उपत्यका प्रहरीकाे याेजना : ‘सुरक्षित काठमाडौं’ कार्यक्रम सुरु

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाको जनजीवनलाई सहज बनाउनका निम्ति ‘सुरक्षित काठमाडौं उपत्यका’ योजना अगाडि सारेको छ । त्रिवर्षीय योजनाका रुपमा प्रहरी प्रधान कार्यालयले उक्त योजना कार्यान्वनयनका निम्ति काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई स्वीकृति दिएको हो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त योजना सार्वजनिक गरिएको हो । योजना सार्वजनिक गर्दै उपत्यका प्रहरी प्रमुख एआईजी टेकबहादुर तामाङले पुरातन तथा परम्परागत जीवनशैलीबाट काठमाडौं उपत्यका आधुनिक जीवनचर्यामा प्रवेश गरेका कारण र सुरक्षाका चुनौतिहरु पनि फेरिएका कारण त्यस्तो योजना ल्याउनु परेको बताए ।

बाक्लो बस्तीको विकाससँगै एउटा घरका कारण अर्को घरको शान्ति, सुरक्षा र अमनचैनमा असर नगरोस् भन्नका लागि उक्त योजनाअन्तर्गत ‘छिमेकी सुरक्षा कार्यक्रम’ सञ्चालन गरिने भएको छ । एक घरमा हुने कुनै जमघट, कार्यक्रम वा अन्य गतिविधिका कारण अर्को घरका बासिन्दा प्रभावित नहुन् भन्ने कुरालाई दृष्टिगत गर्दै त्यस्तो कार्यक्रम ल्याइएको हो ।

होहल्ला गरी एक घरले अर्को घरलाई असर पुर्याउने कार्य रोक्न काठमाडौं महानगरपालिकाले चेतावनीदेखि जरिवानासम्मको नीति बनाएको छ । एआईजी तामाङले नेपाल प्रहरी उक्त नीतिको साझेदार हुन तयार रहेको बताए । उजुरी गर्ने संयन्त्रका रुपमा सम्बन्धित टोल सुधार समिति वा कुनै संस्थालाई तोकिए आफूहरु छिमेकी सुरक्षा नीतिलाई अझ प्रभावकारी बनाउन प्रतिवद्ध रहेको उनले बताए ।

योजनाअन्तर्गत उपत्यकाभित्र प्रहरी जनशक्ति र साधन, स्रोतको प्रभावकारी परिचालन गरिने भएको छ । महत्त्वपूर्ण प्रतिष्ठानको सुरक्षा व्यवस्थापन, विभिन्न जात्रा, पर्व, मेलामा हुनसक्ने अवाञ्छित गतिविधिलाई निस्तेज गर्न प्रभावकारी सुरक्षा व्यवस्थापन गरिने योजना छ ।

प्रहरीको मोबाइल, पैदल गस्ती, बीट, पिकेट, चेकप्वाइन्टको माध्यमद्वारा सुरक्षाको प्रत्याभूति दिँदै अतिविशिष्ट र विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन गरिने भएको छ ।

त्यसका निम्ति ट्राफिक व्यवस्थापन प्रणालीलाई अत्याधुनिक बनाउँदै लगिने भएको छ । प्रहरी कर्मचारीको बोली, व्यवहार तथा आचरणमा सुधार ल्याउन कडाइँका साथ निर्देशन दिइएको एआईजी तामाङले बताए ।

काठमाडौ उपत्यका प्रवेशको मुख्य–मुख्य नाकामा सीसीटीभीसहितको कडा चेकजाँचको व्यवस्था गरिएको छ । मोटरसाइकलमा प्रविधियुक्त क्यामरासहित क्यूआरटी टोली परिचालन गरिएको, सूचना संकलन, विश्लेषण गरी प्राप्त तथ्यको आधारमा प्रहरी परिचालन रणनीति कायम गरेको तामाङले बताए ।

क्राइम हटस्पट म्याप तयार गरी प्रहरी परिचालन गरेको भन्दै तामाङले महत्वपूर्ण स्थानमा सीसीटीभी जडान गरिने र बिग्रेको सीसीटीभीको मर्मतलाई तीव्रता दिइँदै छ ।

गुण्डागर्दीमा संलग्न व्यक्तिहरुको प्रोफाइलिंगलाई पुनरावलोकन गर्ने कार्य भइरहेको पनि उनले जनाए । अनलाइन ठगी तथा साइबर अपराधबाट जोगिन जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने भएको छ । प्रभावकारी अनुसन्धानमा जोड दिँदै आर्थिक अपराधबाट बच्न सचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *