारत दुवैतिर अदालती विवाह गरेको उनको भनाइ छ । तर रुबीकी आमाले आफूहरूलाई छुटाएको पासवानले बताएका छन् ।

रुबीको हत्याअघि आफूहरुबीच लामो कुराकानी भएको र दुवैजना बाँच्न नसक्ने अवस्थामा पुगेको समेत उनको भनाइ छ ।

पासवनले भिडिओमा भनेका छन्, ‘म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।’

पासवानले हिन्दीमा बोलेका कुराहरूको नेपाली भावानुवाद यस्तो छ:

नमस्कार । यता धेरै गर्मी रहेछ ।

मान्छेले यत्तिकै कसैको ज्यान लिँदैनन् । बाध्य हुन्छन् ज्यान लिन । अनि त्यसको पछाडि कसको हात हुन्छ भन्ने जान्नुपर्छ ।

म यसलाई भगाउनेवाला थिइनँ । धेरै रोएको थिएँ । उसको आमा निकै खराब थिइन् । अरूको सुन, चाँदी, धन–दौलत हेरेर छोरीलाई ताना मारेर कुरा गर्थिन् । फलानाको ज्वाइँ–छोरी कस्तो छ, उसको कति पैसा छ, कति गहना छ, कति सुन किन्छ भनेर उसलाई सुनाइरहन्थिन् । अनि मेरो नाम लिएर पनि धेरै गाली गर्थिन् ।

उसकी एक छोरी पिंकी छ । उसले भागेर विवाह गरेकी छ । उसको केटा मुना पटेल हो, गाउँकै हो । त्यो पिंकीले हरेक पूजा-पाठमा सुन-चाँदी, गहना किनिरहन्छिन् । त्यसले उसको आमालाई जलन हुन्छ । अनि भन्छिन्, ‘हेर्नु त, ऊ किनिरहेछ । तर कस्तो आमा हो ? छोरी भागेर बिहे गरेदेखि आजसम्म बोलेकी छैनन् ।

सुखोवाको राजन महतो छ । उ निकै खराब छ । उ रुबीलाई भन्छ, ‘कति पैसा चाहिन्छ ? मसँग धेरै पैसा छ । म धेरै कमाउँछु । मसँग पैसाको कमी छैन ।’ उसलाई लोभ-लालच देखाउँछ, ‘मसँग हिँड, होटलमा जाऔँ, कतै-कतै जाऔँ ।’ तर ऊ जान्न । उसको आमा चाहिँ भन्छिन्, ‘जाऊ ।’ मलाई त्यो मन पर्दैन।

त्यस्तै अर्को, राजा हो, उसलाई राजु पनि भन्छन् । घरमा उसलाई सरलु भनेर चिनिन्छ । ऊ के भन्छ भने, ‘तिम्रो नाममा कार लिएको छु ऋणमा, थाहा छैन कहिले तिर्छु । तिम्रो नाममा म कार लेखिदिन्छु, घर लेखिदिन्छु ।’ ऊ पनि आफूसँग सुत्नको लागि दबाब दिन्छ । तर आमा फेरि भन्छिन्, ‘जा ।’ कस्तो आमा हो ? बिहे भएको छ । तर ऊ बाध्य हुन्छ । मलाई पनि भन्छ, ‘के गरूँ ? म बाध्य छु ।’

उसको देवरले पनि एउटा भिडियो बनाएर ब्ल्याकमेल गरेको छ । ऊ बाथरूममा नुहाउँदै गर्दा भिडियो खिचेको रहेछ । अनि ब्ल्याकमेल गर्छ । ‘यदि मसँग सुतिनस भने यो भिडियो नेटमा हालिदिन्छु,’ भनेपछि डरले उससँग बस्न बाध्य भयो ।

म गरिब थिएँ । उ आठ-नौ कक्षामा मसँग पढ्थी । त्यति बेलादेखि नै हाम्रो प्रेम सुरु भएको थियो । हामी १० कक्षामा पुगेपछि भागेर बिहे गर्‍यौँ । सीतामढी डुमरा अदालतमा विवाह गर्‍यौँ । फेरि नेपालको सर्लाहीमा गएर कोर्ट म्यारिज गर्‍यौँ । तर उसको आमाले निकै सताइन् र छुट्याइन् । ठीकै छ, मसित पैसा थिएन । यार, कम्तीमा छोरीलाई खुसीले बस्न देऊ न । किन ताना मारेर कुरा गर्छस् ? ‘तिम्रो घर छैन, पैसा छैन, गहना छैन, फलानाको छोरी–ज्वाइँ कस्तो छ’ भनेर किन यस्तो गर्छस् ? यदि मन छ भने, आफ्नै गहना दिन नि । राजन, तेरो पैसा दे न । सरलु, तेरो कार दे न । आमाले सुन–चाँदी किनिदेऊ न । अनि बोल्न केही बाँकी नै हुँदैन । उ पाकिसकेको छ, उसको दिमाग बिग्रिसकेको छ । के गरूँ ? हरेक दिन यही कुरा, रोइकराइ । रात–दिन हाम्रो नाममा गाली ।

त्यो दिन ऊ मेरोमा आएको थियो । हामी बसेर धेरै कुरा ग¥यौँ । त्यसपछि झगडा भयो । झगडामा ऊ भन्छे, ‘म जान्न सक्दिनँ, म मर्छु ।’ मैले भनेँ, ‘तँ किन मर्छेस्, म मर्छु । तँ मलाई मारिदे ।’ ऊ भन्छे, ‘होइन, म मर्छु ।’

म भन्छु, ‘म तँलाई मार्न सक्दिनँ, तँ मलाई मारिदे ।’

उ भन्थे, ‘म तँलाई देख्न सक्दिनँ, तँ मलाई मारिदे ।’

निकै डिप्रेशन भयो । आजसम्म मेरो हात काँपिरहेको छ । म पागल भइसकेको छु ।

यदि म जेल गएँ भने कानुनले दस–बीस वर्ष सजाय दिन्छ, फेरि छुट्छु । तर म जेल जानेवाला छैन । म मर्छु । किनभने मेरो प्राण त गइसकेको छ । म उसबिना बाँच्न सक्दिनँ ।

सबैले बाध्य बनाए । मेरो बुबा–आमाले पनि मलाई गाली दिन्छन् । उसका बुबा–आमाले पनि मलाई गाली दिन्छन् । अनि उसका आमाले मेरो आमाबुबालाई गाली दिन्छिन् । यस्तो धेरै टर्चर नगर । मान्छेले बाँच्नै बिर्सियो । जब जिन्दगीमा खुसी देख्न सक्दैनस् भने, कम्तीमा दुःख त नदेऊ । जसरी छ, त्यस्तै रहन देऊ ।

हामी दुई जनाले डिसाइड गरेका थियौँ, अलग–अलग कोठा लिएर बसौँ । जब भेट्न मन लाग्छ, भेटौँ । तर उसको आमाले त्यति धेरै गाली दिइन् कि ऊ भन्थी, ‘म मर्छु, मलाई मार ।’

सरी । म बाँच्न सक्दिनँ । म मर्छु । आज आगो लगाएर मर्छु । कानुनले दिने सजाय मलाई मान्य छैन । किनभने कानुनले जेल हाल्छ, अनि के ? त्यसबाट मेरो केही हुँदैन । म त संसार छाडिदिन्छु ताकि इतिहासमा रहोस् कि प्रेम के हो, छुट्टिएपछि अवस्था के हुन्छ ।

त्यो टेम्पो चालकको गल्ती छैन । मैले नै झूट बोलेर ल्याएको थिएँ । ऊ भन्थ्यो, ‘केही गडबड त छैन ?’ म भन्थेँ, ‘केही छैन ।’

ऊ निर्दोष छ, उसलाई छोडिदिनुहोस् । सकेसम्म उसको आमा, राजन, राजुलाई बुझाइदिनुहोस् । आफ्नो पैसा, गाडी, बंगला आफैँसँग राख । जब त्यति नै सौख छ अरूलाई देखाउने, त दिनु न । धनी बनेको नाटक गर्छन् । न आफू बाँच्छन्, न अरूलाई बाँच्न दिन्छन् ।

तीन दिनदेखि मैले राम्रोसँग खाएको छैन । अलिकति–अलिकति खाएको छु । भोकै बस्छु । मलाई यो डर छैन कि पुलिसले समाउँछ भन्ने । पुलिस मलाई कहिल्यै समाउन सक्दैन । किनभने हामी त मान्छे हौँ । तर कानुन राम्रो छ । म सम्पूर्ण नेपाल प्रहरीलाई नमस्ते गर्छु । तपाईँहरूले दोषीलाई सजाय दिनुपर्छ । म दोषी हुँ । तर म भाग्दिनँ । जेलमा बस्न पनि सक्दिनँ । म मर्छु । मेरो प्राण त गइसकेको छ । ऊ त्यहाँ पर्खिरहेकी छे । भन्छे, ‘कब आउँछस् ?’ आज मेरो मन छ, त्यहाँ पुगेर भेटौँ । किनभने मेरो प्राण त्यहीँ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *