प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव- भारत र चीन भ्रमणमा सीमाको विषयमा दृढतापूर्वक आफ्नो कुरा राख्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लिपुलेकबारे भारत र चिनबीच भएको सम्झौताले नेपालको सार्वभौमिकता माथिको प्रहार गरेको बताएका छन्।

उखु किसानको आन्दोलनलाई समर्थन जनाउन माइतीघर पुगेका श्रेष्ठले यो आपत्तिजनक कदम भएको बताए।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेको श्रेष्ठले भारतलाई भने, ‘यो विवादको समाधान गरौँ। यसको सुरुआत हामीले गरेका होइनौँ तपाईंहरुबाटै सिर्जना भएको हो। हाम्रो लागि त तथ्य प्रमाणहरूले भनिराखेकै छ। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालकै भूमि हो। त्यसमा कुनै विवाद छैन। तथ्य र प्रमाणसहित नेपालले त्यो कुरा प्रस्ट राखेको छ। तर भारतले त्यसलाई सहज स्वीकार गर्नुको सट्टा परराष्ट्र मन्त्रालयको सचिव स्तरको बैठक राखेर समाधान गर्ने कुरा गर्छ तर बैठक कहिल्यै राख्दैन। यो दुखद हो।’

उनले चीनसमेतको सहभागितामा लिपुलेकबारे भएको सहमति नेपालको सार्वभौमिकतामाथिको अपमान भएको बताए। उनले प्रधानमन्त्री केपी ओलीलाई भारत र चीन दुवै भ्रमणमा सीमा विवादबारे आफ्नो कुरा दृढतापूर्वक राख्न सुझाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *