काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ निशा डाँगी हरेक वर्ष तीजमा पशुपतिनाथ मन्दिरमा पुग्ने गर्छिन् । आज पनि उनी परम्परा धान्दै परिवारका सदस्यहरूसहित मन्दिर दर्शन गर्न गइन् ।
रास्वपाकी समानुपातिक सांसदसमेत रहेकी निशा ‘कान्छी माननीय’ का रूपमा परिचित छिन् । उनी अविवाहित हुन् । पशुपति मन्दिरमा पुग्दा उनी रातो सारी र फुल मेकअपमा निकै खुलेकी थिइन् । केही घन्टा लाइन बसेर उनले पशुपतिनाथ दर्शन गरिन् । चिन्नेहरूले उनीसँग फोटो/सेल्फी खिचे ।
निस्किने क्रममा सञ्चारकर्मीको नजरमा परिन् निशा । उनलाई सोधियो- कति घन्टा लाइन बस्नुभयो ?
निशाले अघिल्ला वर्षहरूको तुलनामा यसपालि छिटो पालो आएको बताइन् । यद्यपि, सांसद भनेर आफूले कुनै सुविधा र सहुलियत नलिएको उनको भनाइ थियो ।
‘म हरेक वर्ष परिवारसहित आउँछु र लाइन बसेर दर्शन गर्छु । यसपालि पनि त्यहीँ गरेँ । सांसद हुनासाथ बेग्लै सेवा सुविधा चाहिन्छ जस्तो लाग्दैन ।’ उनले भनिन् ।
उनले तीजमा व्रत पनि बसेको जनकारी गराइन् । यसपालिको तीजमा आफ्नो पार्टी रास्वपा र देशकाे भलाइकाे लागि व्रत बसेको उनको भनाइ छ ।
निशाले भनिन्, ‘म हाम्राे पार्टी रास्वपा र देशकाे मङ्गल कामना गरेर व्रत बस्छु । अहिले हाम्रो पार्टी सभापति कारागारमा हुनुहुन्छ । हामी उहाँको रिहाइकाे आशामा छाै । पशुपतिनाथले पक्कै पनि सभापतिज्यू र हाम्रो पार्टी रास्वपालाई कृपा गर्नु हुनेछ । उच्च अदालतले सभापतिज्यूलाई रिहाइ गर्ने ठूलो आशा छ ।’

Leave a Reply