तीज नेपाली समाजको एक महत्वपूर्ण सांस्कृतिक पर्व हो । यसको आधार हिन्दू धर्मशास्त्रमा भेटिन्छ । पौराणिक इतिहासअनुसार ‘हिन्दू परम्परामा देवी पार्वतीले भगवान् शिवलाई पाउन कठोर तपस्या र व्रत बसिन्’ भन्ने कथा सुनिन्छ । विशेषगरी यो प्रसंगसँग तीजको उत्पत्ति जोडिन्छ । त्यही धार्मिक आस्थाको आधारमा महिलाले आफ्नो इच्छा, व्रत र प्रार्थनाको पर्वका रूपमा तीजलाई मनाउँदै आएका छन् ।
त्यसबेला महिलाले पतिको दीर्घायू र पारिवारिक सुख-समृद्धिको कामना गर्दै कठोर उपवास गर्ने परम्परा सुरू भएको मानिन्छ । प्रारम्भिक चरणमा तीजलाई पतिव्रता धर्मको प्रतीक मानिएको थियो, जसमा महिलाको भूमिका प्रायः पतिको दिर्घायु र सुख संगलसम्बन्धी प्रार्थनामा सीमित हुन्थ्यो ।
धार्मिक दृष्टिले मनुस्मृतिजस्ता शास्त्रले महिलालाई पतिसेवामा समर्पित र परिवारकै सीमामा बाँध्ने दृष्टिकोण प्रस्तुत गरेका छन् । तीजलाई पनि त्यही अवधारणासँग गाँसिएको देखिन्छ । व्रत, उपवास र पूजाआजा महिलाको ‘कर्तव्य’ वा ‘धर्म’ मानिन्थ्यो । यसरी धर्मशास्त्रले महिलाको जीवनलाई सानो घेरामा बाँधेको हुँदा तीजले परम्परागतरूपमा समर्पण र सहनशीलताको पर्वको अर्थ बोकेको पाइन्छ । हिजोको तीज महिलाको बन्धन वा हतकडी थियो ।
तीज धर्म संस्कृतिसँग जोडिएको भए पनि यसको व्यवहारिक अभ्यासमा समय-समयमा विकृति देखिएका छन् । पहिलेका गीतमा पति पूजकता, सासू-बुहारीबीचका कटुता, मनोमालिन्य, महिलाको पीडा, महिला हिंसा, घरेलु पीडा, अनमेल विवाह तथा दाइजोको समस्या पोख्ने चलन थियो । त्यसले महिलाको मौन पीडा अभिव्यक्त गर्ने अवसर दिएको भए पनि त्यो सकारात्मकता र रचनात्मकता भन्दा बढी दुःख र बेदनाको प्रतिविम्ब थियो ।
नयाँ पुस्ताले तीजलाई रमाइलो मात्र नभई सन्देशमूलक रचनात्मक पर्वको रूपमा मनाउन थालेका छन्, जसले समाजका विकृति विरुद्ध प्रहार गर्छ र समानता, माया-प्रेम र आपसी सम्बन्धलाई बलियो बनाउँछ ।
आज भने तीजका गीतले नयाँ बाटो समातेका छन्, नयाँ गोरेटोसमेत कोरिरहेका छन् । सन्देशमूलक, रचनात्मक र चेतनामूलक गीतले समाजका विकृति र विसंगतिप्रति तीखो प्रहार गर्छन् । आजका प्रगतिशील गीतले बहुविवाह, बालविवाह, अनमेल विवाह, जातीय विभेद, छुवाछुत, उच-नीच, पानी नचल्ने प्रथाजस्ता समस्यालाई प्रहार गर्छन् । त्यसरी नै लैङ्गिक असमानता, गरिबी, अशिक्षा, अज्ञानताजस्ता समस्यालाई प्रश्न गर्ने र सुधारको माग गर्ने गीतले तीजलाई सामाजिक सचेतना फैलाउने माध्यम बनाएका छन् ।
त्यस्तै, अन्तरजातीय विवाह, महिला-पुरुष समानता, शिक्षा र सामाजिक न्यायको पक्षमा आवाज बुलन्द गर्छन् । आजको नयाँ पुस्ताले गाउने तीजका गीतका धुन सन्देशमूलक र चेतनामूलक छन् । आजका प्रगतिशील जनवादी तिज गीतले समाजमा नविन चेतनाको दियो बाल्ने काम पनि गरेका छन् ।
तीज समाजलाई जोड्ने कडी पनि हो । यो पर्व आज दिदीबहिनीबीचको सम्बन्ध सुदृढ गर्ने अवसर बनेको छ । गाउँ, शहर वा प्रवासमा रहेका दिदीबहिनी र आफन्तबीच भेटघाट हुने, नयाँ सम्बन्ध गाँसिने, माया-प्रेम र आत्मीयता बलियो हुने अवसर तीजले दिन्छ । तीजमा महिलाले आफ्नो व्यस्त जीवनलाई केही समय थाति राखेर सामूहिक खुशी बाँड्ने अवसर पाउँछन् । यसरी तीज सामाजिक बन्धन र सहअस्तित्वलाई मजबुत बनाउने पर्व बनेको छ ।
तीज आज केवल धार्मिक व्रत नभई मनोरञ्जन र रमाइलोको पर्व पनि हो । तीजको दिन र त्यस अघिका केही दिन महिला वर्षभरीको तनावलाई केही समय विसाएर वा बिर्सेर ‘दर’ खाने तथा नृत्य, गीत र समूहगत रमाइलोमा सहभागी हुन्छन् । रमाइलोका यी गतिविधिले महिला मात्रै होइन, समाजमा सामूहिक खुशी र एकताका भावना जगाउने काम पनि गर्छन् ।
तीजलाई विशेष गरी दिदीबहिनीको मिलन पर्वका रूपमा पनि लिइन्छ । वर्षभरि आ-आफ्नो परिवार र दैनिकीमा व्यस्त महिलाले यो अवसरमा भेटघाट गर्छन् । आफ्ना खुसी, पीडा र अनुभव साटासाट गर्छन् । यसरी तीजले महिला-महिलाबीचको सम्बन्ध र ऐक्यबद्धतालाई थप गाढा बनाउँछ ।
तर, तीजमा हुने फजुल खर्च, महँगो गहना, भव्य भोज भतेर, प्रदर्शनवादले फेरि नयाँ विकृति जन्माएको छ । विवाह, व्रतबन्ध, दशैँ-तिहार जस्तै पर्वमा हुने खर्च विर्साउने प्रवृत्ति तीजमा पनि देखिन थालेको छ । यो प्रवृत्तिले तीजको मौलिकता ओझेलमा पार्ने खतरा बढाएको छ ।
तीजले महिलाको आवाजलाई उठाए पनि नयाँ विकृति थपेको छ । त्यसैले तीजलाई तडक भडक, खर्चिलो, भड्किलो बनाउने होइन, गरिबले पनि मनाउन सक्ने किफायती बनाउन जरुरी छ । रथका दुई पांग्राजस्तै महिला-पुरुषको समान सहभागिता, सम्मान र बराबरीको भावनासहित तीज मनाउनुपर्ने आवश्यकता छ ।
आजको युगमा तीजलाई केबल पतिप्रति समर्पित धार्मिक व्रत नभई सामाजिक चेतना फैलाउने रचनात्मक पर्वका रूपमा रूपान्तरण गर्नुपर्छ । यसले महिलाको पीडामात्रै नभई उनीहरूको शक्ति, क्षमता र सामाजिक नेतृत्वलाई पनि अभिव्यक्त गर्नुपर्छ ।
त्यसैले, नयाँ पुस्ताले तीजलाई नयाँ तरिकाले मनाउँदैछ, गीत, नृत्य र सभा सम्मेलनमार्फत सामाजिक विकृतिलाई प्रहार गर्दै चेतना फैलाउने, समानता र समावेशी समाज निर्माण गर्ने आकांक्षासहित । यसरी तीज महिलामैत्री रचनात्मक पर्वका रूपमा स्थापित हुँदै गएको छ, जसले नयाँ युगमा नयाँ ऊर्जा, सकारात्मक परिवर्तन र सामाजिक रूपान्तरणको सन्देश दिन्छ ।
तीज केवल धार्मिक व्रत वा परम्परागत संस्कारमा मात्रै सीमित पर्व होइन, यो महिलाको चेतना, रचनात्मकता र समानताको आवाज बन्न पुगेको छ । इतिहासमा पतिप्रति समर्पण र पीडाको अभिव्यक्तिको रूपमा अंकित यो पर्व आज महिला-पुरुषबीचको बराबरी, सामाजिक न्याय र सकारात्मक परिवर्तनको प्रतीक बन्दै गएको छ ।
त्यसरी नै यो हिन्दू नारीको महान पर्वको रूपमा जसरी परिभाषित गरिँदै आएको छ, यो धारणालाई पनि परिवर्तन गरी सम्पुर्ण जाती, भाषा, वर्ग, धर्म, समुदायका महिलाको साझा पर्वका रूपमा मनाउने प्रचलनलाई प्रोत्साहित गरिनु पर्दछ ।
तीज धर्म संस्कृतिसँग जोडिएको भए पनि यसको व्यवहारिक अभ्यासमा समय-समयमा विकृति देखिएका छन् । पहिलेका गीतमा पति पूजकता, सासू-बुहारीबीचका कटुता, मनोमालिन्य, महिलाको पीडा, महिला हिंसा, घरेलु पीडा, अनमेल विवाह तथा दाइजोको समस्या पोख्ने चलन थियो ।
नयाँ पुस्ताले तीजलाई रमाइलो मात्र नभई सन्देशमूलक रचनात्मक पर्वको रूपमा मनाउन थालेका छन्, जसले समाजका विकृति विरुद्ध प्रहार गर्छ र समानता, माया-प्रेम र आपसी सम्बन्धलाई बलियो बनाउँछ ।
नयाँ पुस्ताले तीजलाई केवल धार्मिक व्रत वा परम्परामा सीमित नगरी रचनात्मक, महिलामैत्री र समानतामूलक पर्वको रूपमा अंगिकार गर्न थालेका छन् । उनीहरूले तीजलाई शिक्षा, समानता, महिला अधिकार, सामाजिक न्याय र समावेशी समाज निर्माणतर्फको आवाज बनाएका छन् । आजको तीज भनेको केवल पतिप्रति समर्पण नभई महिला–पुरुषको समान सहभागिता, अधिकार र अवसरमा आधारित नयाँ युगको पर्व हो ।
तीज अब केवल परम्परागत धर्म-संस्कारमा सीमित छैन, यो सामाजिक चेतना, महिला सशक्तिकरण र रचनात्मक अभिव्यक्तिको पर्व बनेको छ । यसले महिलाको पीडामात्र होइन, उनीहरूको शक्ति, नेतृत्व र क्षमतालाई पनि उजागर गर्न थालेको छ ।
यसैले, तीजलाई महिला-पुरुष दुवैको बराबरी सहभागिता, आपसी सम्मान र समान अवसरका साथ मनाउन आवश्यक छ । नयाँ पुस्ताले गीत, नृत्य र सभा सम्मेलनमार्फत सामाजिक विकृतिविरुद्ध प्रहार गर्दै, समानता, समावेशी र समृद्ध समाज निर्माण गर्ने आकांक्षासहित यसलाई नयाँ युगको महिलामैत्री रचनात्मक पर्वको रूपमा स्थापित गर्नु आजको आवश्यकता हो ।
समयसँगै तीज केबल धार्मिक आस्था र पतिको पूजामा मात्र सीमित नभई समाजको ऐना र चेतनाको दियो बन्दै गएको छ । त्यसैले तीजलाई महिलामैत्री, रचनात्मक र चेतनामूलक पर्वका रूपमा रूपान्तरण गर्नु आजको युगको आवश्यकता हो, जसले नयाँ पुस्तालाई आशा, ऊर्जा र समतामुलक समाज निर्माणको उज्यालो बाटो देखाउनेछ ।
(लेखक राष्ट्रिय युवा परिषद सदस्य तथा एमालेसम्वद्ध अनेरास्ववियुकी केन्द्रीय सचिवालय सदस्य हुन् ।)

Leave a Reply