संघीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने बेला भयो : सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सङ्घीयता कार्यान्वयनमा देखिएका चुनौतीको विश्लेषण गर्ने समय आएको बताएका छन् ।

शुक्रबार ललितपुरमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले नेपालको सङ्घीयता अभ्यासले एक दशकको यात्रा पूरा गर्न लाग्दा यसका सबल पक्ष, चुनौती, सम्भावना र सुधारका क्षेत्रहरूलाई गहिरोसँग विश्लेषण गर्नुपर्ने बेला आएको बताएका हुन् ।

अहिले आफुलाई लागेको कुरा नै ठीक भन्ने प्रवृति बढेको भन्दै यसका कारण प्रतिफल दिन गाह्रो हुने उनले बताए । सभामुख घिमिरेले संविधानले परिकल्पना गरेको सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तमा आधारित तीन तहको शासकीय स्वरुप मौलिक अभ्यास भएकाले यसको कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने समेत बताए ।

सङ्घीयता कार्यान्वयनमा देखिएका चूनौतीलाई अन्तराष्ट्रिय अभ्यासका साथै नेपालको मौलिक अनुभवका आधारमा समाधान खोज्नुपर्ने उनको भनाइ छ । उनले प्रशासकीय संरचनामा देखिएको केन्द्रीकृत सोच, कर्मचारी व्यवस्थापन जस्ता जटिलताहरु सवै मिलेर समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सभामुख घिमिरेले प्रतिष्ठानद्वारा प्रकाशित नेपालको सङ्घीय शासन प्रणालीः आयाम र अभ्यास सम्बन्धी दोस्रो श्रृङ्खला पुस्तकको विमोचन गरेका थिए ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *