अब लघुवित्तहरूले २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउने

काठमाडौं । अब लघुवित्त वित्तीय संस्थाहरूले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो ।

संशोधित व्यवस्था अनुसार अब लघुवित्तहरूले २५ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्नेछन् । यसअघि लघुवित्तहरूले १५ प्रतिशतसम्म मात्रै लाभांश वितरण गर्न पाउने व्यवस्था थियो ।

लघुवित्त संस्थाहरूले लाभांश घोषणा/वितरण गर्दा लाभांश वितरण पछिको पुँजीकोष अनुपात तथा पछिल्लो असार मसान्तको निष्क्रिय कर्जा अनुपातलाई आधार मानी राष्ट्र बैंकको शर्तको सीमाभित्र रही लाभांश वितरणको प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ ।

जस अनुसार ५ प्रतिशतभन्दा कम निष्क्रिय कर्जा अनुपात भएका लघुवित्तको लाभांश वितरणपछि पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा माथि भएमा २५ प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशत पुँजी कोषसम्म भएमा २० प्रतिशत, ८ प्रतिशतदेखि १० प्रतिशतसम्म पुँजी कोष अनुपात भएमा १५ प्रतिशत लाभांश वितरण गर्न पाउने छन् ।

यस्तै, ५ प्रतिशतदेखि १० प्रतिशतसम्म निष्क्रिय कर्जा भएका लघुवित्तको लाभांश वितरण पछिको पुँजी कोष अनुपात १२ प्रतिशतभन्दा बढी भएमा २० प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशतसम्म १५ प्रतिशत र ८ प्रतिशतदेखि १० प्रतिशत भएमा १० प्रतिशत लाभांश वितरण गर्न पाउनेछन् ।

राष्ट्र बैंकका अनुसार १० प्रतिशतदेखि १५ प्रतिशतसम्म निष्क्रिय कर्जा भएको लघुवित्तको लाभांश वितरण पछिको पुँजीकोष अनुपात १२ प्रतिशतमाथि भएमा १५ प्रतिशत, १० प्रतिशतदेखि १२ प्रतिशतसम्म भएकाहरूले १० प्रतिशत र ८ देखि १० प्रतिशत भएका लघुवित्तको हकमा ५ प्रतिशत लाभांश वितरण गर्न पाउने राष्ट्र बैंकले जनाएको छ ।

तर, पुँजीकोष र निष्क्रिय कर्जाबाहेक अन्य आधार समेत लिनुपर्ने देखिएमा यस बैंकले तोकिएको सीमाभन्दा कम हुने गरी लाभांश स्वीकृति प्रदान गर्न सक्नेछ । लघुवित्त वित्तीय संस्थाले नगद लाभांश वितरणको प्रस्ताव गर्नुपरेमा न्यूनतम ९ प्रतिशत पुँजीकोष अनुपात कायम गर्नुपर्नेछ ।

साथै १५ प्रतिशतभन्दा बढी निष्क्रिय कर्जा अनुपात भएका लघुवित्त वित्तीय संस्थाहरूले लाभांश वितरण गर्न सक्ने छैनन् । लघुवित्त वित्तीय संस्थाको हकमा बोनस शेयर प्रदान गर्न कर प्रयोजनका लागि बाहेक नगद लाभांश वितरण प्रस्ताव गर्न पाइने छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *