प्रज्ञा प्रतिष्ठानले मनायो तीज

काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान, सामाजिक शास्त्र विभागको आयोजना तथा नेपाल प्रज्ञा प्रतिष्ठानका तीनै क्रियाशील ट्रेड युनियनको सहभागितामा तीज विशेष कार्यक्रम– २०८२ सम्पन्न भएको छ ।

कुलपति भूपाल राईले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । उद्घाटन मन्तव्य व्यक्त गर्दै उनले तीज पर्व महादेव र पार्वतीको कथाबाट सुरु भएको भन्दै तीज सामन्तवादी संस्कृतिको प्रभावबाट विकसित हुँदै आए पनि अहिले प्रायः समुदायमा व्यापक भइसकेको चर्चा गरे ।

विभेदको अन्त्य, महिला मुक्ति र परिवर्तनसँग जोडेर तिज मनाउन आग्रह गर्दै महिलाहरूले आफ्ना जीवन भोगाइका दर्द, कठिनाइ , भावनात्मक सुख दुःख र आत्मीय क्षणहरूलाई प्रस्फुटन गर्ने माध्यम तिज बनेको राईको भनाइ थियो ।

उपकुलपति विमल निभाले तीज पर्व आफन्त र साथीभाइसँग भेटघाट र रमाइलो पर्वका रूपमा झकिझकाउसँग मनाउने गरिएको भन्दै महिला मुक्तिसँग जोडेर असमानता र विकृतिविरुद्ध तिज मनाउनु पर्ने धारणा राखे ।

कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै प्राज्ञ परिषद् सदस्य तथा साहित्य र साहित्येतिहास विभाग प्रमुख डा।मधुसूदन गिरीले तीज महिलाको मात्रै नभएर समुदायको सम्झौताको सांस्कृतिक पर्व भएको बताए । किरात र शैवबीच सम्झौता भएपछि तिज मान्न थालिएको उनले बताए ।

सामाजिक सदभाव र मेलमिलाप कायम राख्दै पितृसत्ताविरुद्द महिला समानता र विभेदविरुद्ध तिज मनाउनुपर्ने गिरीले बताए । प्राज्ञ परिषद् सदस्य तथा साहित्य पद्य काव्य विभाग प्रमुख बाबा बस्नेतले तीज पर्वलाई वैचारिकीसँग जोडेर मनाउन ,अनावश्यक पक्षबाट तिजलाई मुक्त गर्दै महिलाका पीडालाई व्यक्त गर्ने माध्यमका रूपमा लिनुपर्ने बताइन् ।

कार्यक्रमको अध्यक्षता सामाजिक शास्त्र विभाग प्रमुख डा।कौशिला रिसालले गरेकी थिइन् । उनले तीजसँग जोडिएको धार्मिक अन्धविश्वास ,अराजकता र विकृतिलाई हटाउँदै महिला स्वतन्त्रता ,सामाजिक सदभाव , पारिवारिक र इस्टमित्रको पुनर्मिलनका रूपमा लिनुपर्ने बताइन् । ऋषिपञ्चमीका दिनसँग जोडिएको पूजाआजा , पुरुष अर्चना र भक्तिगानलाई हेर्दा तीजले कुनै पनि रूपमा महिलालाई जञ्जिरले बाँधेको देखिने चर्चा गर्दै यसबाट समेत मुक्त हुनु जरुरी रहेको रिसालले बताइन् ।

कार्यक्रममा साहित्यकार सीता शर्मा, डा. प्रतिभा पुन र डा।चूडाप्रसाद ढकालले तीज गीत र पर्वुविषयक प्रस्तुति दिए ।

कार्यक्रममा भौतिक संशाधन महाशाखा प्रमुख सन्ध्या पहाडी, उपप्रमुख विश्वास घिमिरे, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल प्रज्ञा प्रतिष्ठान केन्द्रीय समितिका अध्यक्ष महेश्वर थापा मगर एवं नेपाल प्रज्ञा प्रतिष्ठान, कलाकार तथा कर्मचारी संगठनका अध्यक्ष जयराज जोशीले तीज पर्वबारे शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमको उद्घोषण प्रतिष्ठानकी नासु राधा कार्कीले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *