काठमाडौं । सरकारले अनिवार्य गर्न लागेको एम्बोस्ड नम्बर प्लेटको चर्को शुल्क र अव्यवस्थित कार्यान्वयनलाई लिएर चौतर्फी विरोध भइरहेको बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले यसको मूल्य महँगो भएको स्वीकार गरेका छन् । नेपाल प्रेससँग कुरा गर्दै मन्त्री दाहालले एम्बोस्ड प्लेटको मूल्य आफूलाई पनि महँगो लागेको बताउँदै यस विषयमा सम्बन्धित निकायसँग छलफल गरेर गर्ने बताए ।
करिब ३० लाखभन्दा बढी स्मार्ट लाइसेन्स छापेर सरकारले दिन सकेको छैन । तर, मन्त्रीले भने नम्बर प्लेट र लाइसेन्सलाई एउटै रुपमा लिन नहुने बताए ।
मन्त्रीले भने, ‘एम्बोस्ड नम्बर प्लेट जडान गर्नैपर्ने बाध्यता रहेको छ । हामीले धेरै पहिले सम्झौता गरेकाले अहिले जोड्नु पर्ने अवस्था आएको हो । यो ठेक्का प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै टुङ्गिएको र अदालतबाट समेत फैसला भएर आएको विषय भएकाले पछि हट्ने अवस्था छैन । यो कसको पालामा ठेक्का लाग्यो, कसरी भयो भन्ने बेग्लै विषय हो । तर, नम्बर प्लेट जडान नगर्ने हो भने राज्यलाई ठूलो घाटा हुने अवस्था आएको छ । अदालतबाट समेत फैसला भएर आएको विषय भएकाले हामीले कार्यान्वयन गर्न खोजेका हौँ ।’
कुन सवारीमा एम्बोस्ड नम्बर प्लेट हाल्दा कति शुल्क लाग्ने भन्ने विषय पहिले नै तोकिएर आएको हो । यो प्रणालीका लागि आवश्यक १० वटा गेट निर्माणको काम पनि ठेक्का पाएको कम्पनीकै जिम्मामा रहेको र हालसम्म एक लाख प्लेट पनि वितरण भइनसकेको अवस्थामा पूर्वाधार तयार हुँदै जाने मन्त्रीले बताए ।
प्रविधि र पूर्वाधारको पूर्ण तयारी बिना नै अनिवार्य गर्न लागिएको यो प्रणालीले स्मार्ट लाइसेन्सकै जस्तो नियति भोग्ने हो कि भन्ने अवस्था सिर्जना भएको छ ।
कुन सवारीको कति छ शुल्क ?
नेपालमा सवारी साधनमा जडान गरिने एम्बोस्ड नम्बर प्लेटको शुल्क स फरक–फरक तोकिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार विभिन्न दुई पाङ्ग्रे सवारीका लागि २ हजार ५ सय, मझैला सवारीका लागि २ हजार ९ सयदेखि ३ हजार २ सय र ठूला सवारीका लागि ३ हजार ६ सय शुल्क तोकिएको छ ।
यो शुल्क धेरै भएको भनेर चौतर्फी आलोचना हुँदै आएको छ । नेपालमा महँगो शुल्क र झन्झटिलो प्रक्रियाका कारण सुरुदेखि नै एम्बोस्ड नम्बर प्लेट जडानको विषय विवादीत हुदै आइरहेको छ ।
नेपाल सरकारले २०८२ असोज १ गतेदेखि देशभरका सबै सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेर सूचना नै प्रकाशन गरिसकेको छ । असोज १ गतेदेखि दर्ता हुने सबै नयाँ सवारी, नामसारी हुने सवारी, नवीकरण हुने सवारी अनिवार्य एम्बोस्ड प्लेट जडान गर्नु पर्ने छ ।

Leave a Reply