काठमाडौं । गायिका एलिना चौहान अहिले अमेरिका टुरमा छिन् । अमेरिकाका विभिन्न सहरहरुमा आयोजना हुने कन्सर्टमा प्रस्तुति दिइरहेकी छन् । यसपटकको तिजमा उनको गीत ‘छोरीको शीर आमा’ पनि चर्चामै छ ।
यो गीतलाई अहिलेसम्म ६१ लाख बढीले युट्युबमा हेरिसकेका छन् । उनको अर्को तिज गीत ‘पृथ्वी छोडेर’ले पनि उल्लेख्य मात्रामा भ्युज बटुलेको छ । यस गीतलाई अहिलेसम्म ३८ लाख बढीले युट्युबमा हेरिसकेका छन् ।
तर, एलिनाको वैवाहिक जीवन भने राम्रो भएन । अष्ट्रेलियामा बस्दै आएका विष्णु सापकोटासँग उनको पारपाचुके भइसकेको छ । त्यही विगतलाई सम्झेर उनले एक भावुक स्टाटस लेखेकी छन् । स्टटसमा तिजको व्रत कसैका लागि नभएर आफ्नो आयु बढाउन बस्नुपर्ने उल्लेख गरेकी छन् ।
हिन्दु महिलाहरु आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बस्ने रात नै उनले लेखेकी छन्, ‘मैले पुजेर जल खाएका तिम्रा खुट्टा मेरो छातिमा बजाएपछि थाहा भयो, तिजको व्रत आफ्नो आयु बढाउन बस्नुपर्ने रहेछ ।’
उनका वैवाहिक जीवन निकै कठिन भएको र घरेलु हिंसा समेत सहेको उनको स्टाटसको आशयबाट बुझ्न सकिन्छ । यद्यपि दुवै अहिले अलग्गिएर आ–आफ्नै बाटो लागिसकेका छन् । एलिना सांगितिक कर्ममै सक्रिय भइरहेकी छन् । उनका गीतहरु पनि लगालग हिट भइरहेका छन् ।

Leave a Reply