जनै हराएको मान्छे: मनै रूझाउने चलचित्र

धार्मिक आस्थासँग जोडिएको पवित्र धागो हो, जनै । जनै धारण गरेपश्चात् हरेक पुरुषले निश्चित नीति-नियम र आचारसंहिताभित्र बस्नुपर्ने हिन्दु धर्मशास्त्रमा वर्णित छ । व्रतबन्धपछि कुनै कारणवश जनै चुँडियो वा हरायो भने पुनः अर्को धारण नगर्दासम्म बोल्नु हुँदैन भन्ने धार्मिक मान्यतालाई अग्रजहरूले अनुसरण गर्दै आएका छन् । यही मान्यताको जगमा एउटा घतलाग्दो चलचित्रको निर्माण भएको छ, जसको नाम हो `जनै हराएको मान्छे´ ।

सुरुमा यसको नाम ‘जनै हराएको बाहुन’ थियो । पछि कन्ट्राेभर्सी निम्तिन सक्ने भयले गर्दा मेकर्सले ‘बाहुन’लाई ‘मान्छे’ बनाइदिएका हुन् । तर, ‘जनै हराएको मान्छे’ भन्दा ‘जनै हराएको बाहुन’ शीर्षक नै बढी सान्दर्भिक थियो, किनभने सबै मान्छेले जनै लगाउँदैनन् । युवा पुस्तामा त बाहुनले नै लगाउन छोडिसके । खैर, शीर्षकमा धेरै गलफती नगरौँ ।

सर्व कालीन ब्लकबस्टर ‘पूर्णबहादुरको सारङ्गी’पछि विजय बरालले लिड रोल निभाएको चलचित्रका रूपमा ‘जनै हराएको मान्छे’ ले एक किसिमको हाइप बनाएको थियो । ‘पूर्णबहादुरको सारङ्गी’बाट पूर्ण क्रेडिट लिएका विजयसामु फेरि एक पटक सिङ्गो चलचित्रको भार थाम्नुपर्ने चुनौती आइलागेको छ ।

यदि ‘जनै हराएको मान्छे’ पनि हिट भएको खण्डमा नेपाली चलचित्र उद्योगमा विजयको विजय यात्रालाई कसैले रोक्न सक्ने छैन । उनी नेपाली चलचित्र उद्योगकै एक बलिया खम्बाको रूपमा स्थापित हुन सक्ने छन् । तर फिल्म चलेन भने सबैभन्दा ठुलो धक्का पनि उनलाई नै लाग्ने निश्चित छ ।

‘पूर्णबहादुरको सारङ्गी’जस्तै जनै हराएको मान्छेको मूल कथा पनि बाबुछोराकै सम्बन्धमा उनिएको छ । ‘पूर्णबहादुरको सारङ्गी’मा विजय बाबु थिए भने यसमा छोराको भूमिकामा छन् । दुवै चलचित्रले कारुणिक धार नै समातेका छन् । तर कथावस्तु र प्रस्तुतीकरणको दृष्टिकोणले यी दुई चलचित्रमा धेरै समानता छैन । ‘पूर्णबहादुरको सारङ्गी’लाई बिर्साउने गरी ‘जनै हराएको मान्छे’ हरेक हिसाबले उत्कृष्ट छ । दर्शकको आँखामा आँसु ल्याउने मात्र होइन मन र मथिङ्गल हल्लाउने सामर्थ्य यस चलचित्रले राख्छ। नढाँटी भन्नुपर्दा ‘पूर्णबहादुरको सारङ्गी’भन्दा ‘जनै हराएको मान्छे’ले हृदयलाई अझ बढी स्पर्श गर्छ ।

हुन त नेपालमा पछिल्लो समय चलचित्र हिट बनाउन दर्शक रुवाउनैपर्छ भन्ने खालको भाष्य जबरजस्तरुपमा स्थापित बनिरहेको छ । ‘पूर्णबहादुरको सारङ्गी’ पछि अधिकांश मेकर्सहरु सिनेमाघरभित्र आँसुको भेल बगाउने होडबाजीमा छन् ।

‘जनै हराएको मान्छे’ले पनि त्यो ध्येय राखेको छैन भन्न मिल्दैन। चलचित्रमा दर्शकले आँशु थाम्न मुस्किल पर्ने थुप्रै दृश्यहरू धेरै छन् । तर चलचित्रमा फगत आँशु वा दुख मात्र चाहिँ छैन । सुख, दुख, हाँसो, आँसुको काेलाज छ । यस्तो किन भयो, कसरी भयो भन्ने खालका सवालहरूले दिमागलाई हिर्काइरहेका हुन्छन् । चलचित्र हेरेको घण्टौँसम्म पनि यसका दृश्यहरू मानसपटलमा घुमिरहन्छन् । पात्रहरूले पछ्याइरहन्छन् । कुनै पनि चलचित्रका लागि सबैभन्दा ठूलो सफलता नै यही हो ।

अब अलिकति कथावस्तुमा जाऊँ ।
ब्राह्मण परिवारमा जन्मिएको एउटा सिधासाधा गाउँले युवक सितारामको कथा हो यो, जुन भूमिका विजय बरालले निभाएका छन् । बाल्यावस्थामै मातृ वियोगमा परेपछि सितारामलाई उनका पुरोहित बुवाले हुर्काउँछन् । युवा वयमा प्रवेश गरेसँगै सिताराम एक थान सपना बोकेर काठमाडौं छिर्छ– कोरिया गएर पैसा कमाउने ।

गाउँकै एक युवकसँग इख लिएर ६ महिनाभित्र कोरिया टेक्ने अठोटसहित काठमाडौं आउँछ सिताराम । सितारामभन्दा पहिल्यै उसकी दिदी गीता (केकी अधिकारी) कथित तल्लो जातका युवकसँग भागी विवाह गर्दै यही खाल्डोमा भासिएकी थिइन् । रूढिवादी चिन्तनबाट ग्रस्त बाबुले विवाह स्वीकार नगरेपछि गीता काठमाडौंमा श्रीमानसँग बसेर जसोतसो गुजारा गरिरहेकी छिन् ।

सिताराम भने काठमाडौं आएपछि एकपछि अर्को लफडा र झमेलामा फसिरहन्छ । केही समय दिदी–भिनाजुकहाँ बस्छ । तर भिनाजुसँग झगडा परेपछि निस्किएर हिँड्छ । यहीबीच चोरहरूसँगको एउटा मुठभेडमा उसको जनै चुँडिन्छ र खोलाले बगाउँछ ।

सितारामलाई बाल्यकालमा व्रतबन्धपछि उसकी आमाले भनेकी थिइन्– यदि जनै हरायो वा चुँडियो भने अर्को नलगाउँदासम्म बोल्नु हुँदैन, अन्यथा ठूलो अनिष्ट हुन्छ । एक पटक विद्यालयमा खेल्दै गर्दा उसको जनै चुँडियो । तर, उसले आमाले भनेअनुसार नबोलि बस्न सकेन । त्यस लगत्तै आमाको निधन भयो । उक्त घटनापछि सितारामलाई मनमा बलियोसँग गढेको छ कि जनै नलगाएको बेला बोल्यो भने साँच्चिकै ठूलो अनिष्ट हुने रहेछ ।

काठमाडौंमा जनै हराएसँगै सिताराम एउटा गुन्डा ग्याङको जालोभित्र पर्छ । त्यसबाट बाहिर निस्किन गरेको रोचक सङ्घर्षले फिल्मलाई अघि बढाएको छ । यहाँबाट बढी कथा नखोलौँ । सितारामसँग उसको बाबुको फेरि भेट हुन्छ या हुँदैन, दिदी भाइको सम्बन्धले कुन रूप लिन्छ, अन्तरजातीय बिहे गरेकी छोरीलाई तिरस्कार गरेका बाबुको मन कसरी फिर्छ ? सिताराम कोरिया जान पाउँछ कि पाउँदैन ? यी प्रश्नहरूको उत्तर खोज्न चाहिँ तपाईँ हलसम्मै जानुपर्ने हुन्छ ।

चलचित्रको सुरुवात त्यति दमदार छैन । पहिलो २०–२५ मिनेट परम्परागत र सुस्त छ । सिताराम काठमाडौं गएपछि कथाले बिस्तारै गति लिन्छ । ज्वरो नाप्दा थर्मामिटरमा पारो चढे जसरी चलचित्रमा मनोरञ्जनको पारो चढ्दै गएको छ ।

सितारामले भिनाजुसित मिलेर सडकमा जादु देखाएको दृश्य औधी मनोरञ्जक छ । यसलाई निर्देशकले निकै रोचक अनि यथार्थपरकरुपमा प्रस्तुत गर्न सफल भएका छन् । यहाँबाट चलचित्रमा फरकपनको आभास हुन थाल्छ ।

मध्यान्तरपछि चलचित्र अनवरतरुपमा उत्कृष्ट छ । दर्शकले सोच्दै नसोचेको दिशामा चलचित्र अगाडि बढ्छ । कल्पनै नगरेका ट्विस्टहरु आउँछन् । दर्शकको शरीरमा `गुजबम्प्स´ आउने आँखाबाट थाहै नपाई आँशु खस्ने धेरै दृश्यहरू छन् । मनलाई शीतलता दिने र हाँसो फुत्काउने क्षणहरू पनि छन् ।

चलचित्रमा के छैन त भन्दा हिंसा र मारकाट छैन । नायक–नायिकाबीचको रोमान्स अनि चुम्माचाटि छैन । खासमा नायक-नायिका नै छैनन् । केवल ‘क्यारेक्टर’हरु छन् ।

चलचित्रको ‘क्लाइमेक्स’ अत्यन्तै शक्तिशाली छ । नेपाली चलचित्रमा आमरुपमा देखिने समस्या भनेको कमजोर क्लाइमेक्स हो । उत्कृष्ट बन्न सक्ने धेरै चलचित्रहरू क्लाइमेक्समै चिप्लिएका छन् । तर, ‘जनै हराएको मान्छे’लाई भने क्लाइमेक्सले नै कालजयी बनाएको छ भन्दा फरक नपर्ला । यसका लागि लेखक र निर्देशक बधाई का पात्र छन् ।

यो चलचित्रको हिरो भनेको वास्तवमा लेखक भानुभक्त ढकाल हुन् । यति मौलिक र रोमाञ्चकारी कथा–पटकथाका लागि उनलाई साधुवाद दिनैपर्छ । संवादमा भने उनको मिहिनेत अलि पुगेन । कथा–पटकथालाई संवादले राम्ररी न्याय गर्न नसकेको प्रतीत हुन्छ । पञ्चलाइनहरुको कमि छ । संवादमा एक राउन्ड अझै काम गर्नु आवश्यक थियो ।

चलचित्रका निर्देशक हिमाल न्यौपानेको कामको तारिफ नगरिरहन सकिन्न । डेब्यु निर्देशनमै उनले एउटा मास्टर पिस दिएका छन् । पहिलो प्रयासमा नै यो स्तरको चलचित्र बनाउने निर्देशकबाट भविष्यका लागि धेरै आशा गर्न सकिन्छ ।

अब चर्चा गरौँ कलाकारको अभिनयको । चरित्रका हिसाबले `जनै हराएको मान्छे´ पूर्णरुपमा विजय बरालको चलचित्र हो भन्दा हुन्छ । पुरै चलचित्र उनको सेरोफेरोमा घुमेको छ । केही अघिसम्म ‘हिरोको चम्चा’ मै सीमित रहेका कलाकारले अहिले यत्ति बलियो र एकछत्र भूमिका पाउनु भनेको विजय बरालको करिअरमा विशाल फड्को हो । उनको आफ्नो चरित्रलाई अभिनयबाट पक्कै न्याय गरेका छन् ।

यद्यपि, उनको अभिनयमा नयाँपनको अभाव भने खट्किन्छ । पूर्णबहादुरको सारङ्गी र जनै हराएको मान्छेमा उनको अभिनय उस्तै–उस्तै लाग्छ । दर्शकले रुचाउँदै आएका विजय बरालको फिल्मी क्यारेक्टरमा सबैभन्दा बलियो पाटो भनेको उनको हास्य भङ्गिमा´ हो । तर, पूर्णबहादुरको सारङ्गी र जनै हराएको मान्छेमा भने बराल पुरापुर गम्भीर भूमिकामा देखिए, जसले गर्दा अलिकति अलिनो महसुस हुन्छ । अब मेकर्सहरुले उनलाई लिड रोलमै लिँदा पनि उनको चरित्रलाई हल्का कमेडी टच दिए हुने हो ।

चलचित्रमा केकी अधिकारीको भूमिका धेरै लामो नभए पनि सशक्त छ, उनले त्यसमा गहिरो छाप छोडेकी छन् । विजय बरालको दिदीको भूमिकामा देखिएकी उनी आफ्नो क्यारेक्टरमा यसरी डुबेकी छन्, जसरी इनारको पानीमा बाल्टी डुब्छ । केकीले आफ्नो नायिका छविबाट बाहिर निस्किएर सहजतापूर्वक आफूलाई ‘अभिनेत्री’ मा ढालेकी छन् । उनको करिअरमा एक यादगार चलचित्र यो पनि हुने छ ।

गौरव पहरीले जादुगरको भूमिका निभाएका छन् । यो उनको लागि फरक र चुनौतीपूर्ण भूमिका थियो । पहरीले सक्दो प्रयास गरेका छन् । मिरुना मगरको भूमिका प्रभावशाली छ भने अभिनय ठिकठाक छ । भोलाराज सापकोटा औसत छन् । सुशांक मैनाली, रियर राई, कविता आलेलगायत अन्य कलाकारहरूले आफ्नो भूमिकामा न्याय गरेका छन् ।

प्राविधिक पक्षहरूमा ठ्याक्कै औँला उठाउने ठाउँ छैन । पाश्र्वध्वनीलाई अझै कर्णप्रिय बनाउन सकिन्थ्यो । चलचित्रमा गीत–सङ्गीतलाई त्यति स्पेस दिइएको छैन । विजय बराल, गौरव पहारी, केकी अधिकारी र मिरुना मगरलाई फिचर्ड गरिएको ‘मसुरीको दाना’ बोलको गीत युट्युबमा मात्र छ, चलचित्रमा छैन । थानेश्वर गौतमले गाएको ‘आधा आधि सपना’ ले मात्र चलचित्रमा अ समावेश गरिएन ।

चलचित्रमा एकाध कमीकमजोरी पनि छन् गरौँ । माथि पनि चर्चा गरियो सुरुवात अलि फितलो छ । दिदी भाइको केमेस्ट्रीलाई सुरुमा राम्रोसँग स्थापित गराइएन, जसले गर्दा पछि उनीहरूको भेट हुँदा दर्शक आवश्यक मात्रामा कनेक्ट हुँदैनन् । बाबु–छोराकै सम्बन्धलाई पनि बलियोसँग उनिएको छैन । भावुकतालाई आवश्यकताभन्दा बढी जोड दिइनु पनि कमजोरी नै हो ।

अहिलेको जमानामा एउटा युवक शरीरमा जनै नभएकै कारण लामो समय नबोली बस्नु र ठूलै लफडामा पर्दा पनि मुख नखोल्नु पत्यारिलो लाग्दैन । यद्यपि, लेखकले यसलाई `जस्टिफाइ´ गर्ने भरपुर कोशिष गरेका छन् । एउटा मनोरञ्जनात्मक चलचित्रमा यत्तिसम्म अतिरञ्जना स्वीकार्न सकिन्छ । तर जनै लगाइसकेपछि पनि नबाेल्नुकाे चित्तबुझ्दो कारण दर्शकले पाउँदैनन् ।

कथाको केन्द्रमा छ जनै । धार्मिक आस्था जोडिएको चिजलाई शीर्षकमै जोडेर चलचित्र बनाउनु संवेदनशील थियो । यस्तोमा थोरै पनि चुक गरेको खण्डमा कन्ट्रोभर्सी निम्तिनसक्ने जोखिम हुन्छ । यो चलचित्रले जनैलाई केवल कथा बुन्ने धागोका रूपमा प्रयोग गरेको छ । यसमा कुनै पनि स्पष्ट सन्देश बोकिएको छैन । चलचित्रमा लेखक–निर्देशकले जनैको न पक्षपोषण गरेका छन् न विरोध । त्यसैले कन्ट्रोभर्सीको खतरा रहेन ।

चलचित्रले बाबुछोराको मात्र होइन, बाबु र छोरीको सम्बन्धलाई पनि मिठोसँग चित्रण गरेको छ । लामो समयदेखि टाढिएकी छोरी श्रीमानसहित अस्पतालमा बुवालाई भेट्न आएको दृश्य निकै मर्मस्पर्शी छ । त्यहाँ निर्देशकले पात्रहरूलाई रोनाधोना पनि गराउन सक्थे, तर गराएनन् । बाबुले छोरीलाई माफ गरिदिएको देखाउन कुनै संवाद र शारीरिक हाउभाउको प्रयोग गरिएको छैन, केवल छोरीले छोडेर गएको स्वेटर बुवाले लगाएको देखाएर प्रतिकात्मकरुपमा पेश गरिएको छ । यस्ता सन्दर्भ धेरै छन् ।

समग्रमा जनै हराएको मान्छे सिङ्गो इन्डष्ट्रीले गर्व गर्न लायक एउटा मनमोहक चलचित्र हो । यत्तिको चलचित्रलाई दर्शकले प्रोत्साहन गर्नै पर्छ ।

 

Comments

One response to “जनै हराएको मान्छे: मनै रूझाउने चलचित्र”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    कथा धेरै नभनौ है भन्दाभन्दै पनि लेखकले अन्तिममा केही कुरा खोल्दिहालेका छन् हौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *