अब नाच्नेछिन् गंगा !

रुपन्देही । कलाकार मनोज गजुरेलले केही दिनअघि सामाजिक सञ्जालमा एक पोष्ट गरे, ‘दुवै खुट्टा गुमाएकी गङ्गा अब नाच्नेछिन् ।’ यसले सबैको ध्यानाकृष्ट गर्‍यो । गंगालाई चिन्ने मात्र होइन, नचिन्नेहरू पनि खुसी भए ।

गजुरेलले शारीरिक अपांगता भएकी गंगा रायमाझीले अहिले डेढ करोड रुपैयाँ खर्चेर कृत्रिम खुट्टा लगाउन आँटेको विषयमा जानकारी पाएर लेखेका थिए । गङ्गाको अहिले जर्मनीस्थित सुविधासम्पन्न अस्पतालमा नयाँ र उन्नत प्रविधिबाट उपचार हुँदैछ । सेन्सरजडित खुट्टाको साथमा उनी बिस्तारै सहजताकासाथ हिँड्न, दौडन र नाच्न पनि सक्नेछिन् ।

यो प्रविधिको नेपाली मूल्य डेढ करोड पर्ने गंगाले बताएकी छन् । श्रीमानकै लगानीका कारण यो सम्भव भएको उनको भनाइ छ ।

‘उहाँले कमाएर जम्मा गरेकै रकमले मैले उपचार गरिरहेको छु, जर्मनीको स्वास्थ्य बिमा कार्यक्रमबाट यो सम्भव भएको हो,’ आफ्ना श्रीमानलाई धन्यवाद दिँदै गङ्गा भन्छिन्, ‘हजुरकै कारण मैले नयाँ जीवन पाएकी छु । मजस्ता सबै मानिसले यस्तो उपचार पाउन सक्नुहोस्, सबैमा मेरो प्रार्थना र प्रयास रहनेछ ।’

०००

२०४२ साल भदौमा गुल्मीको दुर्गम मालिका गाउँपालिका वडा नं ५ छापहिलेमा जन्मेकी हुन् गंगा । बुबा नरबहादुर रायमाझी र आमा हीराकुमारी रायमाझी अर्जेवासँगै (हाल मुसिकोट नगरपालिका) सरेपछि उनले ६ वर्ष त्यहीँ बिताइन् । रायमाझी परिवारमा तीन दाजुभाइ र तीन बहिनीमा उनी छोरीतर्फकी जेठी हुन् ।

बुवा भारतीय आर्मी भए पनि गाउँमा अरू सेवा धेरै थिएन । स्कुल घरभन्दा माथि भएको र खुट्टा नभएकाले दैनिक विद्यालय आउजाउ सम्भव भएन । उनले पढाइ अघि बढाउन सकिनन् ।

त्यसपछि उनी मामाघरमा बस्न थालिन्, जुन त्यतिबेलाको अर्जे (हाल मालिका गाउँपालिका–६) मा पर्छ । मामा, हजुरबुबा, हजुरआमा सबैले सहयोग गरे । हात र खुट्टामा दुई जोर चप्पल लगाएर विद्यालय आउजाउ गर्ने गंगाले कक्षा १० सम्मको अध्ययन मामाघरमै गरिन् । खासगरी उनलाई यो बीचमा माहिली बहिनी राधिका रायमाझीले विशेष सहयोग गरेकी थिइन् । आफूले पनि पढ्दै र दिदीलाई पनि सहयोग गरेकी हुन् राधिकाले ।

२०५९ सालमा एसएलसी परीक्षा दिन तम्घास आएकी गंगा पहिलो पटक ठूलो भीडभाडमा पुगेकी थिइन् । उनलाई देखेपछि अर्जुन बोर्डिङका तत्कालीन प्रिन्सिपल दानबहादुर केसीले सहयोगको प्रस्ताव गरे । तत्कालीन प्रजिअ नेत्रप्रसाद शर्मासँग समन्वय गरी गंगालाई पोखरा पठाइयो । दुवै खुट्टा नभएकी एक किशोरी, चप्पलको सहारामा घिस्रिँदै हातमा कागज समातेर परीक्षा केन्द्रमा आएपछि उनीहरूको ध्यान केन्द्रित भएको थियो ।

केही दिनपछि गंगालाई उपचारका लागि पोखराको हरियोखर्क अस्पताल लगियो, जहाँ चार महिनाको उपचारपछि उनले कृत्रिम खुट्टा लगाइन् । यहीँबाट सुरु भयो, अपाङ्गता भएकी एक युवतीको प्रेरणादायी जीवनयात्रा । त्यहाँ चार महिना बसेर उनले कृत्रिम खुट्टा लगाएकी थिइन् । उक्त समयमा न्यूजिल्याण्डका रब काउन्न अस्पतालको निरीक्षणमा आएका थिए । गंगाको कथा सुनेर उनी भावुक बने । उनले गंगालाई अध्ययनमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गंगा तम्घास फर्किएपछि निःशुल्क रूपमा तम्घास इन्स्टिच्युटमा सीएमए अध्ययनको व्यवस्था गरियो । बसाइ, खानपानदेखि सबै खर्च रबले व्यहोरे । १५ महिनाको अध्ययनपछि उनले सीएमए परीक्षा पास गरिन् ।

सीएमए सकिएपछि जिल्ला अस्पताल गुल्मीका डा. तारानाथ पौडेलले करार सेवामा काम गर्न बोलाए । गंगा अचम्ममा परिन्, तर खुसी पनि भइन् । डाक्टरको प्रस्ताव स्वीकार गरी उनी यसै क्षेत्रमै समर्पित रहिन् । २०६२ सालमा रब नेपाल आए । अस्पतालमा गंगालाई काम गरिरहेको देखेर खुसी भए । उनले फेरि सोधे, ‘के यत्तिकै काम गरेर सन्तुष्ट छौ ?’ गंगाले भनिन्, ‘मजस्तै अपाङ्गता भएकाहरूलाई सहयोग गर्ने संस्था चलाउन चाहन्छु ।’

त्यसपछि रबले संस्था सञ्चालनमा सहयोग गर्ने वाचा गरे । पत्रकार जनार्दन घिमिरेको अध्यक्षतामा २०६३ साउन २ गते आशा अपाङ्ग केन्द्र स्थापना गरियो । गंगा जिल्ला अस्पतालको जागिर छाडेर पूर्णकालीन सेवामा लगिन् ।

लामो समय आशा अपाङ्ग केन्द्रमार्फत उनले शारीरिक तथा मानसिक अपाङ्गता भएका बालबालिकाहरू समावेश गरेर पुनः स्थापनाको कार्यक्रम, कृत्रिम अंग प्रदान, ह्विलचेयर, सेता छडी वितरण, फिजियोथेरापी लगायतका सेवा प्रदान गरिन् । यो बीचमा गंगाले जिल्लाभर विभिन्न तहका सरकारहरूसँग सहकार्य गर्दै पुनः स्थापनाका कार्यक्रम सञ्चालन गरिन् ।

जागिरपछि गंगाको औपचारिक अध्ययन रोकिएको थियो । तर, उनले ७ वर्षपछि महेन्द्र माविमा प्लस टु अध्ययन सुरु गरिन् । म्यानेजमेन्ट संकायमा उत्कृष्ट अंक ल्याएर पास गरिन् । रेसुङ्गा माविबाट मानवशास्त्रमा स्नातक गरिन् । पछि स्नातकोत्तर अध्ययन गरिन् । सुरुका दिनमा गंगालाई न्यूजिल्याण्ड, अमेरिका, युके, जर्मनीलगायत देशबाट सहयोग आउँथ्यो । पछि स्थानीय सरकारहरूसँग समन्वयमा कार्यक्रम चलाइन् ।

गंगाले सेवा कार्यबाट धेरै सम्मान प्राप्त गरिसकेकी छन् । अमेरिका, न्यूजिल्याण्ड, यूके, जर्मनी, क्रोएसिया, चेक रिपब्लिक, इटाली, फ्रान्स, सिंगापुरलगायत २१ देश भ्रमण गरिसकेकी छन् । कतिपय भ्रमण संस्थाको फन्ड संकलनका लागि थिए भने केही व्यक्तिगत निमन्त्रणामा थिए । ती यात्रा गंगाका लागि प्रेरणादायी बने ।

गंगा अपाङ्गता भएकाहरूलाई दया होइन, अवसर आवश्यक रहेको बताउँछिन् ।

‘उनीहरूलाई विचरा भनेर होइन, सम्मानित रूपमा अवसर दिए उनीहरू समाजका लिडर बन्न सक्छन्,’ उनी भन्छिन् ।

गंगा आफ्नो जीवनलाई ‘पहिलो संसार’ मान्छिन् । उनी भन्छिन्, ‘मैले जीवनभित्रको संसार कृत्रिम खुट्टाबाटै घुमेँ, अबका पाइलाहरू अरू अपाङ्गता भएकाहरूका लागि समर्पित छन् ।’

उनको जीवन कथा कुनै काल्पनिक उपन्यास होइन । यो असल नियत, अदम्य इच्छाशक्ति र समाजसेवाको जीवन्त गाथा भएको उनलाई बुझ्ने, उनीबाट सिक्नेहरू बताउँछन् । गंगाजस्ता पात्रहरूले समाजलाई देखाइरहेका छन् शारीरिक अपाङ्गता जीवनको बाधा होइन, अवसर बन्न सक्छ ।

यसरी पढिन्

हात र खुट्टाले टेकेर १० कक्षासम्म पढेकी हुन् गंगाले । एसएलसी दिएपछि पोखरा गएर ४ महिनामा कृत्रिम खुट्टा हालेर तम्घास फर्किइन् र सीएमए पढिन् । १५ महिनामा उनले सीएमए पास गरिन् । तत्कालै जिल्ला अस्पतालमा करारमा जागिर खान थलिन् । तर त्यसमा उनको मन अडिएन । उनले आफूजस्तै अपाङ्गहरुको सेवा गर्ने सोच बनाइन् र २०६३ देखि जिल्ला अस्पतालको करार जागिर छाडेर ०६३ पछि पूर्णकालीन सेवामा लागिन् आशा अपाङ्ग केन्द्रमा ।

विद्यालयमा घस्रिँदै जाँदा उनका साथीले जिस्काएको, दुर्व्यवहार गरेको सम्झेर पनि उनले यही क्षेत्रमा सेवा गर्ने मनसाय बनाएर अघि बडेकी हुन् ।

सीएमए सकेर करारको जागिर गर्न थालेपछि गंगाको अध्ययन रोकिएको थियो । जागिरकै बीचमा केही महत्त्वपूर्ण तालिम भने गंगाले लिएकी थिइन् । त्यसपछि संस्था जन्मियो । सोही संस्थालाई अगाडि बढाउन खटिइन् । थप पढ्ने उनको रहर अधुरै थियो । सेवा गर्ने क्रममै उनी प्लस टु अध्ययनका लागि महेन्द्र माविमा भर्ना भइन् । ७ वर्षपछि अध्ययन गर्न गएकी गंगाले म्यानेजमेन्टमा उत्कृष्ट अंकका साथ प्लस टु पास गरिन् । त्यसपछि रेसुङ्गा माध्यमिक विद्यालयमा मानवशास्त्रमा स्नातक गरिन् । र स्नातकोत्तर पढिन् ।

सम्मान र दुई दर्जन धेरै देशको भ्रमण

गंगा दुई कृत्रिम खुट्टाको सहायताले सेवामा निरन्तर खटिइन् । २०६३ सालदेखि पूर्णकालीन सेवामा लागेकी उनले दर्जनौँ सम्मान पाएकी छन् भने करिब दुई दर्जन देश घुमिसकेकी छन् ।

सन् २००७ मा बीबीसीले आयोजना गरेको वर्ल्ड च्याम्पियनसीपमा छनौट भएपछि र यो डकुमेन्ट्री प्रकाशन प्रसारण भएपछि उनको विदेशयात्रा सुरु भएको हो । २००८ मा बीबीसीले न्यूजील्याण्डमा बोलाएको थियो । रोटरी क्लबको कार्यक्रममा उनको प्रस्तुति उत्कृष्ट भयो । उनले अमेरिकाबाट सन् २०१० मा एक विशेष सम्मान पाएकी छन् । बेलायतलगायत अन्य देशमा पनि सम्मान पाएको उनी बताउँछिन् । न्युजिल्याण्ड, सिंगापुर, अमेरिका, यूके, जर्मनी, इटाली, क्रोएसिया, चेक रिपब्लिक, फ्रान्सलगायतका देश घुमेर थप प्रेरणा मिलेको गंगा बताउँछिन् ।

‘मैले जीवनभित्रको विश्व कृत्रिम खुट्टाबाटै घुमिसकेँ । भौतिक विश्वका केही हिस्सा पनि कृत्रिम खुट्टाकै सहारामा घुमेँ । अबका संघर्षपूर्ण पाइलालाई मजस्तै अपाङ्गता भएकाहरूका लागि समर्पित गर्न चाहन्छु,’ गंगा भन्छिन् ।

जर्मनीमा विहेवारी र घरजम

गंगाले काम गर्ने संस्थालाई साथ दिएका थिए जर्मन नागरिक माइकल जेमले । उनको कार्यसम्पादन देखेर फर्केका जेमले इमेलमार्फत गंगालाई मन पराएको बताए । पछि गुल्मीमा पनि उनी पुगेका थिए । अन्नपूर्ण ट्रयाकिङमा पनि आएका थिए । धेरैपटक नेपाल आउँदा गंगाको लगनशीलता र मिहिनेतबाट प्रभावित बन्दै गए ।

०६६ सालमा माइकलसँग आफ्नो पहिलो भेट भएको बताउँछिन् गंगा ।

‘पहिलो भेटमा धेरै कुराकानी केही भएको थिएन, पछि उहाँ फर्केपछि इमेल गर्नुभएको रहेछ, त्यो पनि धेरै पछि हेरेको थिएँ,’ उनले सम्झिइन्, ‘बिहे २०२१ मा भएको हो, जर्मनीमै कानुनीरुपमा दर्ता भएको छ,’ उनले भनिन् ।

गंगाका श्रीमान् माइकल वैज्ञानिक र पाइलट हुन् ।

‘उहाँले मेरो सबै विषय पहिले नै बुझ्नुभएको थियो, मलाई कुनै समस्या भएन, उहाँले आफ्नो परिवारमा पनि त्यो सबै कुरा बताउनुभएको रहेछ’ गंगाले भनिन् ।

‘पहिले त संस्थागत सहयोगका लागि नेपाल जानुभएको थियो, मेरो डकुमेन्ट, प्रस्तुति पहिले नै हेर्नुभएको रहेछ,’ कसरी सम्बन्ध बिस्तार भयो भन्ने प्रश्नमा उनले भनिन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *