काठमाडौं । सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सरकारले अनिवार्य गर्न लागेको इम्बोस्ड नम्बर प्लेट जडानको निर्णयमा गम्भीर आपत्ति जनाएको छ । यातायात व्यवस्था विभागले २०८२ असोज १ गतेदेखि अनिवार्य लागू गर्ने सूचना जारी गरेको थियो ।
महासंघले आज एक विज्ञप्ति निकाल्दै यो कदमले नेपाली भाषा, राष्ट्रिय स्वाभिमान र देशको सुरक्षामाथि नै गम्भीर आँच पुग्ने भन्दै विरोध गरेको हो ।
महासंघले आफ्नो विज्ञप्तिमार्फत इम्बोस्ड नम्बर प्लेटमा प्रयोग हुने लिपिका कारण नेपालको मौलिक पहिचान बोकेको नेपाली भाषा नै लोप हुन सक्ने बताएको छ ।
‘नेपालको पाण्डुलिपि र नेपाली भाषा नै लोप हुने गरी राष्ट्रिय स्वाभिमानमाथि आँच आउने काम भएको छ । विदेशी ठेकेदार कम्पनीको सहकार्यमा लागू गरिएको यो प्रणालीले नेपाली नागरिकको सम्पूर्ण गोप्य विवरण विदेशीको नियन्त्रणमा पुग्ने र राष्ट्रलाई नै कमजोर बनाउने छ । सरकारले कुनै पूर्वाधार तयार नगरी विकसित देशको प्रविधि भित्र्याएर आम नागरिक र व्यवसायीमाथि अनावश्यक आर्थिक भार थोपर्न खोजेको छ । सरकारी पक्षबाट एकतर्फी रूपमा गरिएको यस्तो निर्णय अव्यावहारिक र व्यवसायीको हितविपरीत रहेको छ । महासंघले यसलाई तत्काल रोक्नुपर्ने माग गरेको छ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले जबरजस्ती प्लेट जडान गर्न खोजे त्यसबाट उत्पन्न हुने विरोध र दबाबपूर्ण गतिविधिका लागि यातायात मन्त्रालय र मातहतका निकायहरू नै जवाफदेही हुनुपर्ने चेतावनी दिएको छ ।


Leave a Reply