यूएईका जेलमा ४७३ जना नेपाली, लागूऔषध र जाँडरक्सी मुख्य समस्या

यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) का विभिन्न जेलहरूमा हाल ४७३ जना नेपाली कैदीबन्दी रहेका छन् । यो संख्या हालसम्मकै बढी हो । जेलमा परेका कतिपय नेपालीले समय समयमा आममाफी पाएर स्वदेश फर्किने गरेको र जेलमै रहेका नेपाली नागरिकको सहयोगका लागि दूतावासले कानुनी सहायता प्रदान गर्न कानुनी सहयोगी नियुक्ति प्रक्रिया सुरु गरिसकिएको र नियुक्तिपछि कानुनी सहयोग गर्न थप सहज हुने यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले बताए ।

दूतावासका अनुसार कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । त्यस्तै, जाँड,रक्सी सेवन, घरेलु विवाद, अवैध बसोबास, आर्थिक लेनदेन तथा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा पनि नेपालीहरू जेल जीवन बिताइरहेका छन् । यसरी जेल पर्नेमा ३६ जना महिला र ४ सय ३७ जना पुरुष छन्।

यूएईका विभिन्न जेलमा रहेका नेपालीको अवस्था र उनीहरूलाई प्रदान गर्न सकिने कानुनी सहजीकरणका लागि भन्दै नेपाली दूतावास आबुधावी हालै यहाँका सातैवटा राज्यका विभिन्न जेलसम्म पुग्ने अभियान सुरु गरेको र हाल सम्म विभिन्न ३ वटा जेल भ्रमण गरिसकिएको दूतावासकी प्रवक्ता तथा उपनियोग प्रमुख रन्जिता दाहालले बताइन।

दूतावासका अनुसार दुबईका विभिन्न चौकी तथा सुधार गृहमा सबै भन्दा धेरै १९ महिला र २७० जना पुरुष कैदी जीवन बिताई रहेका छन् भने दुबईकै सेन्टरजेल अल अबिरमा १ महिला सहित ४५ जना नेपाली नागरिक छन्। त्यस्तै आबुधावी सेन्टर जेलमा ६ महिला सहित ६१ पुरुष, अलऐनमा १ महिला र ३ जना पुरुष तथा आबुधाबीकै जेलको केयर सेन्टरमा १ महिला र सुधार गृहमा ५ जना पुरुष जेल जीवन बिताई रहेका छन्।

त्यस्तै यूएईको सारजाह जेलमा ७ जना महिला सहित १६ जना पुरुष , रसअलखेमा राज्यमा रहेको जेलमा १ जना महिला सहित १५ पुरुष , अजमानमा रहेको जेलमा ७ जना पुरुष कैदी जीवन बिताइरहेका छन् । त्यस्तै सबै भन्दा थोरै नेपाली कार्यरत रहेको मानिने उम्मलक्वीन राज्यको जेलमा ६ जना पुरुष जेलमा छन्।

त्यस्तै फुजेराहमा रहेको जेलमा ९ जना नेपाली पुरुषले कैदी जीवन बिताइरहेको नेपाली दूतावास अवुधावीले जनाएको छ ।

लागूऔषध तथा जाँडरक्सीका कारण सबै भन्दा धेरै

कैदी बनेका नेपालीमध्ये सबैभन्दा धेरै लागूऔषध सेवन तथा ओसारपसार सम्बन्धी मुद्दामा पक्राउ परेका छन् । यूएईमा लागूऔषध सम्बन्धी कानुन अत्यन्त कडा छ । सानो मात्रामा समेत सेवन वा ओसारपोसारको अभियोग लागेमा लामो जेल सजाय भोग्नु पर्ने हुन्छ । त्यस्तै, सार्वजनिक स्थानमा मदिरा सेवन गर्ने वा अनुमति बिना मदिरा बेचबिखन गर्ने , जाँड रक्सी खाएर एक आपसमा झै झगडा गर्ने , कुटपिटमा संलग्न हुने धेरै नेपाली यसरी जेल पर्न पुगेका दूतावासले जनाएको छ ।

नेपाली दूतावास अबुधाबीले बारम्बार सूचना जारी गर्दै यूएईमा बसोबास गर्ने नेपालीलाई कानुन पालना गर्न आग्रह गर्दै आएको छ। सामाजिक संघसस्थाले यस सम्बन्धी सचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । यद्यपि जानकारीको कमी, आर्थिक तथा सामाजिक दबाब र अन्य कारणले कतिपय नेपाली अपराधमा संलग्न हुने वा फस्ने गरेका छन् ।

पछिल्लो समय आर्थिक प्रलोभनमा परी आफ्नो इमिरेट्स आइडि अर्कैलाई दिएर बैंक बाट ऋण लिने , आफ्नो खातामा अवैध रकम भित्राउने , विभिन्न अनलाइन अवैधानिक आर्थिक गतिविधिमा संलग्न हुने , टेलिग्राम जस्ता माध्यम मार्फत अवैधानिक आर्थिक कारोबार गरेको आरोपमा पनि कतिपय नेपाली जेल जीवन बिताइ रहेका छन् ।

दूतावासले जेलमा रहेका नेपालीलाई नियमित भेटघाट गर्दै आवश्यक कानुनी सहयोग उपलब्ध गराउने प्रयास गरिरहेको भए पनि कैदीहरूको संख्या बढ्नु चिन्ताजनक रहेको बताइएको छ ।

यसै सन्दर्भमा यहाँ सक्रिय विभिन्न सामाजिक संघसस्था तथा प्रवासी संगठनहरूले पनि यूएईमा रहेका नेपालीलाई सचेत रहन, अनुशासनमा बस्न र कुनै पनि अवैध क्रियाकलापमा नलाग्न अनुरोध गर्दै आएका छन्।

यूएईका विभिन्न जेलमा दूतावासका तर्फबाट उपनियोग प्रमुख दाहाल , दुबई स्थित महावाणिज्य दूतावासका उप महावाणिज्यदूत कृष्णप्रसाद चापागाईँ , श्रम सहचारी पंकज लाभ कर्ण, दूतावासका द्वितीय सचिव तिलबहादुर सुनार सहित स्थानीय जनसम्पर्क अधिकृतहरू दूतावासका प्रतिनिधिका रूपमा विभिन्न जेलमा पुगेको दूतावासले जनाएको छ ।

हाल सम्म यूएईका ३ वटा जेल भ्रमण गरिसकेको दूतावासले अन्य जेल पनि क्रमशः पुग्ने योजना बनाएको छ । साथै जेल भ्रमणमा त्यहाँ रहेका नेपाली सँग भेटघाट तथा कानुनी सहायता बारे स्थानीय प्रशासनका अधिकारीहरू सँग समन्वय भइरहेको दूतावासले जनाएको छ ।

Comments

One response to “यूएईका जेलमा ४७३ जना नेपाली, लागूऔषध र जाँडरक्सी मुख्य समस्या”

  1. ओम कुमारी खाँण Avatar

    आफुले श्रम गरिरहेको देशको नियमकानुन उल्लंघन गरि अपराध गर्नेहरुले सजायको भागिदार पनि हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *