नेपोटिजमको बहस समीर भट्टले बन्द गरिदिएको भुवन केसीको प्रष्टाेक्ति

काठमाडाैं । आज एक कार्यक्रमका बीच अनमोल केसीको प्रतीक्षित चलचित्र ‘जेरी अन टप’को टिजर सार्वजनिक भयो । टिजर सार्वजनिक कार्यक्रममा अनमोललाई पारिश्रमिकदेखि विराज–समीर भट्टसम्म, बक्स अफिसदेखि बाबु–छोराको सम्बन्धसम्मका प्रश्नहरु सोधिए ।

पत्रकारसँगको अन्तरक्रियाको क्रममा एक पत्रकारले विराज–समीर भट्टको सुपरहिट चलचित्र ‘१२ गाउँ’को प्रसंग निकाले । १९ करोडमाथि ग्रस कलेक्सन गरेको चलचित्रको प्रसंग निकाल्दै भुवन केसीलाई सोधियो, ‘बाबुछोराको स्टारडम देख्ला तपाईंलाई लोभ लागेको थियो कि थिएन ?’

भुवनले गम्भीर हुँदै जवाफ दिए, ‘सबैभन्दा पहिला विराज नै मेरो भाइ हो । हामीले धेरै फिल्म सँगै गरेका छौं । त्यसैले विराजको छोरा मेरो पनि छोरा जस्तै हो । समिरलाई म आफ्नै छोराजस्तै सम्झिन्छु ।’

भुवन यतिमै रोकिएनन् । नोपोटिजमको सन्दर्भ पनि कोट्याए । उनले भने, ‘नेपालमा धेरै कलाकार साथीभाइको छोराछोरी फिल्म उद्योगमा आउनुहुन्छ । तर, अनमोल उद्योगमा आउनसाथ उसले नेपोटिजमको आरोप सहनु पर्यो ।’

भुवनले थपे, ‘तर समर आएर उसले नेपोटिजमको बहस नै हटाइदियो ।’

यसपछि पत्रकारले अनमोललाई सोधे, ‘मेगास्टारको ५० करोडको आँकडामाथिको चलचित्र दर्शकले खोजिरहेका छन् । चलचित्र विकास बोर्डले सार्वजनिक गर्दा शीर्ष २५ सबैभन्दा बढी ग्रस कलेक्सन गर्ने चलचित्रको सूचिमा तपाईंको चलचित्र आएन । १० करोडभन्दा माथि ग्रस गर्ने चलचित्रमा काम गर्न कत्तिका रहर छ ? अहिलेसम्म त्यस्तो चलचित्र किन नआएको हो ?’

यो लामो प्रश्नको अनमोलले छोटो जवापफ दिए, ‘एउटा कलाकारको रुपमा मैले गर्ने भनेको कर्म हो । फलको त्यति आश गर्दिनँ ।’

बक्स अफिसको प्रश्नपछि प्रसंग बाबुछोराकै केमेस्ट्रीमाथि सोझिए । पत्रकारले सोधे, ‘टिजरमा हेर्दा चाहिँ भुवन सरले झापड हान्नुभएको छ । कति टेकमा ओक्के गरिएको सट थियो यो ?’

जवाफमा अनमोल भन्छन्, ‘प्रश्न त यो रुचिपूर्ण हुन्थ्यो कि मैले घरमा झापड खाएको छु कि छैन । बुवाले मलाई लङ सटमा रियल थप्पड नै हान्नुभयो । क्लोज सटमा हान्नुभएन ।’

पत्रकारले पु्न भुवनलाई नै किन क्लोज सटमा हान्नुभएन भनेर प्रश्न गर्छन् । यसमा भुवन भन्छन्, ‘रियल लाइफमा थप्पड त परको कुरा, अनमोललाई कडा शब्दले गालीसम्म गरको छैन । स्क्रिनमा हान्नुपर्दा कठिन भएको थियो मलाई । स्क्रिनमा रियालिटी आओस्, तर छोरालाई नलागोस् भन्ने पनि थियो ।’

‘जेरी अन टप’मा अनमोल र माग्ने बूढाले पहिलोपटक सहकार्य गरेका छन् भने उनीहरुसँगै आँचल शर्मा, जसिता गुरुङ, भुवन केसी पनि मुख्य भूमिकामा छन् । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रले सगरमाथा आरोहण र प्रेमकथालाई केन्द्रमा राखेको छ । यही असोज ३१ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *