रुबीलाई भारत लगेर हत्या गरिएको आशंका, सुटकेशभित्र शव देख्दा प्रहरी नै आत्तिए !

काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा अनुसन्धानको सुई भारततिर सोझिएको छ । भारतमा हत्या गरेर शव सुटकेशमा कोची नेपाल पठाइएको आशंका प्रहरीले गरेको हो ।

शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट गौर बजार गएकी रुबी बेपत्ता भएकी थिइन् । आज बिहान सुटेकशमा प्याक गरेर फालेको अवस्थामा उनको शव गौर नगरपालिका ९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा भेटियो ।

प्रहरीका अनुसार स्थानीयले हिजो राति १० बजे नै बेलबिछुवाको प्रहरी चौकीमा फोन गरेर डोरीले बाँधिएको अवस्थामा सुटकेस फेला परेको सूचना दिएका थिए । सूचना पाए लगत्तै पुगेको प्रहरीले रातभरी उक्त शंकास्पद सुटकेशलाई पहरा दिएर बसिरह्यो । बिहान सुटकेस खानतलासी गर्दा शवलाई लुगाजसरी पट्याएर कोचिएको अवस्थामा फेला पर्‍यो ।

रौतहट प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीका अनुसार शरीरमा बाहिर चोट देखिँदैन । नाकमा मात्रै थोरै रगत बगेजस्तो अवस्थामा हातखुट्टा खुम्च्याएर प्याक गरिएको उनले जानकारी दिए । सुटकेश भित्र युवतीको शव देख्दा प्रहरी नै आत्तिएका थिए ।

रूबीको विवाह भारतमा भएको थियो । उनी ४ वर्षीय छोरा पढाउन माधवपट्टीमा डेरा गरेर बस्दै आएकी थिइन् । उनले शनिबार बेलुकी ६ बजे आमालाई फोन गरेर बजारबाट केही सामान ल्याउनुपर्ने छ ? भनेर सोधेकी थिइन् । तर, आमाले केही ल्याउन नपर्ने जवाफ दिइन् ।

रुबीको डेराबाट गौर बजार करिब १ किलोमिटरको दूरीमा छ भने शव भेटिएको स्थान डेराबाट ५ किलोमिटर टाढा छ । शव फेला परेको स्थानबाट अरू ५ किलोमिटरको दूरीमा नेपाल-भारत सीमा पर्छ । रूबीलाई गौरबाट अपहरण गरेर भारतमा लगी हत्यापश्चात शव नेपाल ल्याएर फालेको आशंका प्रहरीले प्रारम्भिक अनुसन्धानमा गरेको छ ।

रुबीको मोबाइल भेटिएको छैन । हत्यारा पेशेवर हुनसक्ने प्रहरीको विश्लेषण छ । डिएसपी कार्कीका अनुसार उनको मोबाइलको अन्तिम लोकेशन गौर बजार आसपास देखाएको छ । त्यसपछि मोबाइल अफ देखिन्छ ।

प्रहरीले सीमावर्ती क्षेत्रका अपराधिक व्यक्तिहरूको पहिचानका लागि भारतीय प्रहरीसँग समन्वय गरिरहेको प्रहरी स्रोतले जानकारी दियो । अर्को देशमा भएको घटनामा अनुसन्धान गर्न असहज हुने र हत्यारा पत्ता लाग्न कठिन हुने भएकाले अपराधीले भारतमा लगेर हत्या गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।

शव फेला परेपछि रूबीका श्रीमान भारतबाट नेपाल आएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *