विराटनगर । कोशी प्रदेशका विभिन्न सहरमा खुलेका कन्सल्टेन्सी, ब्युटी पार्लर, ट्रेनिङ सेन्टर र ट्राभल्स एजेन्सीले समेत वैदेशिक रोजगारीमा सर्वसाधारणलाई पठाउने गरेका छन् ।
वैदेशिक रोजगारीको काम गर्न इजाजत प्राप्त नभएका यस्ता संस्थाबाट समेत सर्वसाधारणलाई वैदेशिक रोजगारीमा पठाउन थालेपछि ठगिनेको सङ्ख्या बढेको छ । प्रदेशको इटहरी र बिर्तामोडमा रहेका यस्ता इजाजत नपाएका संस्थाहरुहरुले वैदेशिक रोजगार व्यवसायको काम गर्दै आएका हुन् ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्नका लागि व्यवसाय दर्ता गर्नु पर्ने प्रावधान रहेको छ । वैदेशिक रोजगारमा पछिल्लो समय अत्यधिक ठगी नेपाल सरकारबाट इजाजत प्राप्त म्यानपावर कम्पनीबाट भन्दा पनि इजाजत प्राप्त नभएका कन्सल्टेन्सी, ब्युटी पार्लर, ट्रेनिङ सेन्टर, ट्राभल्स लगायतका ठाउँहरूबाट भएको वैदेशिक रोजगार व्यवसायी सङ्घले जनाएको छ ।
वैदेशिक रोजगार व्यवसायी सङ्घ झापाले जिल्ला प्रशासन कार्यालय झापामा ज्ञापन पत्र बुझाउँदै नियमनको माग राखेको छ ।
सङ्घका अध्यक्ष धनबहादुर पान्धाकले यस्ता अवैधानिक संस्थाहरूले सर्वसाधारणको राहदानी होल्ड गर्ने गरेको बताए । उनले अवैधानिक संस्था वा व्यक्तिबाट अत्यधिक ठगीमा कामदारहरू परेको गुनासो आइरहेकोले सोको अविलम्ब अनुगमन, निगरानी र नियन्त्रण गर्न माग गरे ।
सङ्घले बुझाएको ज्ञापन-पत्रमा वैदेशिक रोजगारमा थोरै समस्या भए पनि काम नगर्न उक्साउने, नेपाल बोलाउने र पैसा उठाउन सहयोग गर्ने बहानामा पीडित कामदारबाट कमिसन मागेर थप पीडित बनाउने गरेको जनगुनासो यत्रतत्र आइरहेको हुँदा सोको समेत अनुगमन, नियमन र नियन्त्रण गर्न सङ्घले माग गरिएको छ ।
ज्ञापन–पत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले कन्सल्टेन्सी, व्यूटीपार्लर, ट्रेनिङ सेन्टर, ट्राभल्सको निगरानी गरेर ठगी न्यूनीकरणमा अग्रसर हुने बताए ।

Leave a Reply