कोशी व्याडमिन्टन संघको अधिवेशन विवादित, जिल्लादेखि केन्द्रसम्मले उठाए वैधानिकतामा प्रश्न

विराटनगर । कोशी प्रदेशमा गठन गरिएको ब्याडमिन्टन संघको तदर्थ समिति र त्यसको प्रथम अधिवेशनलाई लिएर विवाद चर्किएको छ।

प्रदेश खेलकुद विकास बोर्डको २०८२ असार १७ गतेको सदस्य-सचिवस्तरीय निर्णयअनुसार भोगेन्द्र थापाको संयोजकत्वमा १५ सदस्यीय कोशी प्रदेश ब्याडमिन्टन संघको तदर्थ समिति गठन गरी तीन महिनाभित्र पूर्ण अधिवेशन सम्पन्न गर्ने भनिएको थियो। सोहीअनुसार २०८२ भदौ ७ गते धनकुटाको हिलेमा अधिवेशन आयोजना गरिएको छ।

तर, सो अधिवेशनलाई अवैधानिक भन्दै जिल्ला ब्याडमिन्टन संघहरूले विरोध जनाएका छन्। उनीहरूले राष्ट्रिय खेलकुद ऐन, नेपाल ब्याडमिन्टन संघको विधान, कोशी प्रदेश खेलकुद विकास बोर्डको दर्ता, नवीकरण, सञ्चालान तथा व्यवस्थापन सम्बन्धी मार्गदर्शन २०८१ को दफा ५ को उपदफा १ र ४ विपरीत अधिवेशन हुन लागेको उल्लेख गरेका छन्।

यसैबीच, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले २०८२ श्रावण ९ गते एक जानकारी पत्र जारी गर्दै अधिवेशनको अवैधानिकता दोहोर्‍याएका छन्। उनका अनुसार २०८० कार्तिक १४ गते सम्पन्न निर्वाचनबाट चार वर्षका लागि नयाँ कार्यसमिति चयन भइसकेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले २०८१ चैत्र २९ गते अर्को तदर्थ समिति गठन गर्नु गैरकानुनी थियो।

उक्त तदर्थ समितिविरुद्ध नेपाल ब्याडमिन्टन संघले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको र मिति २०८२ जेष्ठ ७ गते अदालतले ‘तदर्थ समितिको निर्णय तत्काल कार्यान्वयन नगर्नू’  भनी अन्तरिम आदेश जारी गरिसकेको अध्यक्ष श्रेष्ठले जानकारी पत्रमार्फत स्पष्ट पारेका छन्।

‘अदालतको आदेश विपरीत कोशी प्रदेशमा तदर्थ समिति गठन गर्नु अदालतको अवहेलनासहित गैरकानुनी कदम हो,’ श्रेष्ठले भनेका छन्। उनले कोशी प्रदेश अन्तर्गतका जिल्ला ब्याडमिन्टन संघहरूलाई सो अधिवेशनमा सहभागी नहुन अनुरोध गरेका थिए।

नेपाल ब्याडमिन्टन संघले उच्च अदालत पाटनको आदेशको प्रतिलिपि समेत आफ्नो पत्रसँगै संलग्न गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *