काठमाडाैं । ‘मोहर’ नचलेको भए पल शाहको करियर के हुन्थ्यो होला ? ठ्याक्कै भन्न सकिन्न । यद्यपि यो चलचित्रलाई पनि दर्शकले इन्कार गरिदिएको भए पलको चलचित्र-यात्रा निकै कठिन मोडमा पुग्न सक्थ्यो ।
पलका पछिल्ला दुई चलचित्र ‘मायावी’ र ‘रावायण’ बक्स अफिसमा नराम्रोसँग पछारिए । पुरानै क्लिसे शब्दमा भन्ने हो भने यी दुई चलचित्रले बक्स अफिसमा पानी समेत भन्न पाएनन् । ‘रावायण’ले त पललाई थप पीडा नै दियो । उनले लगाएको नक्कली जुँघा सर्वत्र ट्रोल बन्यो । अहिले पनि त्यसवेलाको पलको नक्कली जुँघाको चर्चा बेलाबखत भइरहन्छ ।
असफल भएका यी दुई चलचित्र पलका लागि विशेष थिए । किनभने पोखरा उच्च अदालतले उनलाई सफाइ दिएपछिका चलचित्र थिए, ‘रावायण’ र ‘मायावी’ । पलले २०७९ फागुन १४ मा उच्च अदालतबाट सफाइ पाएका थिए । झण्डै झण्डै डुबेको पलको अभिनय करियरले उच्च अदालतको फैसलापछि पुनर्जीवन पाएको थियो ।
यसपछि पल पुनः अभिनयमै जोडिए । उनको चलचित्र ‘पुजार सार्की’ बक्स अफिसमा सफल पनि भयो । तथापि यो चलचित्रबाट अर्का अभिनेता प्रदीप खड्काले पूर्णतया क्रेडिट लिए । यसपछि पलको लिड रोल भएको ‘रावायण’ र ‘मायावी’ले बक्स अफिसमा अपेक्षित व्यापार गर्न सकेन । निर्माताको करोडौं लगानी खरानीमा परिणत भयो ।
अहिले पल शाह स्वयंले निर्माण गर्न लागेको चलचित्र ‘यानीमाया’ पनि निर्माता र निर्देशकबीचको टकरावमा फसिरहेको छ । यो चलचित्र कहिले फ्लोरमा जाने हो, निश्चित छैन । चलचित्रको कथालाई मोडमाड पार्ने सन्दर्भमा निर्माता र निर्देशकबीच विवाद भएको बुझिएको छ ।
यी सबै घटनाक्रमका बीच पललाई ‘मोहर’ले ठूलो राहत दिएको छ । दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाइरहेको ‘मोहर’ले हलबाट पनि राम्रै ग्रस कलेक्सन गरिरहेको छ । चलचित्र विकास बोर्डको तथ्यांक अनुसार गत आइतबारसम्मको बक्स अफिस कलेक्सन तीन करोड सात लाख थियो । गत मंगलबारबाट व्यापारमा बढोत्तरी भएको निर्माण पक्षको दाबी छ ।
वितरक करण श्रेष्ठ क्रेजीका अनुसार अहिलेसम्म चलचित्रले चार करोडको आँकडा छोइसकेको छ । चलचित्रको लगानी हलबाटै उठाउनलाई पनि लगभग चार करोड हाराहारीको कलेक्सन गरे पुग्नेछ । किनभने चलचित्रको लगानी १ करोड ८६ लाख मात्र हो ।
यदि ‘मोहर’ले हलबाटै लगानी सुरक्षित गरेको खण्डमा डिजिटल राइटस् र ओभरसिज राइटस् बिक्रीबाट आएको पैसा निर्माताको खुद मुनाफा हुनेछ । हलबाटै थप ग्रस कलेक्सन गर्नलाई भने दोस्रो सातामा चलिरहेको ‘मोहर’लाई निकै गाह्रो हुने देखिन्छ । किनभने भोलिबाट ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरु’ र ‘ताराहरु’ हलहरुमा लाग्दैछन् । यी दुई चलचित्रलाई दर्शकले कसरी स्वागत गर्छन्, त्यसैमा ‘मोहर’को बाँकी व्यापारको भविष्य टिकेको छ ।
तर अहिलेको ‘मोहर’को व्यापारले भने असफल चलचित्रमा ह्याट्रिक गर्नबाट पललाई बचाएको छ । ‘मोहर’ पलका लागि ठूलो राहत बनिदिएको छ । अब केही समयमै पल ‘आबाट आमा’ चलचित्रको सुटिङमा सक्रिय हुनेछन् ।

Leave a Reply