गृहमन्त्रीसहित बसेको कांग्रेस शीर्ष नेताहरूको बैठकले के गर्‍यो निर्णय ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसेको छ । पार्टी कार्यालय सानेपामा पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकमा पार्टीको क्रियाशिल सदस्यताको वर्तमान अवस्था र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताए ।

उनका अनुसार बैठकमा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, गृहमन्त्री रमेश लेखक सहभागी थिए । अर्का महामन्त्री गगन थापा भने बैठक बस्ने समयमा अर्को कार्यक्रम पहिल्यै तय भइसकेकाले सहमति नभएको उनले बताए ।

उनले भने, ‘क्रियाशील सदस्यताको विषय पार्टीभित्र पेचिलो बनिरहेको छ। यसबारेमा छलफल हुनका साथै समसामयिक विषयमा सामान्य छलफल आजको बैठकमा भयो।’

बैठकले राज्य व्यवस्था एवं सुशासन समितिको सभापतिमा सांसद दिलेन्द्र बडूलाई पठाउने सहमति गरेको बताइन्छ। कांग्रेसले समितिको सभापतिको टुङ्गो लगाएपछि नै आज सभामुखले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेका छन्।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए। प्रतिनिधिसभा नियमावलीको व्यवस्था अनुसार सभापति रिक्त भएको १५ दिनभित्र पदपूर्ति गरिसक्नुपर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *