सहकारीले मल लुकाएपछि पालिका अध्यक्षले गोदामको ताला फुटाएर किसानलाई बाँडे

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर २ स्थित विराट कृषि सहकारी संस्था लि. मल खाद भण्डारण तथा वितरण केन्द्रमा रहेको मल किसानलाई नदिइएपछि गोदाममा ताला फुटाएर मल वितरण गरिएको छ ।

गोदाममा मल हुँदा पनि सहकारीले किसानलाई नदिएकोे गाउँपालिकामा गुनासो आएपछि अध्यक्ष विद्या यादव स्वयं पुगेर सहकारीको ताला फोडेर मल वितरण गरेका हुन् ।

अध्यक्ष यादवले गाउँपालिकामा आएको मल प्रत्येक किसानलाई एक/एक बोरा दिने निर्णय पालिकाले गरेको बताउँदै सोअनुसार मल वितरण नभएपछि सहकारीको ताला तोडन बाध्य भएको बताए ।

‘किसान समयमा मल नपाउँदा निकै मर्कामा परेका छन् । विराट सहकारीमा एक हप्ता अघि मल आए पनि किसानलाई वितरण नगरिएपछि बाध्य भएर सहकारीको गोदाम फोडर निरीक्षण गर्दा त्यहाँ रहेका २८४ बोरा युरिया मल वितरण गरिएको हो’, उनले भने ।

स्थानीय किसान, सरोकारवाला निकाय, पालिकाका पदाधिकारी, कर्मचारी, प्रहरी, लगायतको रोहबरमा ताला तोडेर मल वितरण गरिएको अध्यक्ष यादवले बताए ।

सोमबार गाउँपालिकाको कार्यालय पुगेका स्थानीयले सहकारीका सञ्चालक सम्पर्कविहीन भएको र फोन सम्पर्क गर्दा पनि सन्तोषजनक जवाफ नदिइ मल दिन आलटाल गरिरहेको गुनासो गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *