उपसभामुखको मानव तस्करीको प्रमाण जुटाउँदा मेरो जागिर खोसियो, कार्यक्रम रोकियो

घटना २०७२ साल कात्तिक १७ गतेको हो । नेपाल बाल संगठनको सिफलस्थित बालगृहबाट पाँच बालबालिका एकाएक गायब भए । दसैँ मनाउन भन्दै उनीहरूलाई कसैले लगेको थियो, तर उनीहरू कहिल्यै फर्केर आएनन् । त्यसबेला बिदामा रहेका बालगृहका केन्द्र प्रमुख सुरज खनालले संगठनको केन्द्रीय कार्यालयलाई एउटा चिठी लेखे ।

आफ्नो अनुपस्थितिमा बिना जानकारी बालबालिका लगिएको र उनीहरू नफर्किएको भन्दै उनले तत्काल खोजी गर्न र फिर्ता ल्याउन अनुरोध गरेका थिए । ती बालबालिकालाई गैरकानुनी रूपमा लगेको आरोप तत्कालीन ‘पीए नेपाल’ नामक संस्थामाथि थियो, जसको नेतृत्व हालकी उपसभामुख इन्दिरा रानाले गर्थिन् ।

यो विषय केन्द्रीय बालकल्याण समितिमा पनि पुग्यो, जहाँ उजुरी परेको थियो । समितिले केन्द्र प्रमुख खनालसँग स्पष्टीकरण माग्यो । २०७२ माघ १८ गते खनालले समितिमा उपस्थित भएर जवाफ दिए । उनका अनुसार, नेपाल बाल संगठनका तत्कालीन निर्देशक बालकृष्ण डंगोलले ‘माथिको आदेश’ भन्दै ती बालबालिकालाई अपरिचित व्यक्तिको जिम्मा लगाएका थिए ।

त्यसपछि उनीहरूको अवस्थाबारे केही थाहा नभएको बयान खनालले दिए । यसरी सरकारको मातहतमा रहेको बालगृहबाट भएको बालबालिकाको अवैध ओसारपसारको यो गम्भीर विषय लामो समयसम्म गुपचुप रह्यो ।

तत्कालीन केपी ओली सरकारले २०७६ कात्तिक १४ गते एउटा महत्वपूर्ण निर्णय गर्‍यो । मन्त्रिपरिषद्ले नेपाल बाल संगठन र बाल मन्दिरमा भएका सम्पूर्ण अवैध गतिविधिको छानबिन गर्न उच्च अदालत पाटनका पूर्वन्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्‍यो । आयोगले आफ्नो छानबिन प्रतिवेदन सरकारलाई बुझायो । विशेष स्रोतबाट त्यो गोप्य प्रतिवेदन मेरो हातमा पर्‍यो ।

प्रतिवेदनको परिच्छेद ३ मा एउटा सनसनीपूर्ण बयान छ । बाल संगठन स्थापनादेखि २०७६ सम्म अध्यक्ष रहेकी रिता सिंह वैद्यले आयोगलाई बयान दिने क्रममा सिफल बालगृहका पाँच बालबालिकालाई इन्दिरा रानाको संस्थाले गैरकानुनी रूपमा लगेको कुरा स्वीकार गरेकी छन् । रिता सिंह गणेशमान सिंहकी छोरी तथा वर्तमान उपप्रधानमन्त्री प्रकाशमान सिंहकी दिदी हुन् ।

त्यस्तै, प्रतिवेदनको तालिका नं. २४ मा संगठित अपराधको अनुसन्धान गर्नुपर्ने व्यक्ति र निकायहरूको सूची छ । त्यसमा स्पष्टसँग लेखिएको छ- ‘झूटा कागजपत्र बनाएर र पर्याप्त अनुसन्धान नगरी बालबालिकालाई परित्यक्त तथा अनाथ घोषणा गरी एक बालगृहबाट अर्कोमा गैरकानूनी रूपमा स्थानान्तरण गर्ने कार्यमा संलग्न ‘पीए नेपाल’ र त्यसकी तत्कालीन अध्यक्ष तथा वर्तमान उपसभामुख इन्दिरा रानालाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने ।’

यी सबै तथ्य पत्ता लागेपछि मैले सिफल बालगृहका केन्द्र प्रमुख सुरज खनालसँग फोनमा कुरा गरेँ । खनालले ती बालबालिकालाई बाल संगठनका तत्कालीन नेतृत्व र इन्दिरा रानाको योजनामा ‘पीए नेपाल’ले लगेको पुष्टि गरे ।

उनले थपे, ‘मैले यस विषयमा बारम्बार विरोध गर्दा इन्दिरा रानाले मलाई ‘बच्चा नदिने तँ को होस् ?’ भन्दै धम्क्याएकी थिइन् ।’ यो कुराकानीको अडिओ प्रमाण मसँग सुरक्षित छ । यता, बाल संगठनकी वर्तमान अध्यक्ष विद्या उपाध्याय न्यौपानेले पनि क्यामेरासामुन्ने ‘पीए नेपाल’ ले बालमन्दिरका बालबालिका गैरकानुनी रूपमा लगेको र उनीहरूको अत्तोपत्तो नभएको बताएकी थिइन् । त्यो भनाइ पनि भिडिओमा सुरक्षित छ ।

यति धेरै प्रमाण जुटिसकेपछि मैले उपसभामुख इन्दिरा रानालाई बारम्बार फोन गरेँ, जसको स्क्रिनसट मसँग छ । एकपटक उनले ‘त्यो सुमन भनेको तपाईं हो ?’ भनेर फोन काटिन् । अन्ततः उनको सचिवालयमार्फत अन्तर्वार्ताका लागि ४ बजेको समय मिल्यो । तर, त्यही दिन ३:३० बजे प्रेस चौतारी नेपालका निवर्तमान कोषाध्यक्ष इन्द्र आचार्यले फोन गरेर उपसभामुख नबोल्ने भन्दै अन्तर्वार्ता स्थगित भएको जानकारी दिए । आचार्य लामो समय उपसभामुख रानाको संस्था ‘पीए नेपाल’ मा कार्यरत थिए ।

मेरो यो खोजमूलक रिपोर्टको प्रोमो मैले काम गरिरहेको टेलिभिजनमा तीन घण्टा प्रसारण भयो, तर त्यसपछि कार्यक्रम नै रोकियो । मलाई कार्यक्रम निर्माण नगर्न टेलिभिजनको उपल्ला अधिकारीबाट निर्देशन दिइयो । मैले कारण सोध्दा, मलाई नै कार्यालय नआउन र परिचयपत्र फिर्ता गर्न भनियो ।

आफूले गरेको खोज र पाएका प्रमाण सन्तानजस्तै प्यारो हुँदो रहेछ । यो रिपोर्ट सामाजिक सञ्जालमा सार्वजनिक गर्न मन थियो, तर सकिनँ । आज यो सब किन लेख्दैछु भने, यदि ती बालबालिका कहाँ छन् भनेर पत्ता लगाउन र दोषीलाई कारबाहीको कठघरामा उभ्याउन सकिनँ भने समाजले मलाई एक कायर पत्रकारका रूपमा चिन्नेछ ।

कसैले यसलाई प्रतिशोध भन्ठान्ला, तर यो अपराध तपाईंहरूको दलको परिकल्पना हुनुभन्दा धेरै अघिको हो । यो बालबालिकाको अवैध ओसारपसारजस्तो गम्भीर अपराध हो, जसमा प्रतिनिधि सभाकी वर्तमान उपसभामुख इन्दिरा राना र उनले नेतृत्व गरेको संस्था मुख्य अभियुक्त हुन् ।

Comments

16 responses to “उपसभामुखको मानव तस्करीको प्रमाण जुटाउँदा मेरो जागिर खोसियो, कार्यक्रम रोकियो”

  1. Laleek Avatar
    Laleek

    थ्याँकू महोदय, सत्यको सत्यको विजय समयमै हुनेछ । जयहोस् ।

    1. सुरज गुरुङ Avatar
      सुरज गुरुङ

      बस! तपाईले सत्य तथ्यमा आधारित रहेर धैर्यताका साथ काम गर्नु भयो जो आज बाहिर उजागर हुदैछ।👏👏

      1. भोज राज Avatar
        भोज राज

        दस वर्ष अघिको कुरा बल्ल अहिले उजागर गर्नुले प्रतिशोध वा ब्ल्याकमेल हो भन्ने त स्पष्ट देखिन्छ कामरेड तर पनि अनुसन्धान गर्दै गर्नु होला, जसले लगे पनि ती बालबालिका का अभिभावक वा देश बाहिर गएका भए पासपोर्ट बनाउने कार्यालय लाई थाहा होला, भारत लगिएका भए नाका हरु बाट पनि बुझ्न सकिएला! शुभकामना!

  2. RobinKC Avatar
    RobinKC

    बच्चा लगे पछि के भयो? ती बच्चाको भविष्य राम्रो भयो कि? खोज पत्रकार महोदय सिफल वरिपरी मात्र घुमेको देखियो!

    1. bharat kumar thapa Avatar
      bharat kumar thapa

      रास्वपा अपराधै अपराध गर्ने मानिसहरूको भिड हो

    2. जून गुरुङ Avatar
      जून गुरुङ

      मेरो भाइ अब जस्ले लगेको हो त्यसलाई समातेर अनुसन्धान गर्दा थाहा हुन्छ नि ती बालबालिका कता पुगे भन्ने।

  3. हलुवाकाका Avatar
    हलुवाकाका

    राना कमरेट त्यत्तीकै छानिएकी होइन रास्वपा मा ! जान्नेलाई छान्ने नीति अनुसार :

  4. Nepali kanxo Avatar
    Nepali kanxo

    Nara nai xa ni ” janne lai xanne, birod garne lai hanne “

  5. m Avatar
    m

    अनि ती बालबालिका हामीले राम्रोका लागि विदेश पठायाैं । सेवा गरेकाे हाे भनेर याे घण्टे ग्याङले भन्न बेर छैन ।

  6. ksp pyl Avatar
    ksp pyl

    छानबिन होस् ।

  7. Nepal Nepali Avatar
    Nepal Nepali

    स्वच्छ अनुसन्धान गरी अपराधी पुष्टि भए कारवाही हुनैपर्छ। रास्वपा पार्टीले के बुझ्नु पर्छ भने आपराधिक मानसिकता भएका व्यक्तिले आफ्नो कर्तुत लाई छोप्न ढाक्न राजनीतिक स्पेस खोजिरहेका हुन्छन्, छोटो समयमै पार्टीले पाएको सफलता अनि छिट्टै माथिल्लो स्तरसम्म पुग्न सकिने भएकाले खराब मानसिकता भएका व्यक्तिका लागि अहिले रास्वपा प्रवेश गर्नु निकै राम्रो अवसर बन्दै गइरहेको छ । त्यसकारण पार्टीमा आए भन्दैमा आँखा चिम्लेर विश्वास गरी नयाँ मान्छेलाई एकैपटक जिम्मेवारी दिनु हुँदैन भन्ने रास्वपाले राजनीतिक यात्राको ४ वर्ष पुग्दा नपुग्दै २-३ वटा उदाहरणले बुझ्नुपर्छ। धन्यवाद।

  8. amrit chaudhary Avatar
    amrit chaudhary

    मलाइ लाग्छ याे पत्रकार सायद एमालेकै हुनु पर्छ । यदि वास्तविक हाे भने त ईन्दिरा रानालाई पनि कार्वाही हुनै पर्छ । यदि लान्छनामात्रै लगाएकाे हाे भने आराेप लगाउनेलाई पनि कार्वाही हुनै पर्छ ।

  9. दिपेन्द्र अधिकारी Avatar
    दिपेन्द्र अधिकारी

    त्यो बच्चा र आफन्त सबै सम्पर्कमा छन अभिभावक को अनुमति ले नै सस्था ले लगेको हो अहिले ती बिदेशमा आफ्नो काम गरेर खाई रहेका छन यो एमाले पत्रकार ले भ्रम छर्दै छ

    1. Mukunda Hatuwal Avatar
      Mukunda Hatuwal

      यस बारेमा के भएको हो, ती वालवालिका कति जना र कहाँ छन्? सत्यतथ्य बाहिर ल्याउनै पर्दछ। दिपेन्द्र अधिकारी जीले भन्नु भएको जस्तो “त्यो बच्चा र आफन्त सबै सम्पर्कमा छन अभिभावक को अनुमति ले नै सस्था ले लगेको हो अहिले ती बिदेशमा आफ्नो काम गरेर खाई रहेका छन यो एमाले पत्रकार ले भ्रम छर्दै छ” यदि यस्तो भ्रम र यथार्त बाहिर नआएमा यो केवल राजनीतिको लागि राजनीति हुनेछ। सरोकारवाललाले चाँडै छानविन गरुन्।

    2. कमल Avatar
      कमल

      जाठो! कुरा यस्तै थियो भने जनता सामु भने भयो नि तिनिहरुले! किन डराएर भागिरहेको छ ? किन प्रसारण हुन दिईएन ? थुक्क मुला झोले!!

  10. गाेपाल बन्जाडे Avatar
    गाेपाल बन्जाडे

    खाेज पत्रकारिता राम्राे । तर याे लेखवाट केही प्रश्न उव्जिएका छन
    १. हाल सम्म याे कुरा जनता सामु किन ल्याउनु भएन ? कि बार्गेनिङ मा समय ब्यतित भयाे?
    २. अहिलेकाे समयमा केही सुचना प्रशारण गर्न मिडिया हाउस नै चाहिदैन हजुर,सत्य हाे भने विभिन्न सामाजिक सञ्जाल बाट हाल्न सकिन्छ
    ३. यति ठुलाे अपराध गर्नेकाे सुचना लुकाउने तपाईं पनि दाेषि किन नभन्ने?
    ४. खाेज पत्रकारिता सतहि भयाे, हाल ति बालवालिकाकाे अबस्था के छ किन तपाईले नखाेजेकाे र किन लेखमा नराखेकाे? कि स्थान नदिनु भएकाे? कि सस्ताे लाेकप्रियताका लागि लेख्नु भएकाे?
    ५. प्रमाणहरु सम्बन्धित निकायमा किन नदिएकाे?

Leave a Reply

Your email address will not be published. Required fields are marked *