आफूले भन्दा बढी पारिश्रमिक माग्ने बूढाले डिजर्भ गर्ने अनमोलको प्रतिक्रिया

काठमाडाैं । पछिल्लो समय अभिनेता केदार घिमिरे माग्ने बूढाले ६१ लाख पारिश्रमिक लिएको गसिपले बजार पिट्यो । तथापि यो हल्लालाई माग्ने बूढा स्वयंले खारेज गरिसकेका छन् । आफूले ६१ लाख पारिश्रमिक नलिएको बताइसकेका छन् । तर, पारिश्रमिकको बहस भने अझैं सेलाइसकेको छैन ।

आज ‘जेरी अन टप’ चलचित्रको टिजर रिलिज कार्यक्रममा पनि यही विषय उप्कियो । आज पनि पारिश्रमिकको विषय उप्किनुमा अनमोल र माग्ने बूढा सँगै हुनु पनि हो । केही समयअघि ‘फर्की फर्की’ चलचित्रमा अनमोलले ५० लाख पारिश्रमिक लिएका अनमोल महँगो अभिनेतामा दरिएका थिए ।

अनमोल र माग्ने बूढा दुवैजना सँगै उपस्थित भएको कार्यक्रममा पत्रकारले अनमोललाई सोधिहालिन्, ‘अहिले कत्तिको खुसी हुनुहुन्छ ? बजारमा अनमोल सबैभन्दा महँगो नायक भनिन्थ्यो । अहिले त्यो माग्ने बूढामा सरेको छ । त्यो कुराले कत्तिको खुसी हुनुहुन्छ र दुःखी हुनुहुन्छ ?’

पत्रकारको यस्तो प्रश्नपछि अनमोल मुस्कुराउँछन् । पत्रकारहरुले माग्ने बूढालाई पनि सँगै उभाएर जवाफ दिन लगाउँछन् । माग्ने बूढालाई अनमोलसँगै राखिन्छ । अनि अनमोलले मु्स्कुराउँदै भन्छन्, ‘उहाँको उमेर हेर्नुहोस् । उहाँको ऊर्जा हेर्नुहोस् । उहाँको फिल्मप्रतिको लगाव हेर्नुहोस् । मेरो नजरमा त मलाई लाग्छ, मैले भन्दा बढी डिजर्भ गर्नुहुन्छ ।’

यसपछि पत्रकारले माग्ने बूढालाई सोध्छन्, ‘तपाईंको भन्नु केही छ ?’ माग्ने बूढाले हाँस्दै भन्छन्, ‘मेरो त धन्यवादभन्दा केही छैन ।’

‘जेरी अन टप’मा अनमोल र माग्ने बूढाले पहिलोपटक सहकार्य गरेका छन् । उनीहरुसँगै आँचल शर्मा र जसिता गुरुङ पनि मुख्य भूमिकामा छन् । सुयोग गुरुङको निर्देशनमा बनेको चलचित्रले सगरमाथा आरोहण र प्रेमकथालाई केन्द्रमा राखेको छ । यही असोज ३१ गतेबाट चलचित्र प्रदर्शनमा आउँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *