काठमाडौं । नेपालले आफ्नो अन्तर्राष्ट्रिय वित्तीय साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सुधारको लक्ष्यसहित यस वर्षको तयारीलाई तीव्रता दिएको छ । अर्थ मन्त्रालयमा सोमबार बसेको बैठकले रेटिङका लागि नेपालले हासिल गरेका आर्थिक तथा नीतिगत उपलब्धिहरूलाई सशक्त रूपमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।
बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गत एक वर्षमा देशले हासिल गरेका प्रगतिलाई ठोस रूपमा अन्तर्राष्ट्रिय समुदायसमक्ष पुर्याउने गरी तयारी गर्न निर्देशन दिए ।
उनले राजनीतिक स्थायित्व, सुशासन, पूर्वाधार विकास तथा आर्थिक सुधारका क्षेत्रमा भएका महत्वपूर्ण कामहरूलाई रेटिङ प्रक्रियामा प्राथमिकताका साथ समावेश गर्नुपर्नेमा जोड दिए ।
अन्तर्राष्ट्रिय मूल्याङ्कन एजेन्सी ‘फिच रेटिङ्स’ले नेपालको सोभरेन क्रेडिट रेटिङ गर्दै आएको छ । गत वर्ष नेपालले पहिलो पटक यस्तो रेटिङ गराउँदा बीबी माइनस रेटिङ पाएको थियो ।
यो रेटिङले देशको ऋण तिर्न सक्ने क्षमतालाई जनाउँछ र अन्तर्राष्ट्रिय लगानीकर्ता तथा दातृ निकायहरूका लागि एक महत्वपूर्ण सूचक मानिन्छ । फिचको एक टोली मूल्याङ्कनका लागि नेपाल आउने कार्यक्रम रहेको छ ।
राम्रो क्रेडिट रेटिङले नेपाललाई अन्तर्राष्ट्रिय बजारबाट सस्तो ब्याजदरमा ऋण लिन, विदेशी प्रत्यक्ष लगानी (एफडीआई) आकर्षित गर्न र समग्रमा देशको आर्थिक छविलाई बलियो बनाउन मद्दत गर्छ । सरकार यही साख सुधार गरेर देशको आर्थिक गतिविधिमा नयाँ गति प्रदान गर्ने रणनीतिमा देखिन्छ ।
अर्थ मन्त्रालयमा भएको उक्त तयारी बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, अर्थ सचिव घनश्याम उपाध्यायलगायत सरकारका प्रमुख आर्थिक सल्लाहकार तथा कार्यान्वयनकर्ताहरूको उपस्थिति थियो ।

Leave a Reply