एमालेबाट अरुले सिक्दैछन्, नीति र नेतृत्वका अलग-अलग अभ्यास

चरिकोटको सातदोबाटोतर्फ पैदल जाँदै थिएँ । एकजना ज्येष्ठजनले रोक्नुभयो र सोध्नुभयो, ‘बाबु, एमालेलाई सुझाव दिन पाइन्छ रे, कसरी दिने होला ?’ मैले चासोपूर्वक थप सोधेँ, ‘कसरी थाहा पाउनु भयो ?’ रेडियोबाट सुनेको भन्ने उत्तर पाएँ । एकछिन कुराकानी भयो । मैले सुझाव दिने विषय र तरिका बताएँ ।

नेकपा (एमाले), भीमेश्वर नगर कमिटीले पार्टीको विधानमा सुझाव संकलन तथा परामर्शका लागि रेडियोमार्फत् सूचना जारी गरेको थियो । त्यही सुनेर ज्येष्ठ नागरिकले मसँग चासो राख्नुभएको रहेछ । यो खालको सूचना कहिल्यै नसुनेकोले अनौठो मान्दै मलाई सोध्नुभएको थियो ।

हो, प्रक्रिया अनौठै लाग्छ । सबै दलले नेतृत्व चयन गर्छन् । सबैका आ-आफ्नो विधान हुन्छ । राजनीतिक दलले प्रायःजसो ५ वर्षको अन्तरमा महाधिवेशन आयोजना गर्छन् । त्यहाँ नीतिका बारेमा छलफल हुन्छ । अनि, सोही महाधिवेशनमा नै नेतृत्व चयनको अभ्याससमेत गर्ने गरिन्छ ।

तर, एमाले भने यो मामिलामा फरक देखिएको छ । विगतमा एमालेले पनि नीति तथा नेतृत्वका लागि एकै महाधिवेशन गर्थ्यो । तर, पछिल्लो अवधिमा फरक फरक गर्ने गर्दछ । नीतिका लागि जग कमिटी र पार्टी सदस्यबीचमा समेत व्यापक परामर्श गर्दैछ । ‘पार्टीको सार्वभौम अधिकार पार्टी सदस्यमा’ भन्ने मर्मलाई व्यवहारिक प्रयोग गर्दैछ ।

२०७८ असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा पहिलोपटक विधान महाधिवेशन आयोजना गरेको थियो । सो महाधिवेशनमा नेकपा (एमाले) को विधानसम्बन्धी छलफल भयो र संशोधन भयो । त्यसैगरी सोही महाधिवेशन एमालेले लिनुपर्ने बाटोसहितको राजनीतिकलगायतका प्रतिवेदनसमेत पारित भयो ।

तर, त्यहाँ एमालेको नेतृत्व चयनको विषयमा छलफल पनि भएन । तर, नेतृत्व चयन प्रक्रियाको नीतिगत व्यवस्थामाथि चर्चा भयो । त्यसलगत्तै चितवनमा दशौँ महाधिवेशन आयोजना भयो । जहाँ सिंगो पार्टी नेतृत्व चयनमा केन्द्रित रह्यो ।

पार्टी केन्द्रका नेताको सदस्यको सूची वडा कमिटीसँग रहने र त्यहीँ नवीकरण गर्ने व्यवस्था भएमा जग कमिटीलाई उत्साह भर्ने भएकोले जुन तहको नेता भए पनि पार्टी सदस्यता नवीकरण आफ्नो टोल वा वडा कमिटीमार्फत् गरिनुपर्ने व्यवस्था नीतिगत रूपमा नै गर्नुपर्ने राय आएको छ ।

फेरि यही भदौ २० देखि २२ सम्म दोस्रो विधान महाधिवेशनको आयोजना हुँदैछ । स्थान भने पुरानै छ, ललितपुरको गोदावरीमा अवस्थित सनराइज सम्मेलन केन्द्र । अहिले देशभरको एमाले पंक्ति त्यही विधान महाधिवेशनका लागि जुटेको छ ।

टोल, वडा, पालिका, जिल्लादेखि सबै संरचनामा पार्टी कमिटीदेखि जनसंगठनसमेत संस्थागतमा रूपमा एमालेको नीति तथा विधान कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल गरिरहेका छन् । त्यसका निम्ति सार्वजनिक सूचना जारी गरिएको छ । पार्टी सदस्य र शुभचिन्तकलाई समेत सुझाव दिनको लागि विभिन्न कमिटीले आह्वान गरिरहेका छन् । यो मौका हो, नेकपा (एमाले) ले कुन बाटो लिनुपर्छ ? कस्तो व्यवस्था हुनुपर्छ ? भन्ने कुरालाई तय गर्ने अवसर हो ।

नीति तथा नेतृत्व चयनसम्बन्धी एकै महाधिवेशन गर्दा नीतिसम्बन्धी छलफल प्राथमिकतामा नै पर्ने भएन । माहोल नै नेतृत्व चयनमा केन्द्रित हुने गर्छ । हुन त, नेतृत्वभन्दा पनि नीति प्रधान हुनुपर्ने हो । नीतिअनुसार नेतृत्व चल्ने हो, तर त्यस्तो महत्वपूर्ण पक्षमा चाहिँ सधै फितलो हुने गरेको थियो । सोही अवस्थालाई विश्लेषण गरी एमालेले विधान र नेतृत्वबारे अलग अलग महाधिवेशन गर्ने अभ्यासलाई संस्थागत गरिसकेको छ ।

त्यतिमात्रै होइन, महाधिवेशनका प्रतिनिधिको भूमिकालाई समेत निरन्तरता दिएको छ । दशौँ महाधिवेशन जुन चितवनमा भएको थियो । त्यस महाधिवेशनमा चयन भएका प्रतिनिधिले तीनवटा मुख्य भूमिका निर्वाह गर्ने मौका पाउँछन् ।

पहिलो, काम महाधिवेशनबाट नेतृत्वमा चुन्ने, चुनिनेमा भूमिका खेल्ने । दोस्रो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी हुने र तेस्रो विधान महाधिवेशनमा सहभागी भई आगामी कार्यकालको नीति बनाउने भूमिका खेल्ने रहेको छ । यस अभ्यासले महाधिवेशन प्रतिनिधिको भूमिकालाई जीवन्तता र निरन्तरता दिएको छ ।

फेरि फर्कौं एमाले भीमेश्वर नगर कमिटीले आफ्नो पार्टीको विधान संशोधनका सम्बन्धमा गरिएको परामर्शका सन्दर्भमा । भीमेश्वर नगरपालिकाभित्र ९ वटा वडा छन् । ती सबै वडामा परामर्श छलफलको आयोजना गरियो । त्यसपूर्व सामाजिक सञ्जाल र स्थानीय रेडियोबाट सूचना जारी भयो, विधानसम्बन्धी सल्लाह सुझावका लागि । अनि, तोकिएका पदाधिकारीले वडास्तरमा पुगेर परामर्श गरे ।

यस कार्यमा माथिल्लो कमिटी, अर्थात् जिल्ला कमिटीले पालिकास्तरमा परामर्शमा सहजीकरणका भूमिकाको लागि पदाधिकारीलाई जिम्मेवारी दिएको थियो । यसरी गरिएको परामर्शबाट आएका विषय नगर कमिटीको बैठकमा छलफल गरी जिल्ला कमिटीमा पठाउने छ । एवं प्रकार जिल्ला कमिटीले माथिल्ला कमिटीमा पठाउने छ । विधान महाधिवेशनसम्म पुग्नेछ । त्यहाँ छिनोफानो लाग्नेछ ।

परामर्शमा आएका मुख्य विषय

वडास्तरमा गरिएका परामर्श छलफलमा पार्टी सदस्यता र नवीकरण शुल्कको विषयमा अधिकांशबाट सुझाव आएको छ । नवीकरण शुल्कलाई दुई अंकमा सीमित गरी यो रकमको बाँडफाँटमा पनि जग कमिटीलाई प्राथमिकता राख्नुपर्ने कुरा आएको छ । त्यसैगरी पार्टीको गाना (गीत) को व्यवस्था गरिनुपर्छ भन्ने सुझाव प्राप्त भएको छ ।

राज्यको तहअनुसारको उम्मेदवार छनौट गर्दा सम्बन्धित कमिटीले नै निश्चित विधि तथा प्रक्रिया अपनाएर टुंग्याउने विषय प्राथमिकताका साथ उठेको छ । पार्टीको जिम्मेवारी सम्हाल्नेको नियमित अनुगमन तथा मूल्यांकनको संस्थागत परिपाटी विकास गर्नुपर्नेजस्ता विषय आएका छन् ।

पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधि तथा पार्टी नेता अरुभन्दा फरक, तर असल आचारणयुक्त, अनुशरणयोग्य हुनुपर्ने, नेताहरू उद्यमी तथा स्वाभिमानी हुनुपर्ने भन्ने विषयसमेत आएका छन् ।

पार्टी केन्द्रले तीनमहले विधान संशोधनका अधिकांश प्रस्तावलाई पार्टी सदस्य तथा वडा कमिटीले स्वीकार गरेका छन् । तथापि, जनवादी केन्द्रीयताको मर्मअनुसार जनवाद बढी, केन्द्रीयता कम हुनुपर्ने विषय औँल्याएका छन् । सम्पर्क मञ्च र भूगोल कमिटीबीचको सहकार्य हुनुपर्ने कुरा आएका छन् । केन्द्रीय कमिटीका सदस्यको पार्टी सदस्यता केन्द्रमा सार्ने प्रक्रियाले भूगोलप्रति सम्बन्ध टुटेको भान परिरहेको छ ।

पहिलो, काम महाधिवेशनबाट नेतृत्वमा चुन्ने, चुनिनेमा भूमिका खेल्ने । दोस्रो, राष्ट्रिय प्रतिनिधि परिषद् बैठकमा सहभागी हुने र तेस्रो विधान महाधिवेशनमा सहभागी भई आगामी कार्यकालको नीति बनाउने भूमिका खेल्ने रहेको छ । यस अभ्यासले महाधिवेशन प्रतिनिधिको भूमिकालाई जीवन्तता र निरन्तरता दिएको छ ।

पार्टी केन्द्रका नेताको सदस्यको सूची वडा कमिटीसँग रहने र त्यहीँ नवीकरण गर्ने व्यवस्था भएमा जग कमिटीलाई उत्साह भर्ने भएकोले जुन तहको नेता भए पनि पार्टी सदस्यता नवीकरण आफ्नो टोल वा वडा कमिटीमार्फत् गरिनुपर्ने व्यवस्था नीतिगत रूपमा नै गर्नुपर्ने राय आएको छ ।

अन्त्यमा, एमालेको इतिहासमा नै टोल तथा वडा कमिटी तहमा नै विधान संशोधनको विषयमा व्यापक परामर्श गर्ने अवसर जुटेको छ । विधान संशोधनसम्बन्धी अभ्यासका लागि मुलुकको संविधान निर्माण प्रक्रियाकै झल्को दिनेगरी पार्टीका सिंगो टीम र सबै संयन्त्र परिचालन भइरहेका छन् । यसबाट राष्ट्रिय पर्वजस्तो आभाष भइरहेको छ । यसले लोकतन्त्रलाई समुदायस्तरमा समेत पुर्‍याउन सहयोग पुग्नेछ । पार्टी सदस्यले गौरव अनुभूति भएको धारणा राखेका छन् ।

यस प्रक्रियाले विधानलाई अध्ययन गर्ने, सुझाव दिने क्रममा विधानप्रति अपनत्वको भावना पनि विकास हुने सम्भावना बढेको छ । हरेक पार्टी सदस्यमा ‘म बनाउँदैछु मेरो पार्टीको विधान’ भन्ने भावना जागृत भएको छ ।

यी सबै प्रक्रियाबाट एमाले अरुभन्दा फरक छ भन्ने पुष्टि हुँदैछ । अरु दलले पनि यो प्रक्रिया अनुशरण गर्लान् । किनकि, एमालेले गरेका अरु धेरै अभ्यास अरु दलका लागि सिकाईरूपी पाठ भएको छ । त्यसैले भन्न सकिन्छ, एमाले अरुभन्दा एक कदमअघि नै छ ।

(लेखक एमाले, भीमेश्वर नगर कमिटीका अध्यक्ष हुन् ।)

Comments

2 responses to “एमालेबाट अरुले सिक्दैछन्, नीति र नेतृत्वका अलग-अलग अभ्यास”

  1. कमल Avatar
    कमल

    ठूलो कुरा नगर भाइ! ओलीले अस्ति नै बनाएर पठाईसक्यो अब त्यसमा ल्याप्छे ठोक्ने काम हो अरु सबैको। हाम्लाई थाह नभएको हो र?

    1. ksp pyl Avatar
      ksp pyl

      बिना प्रमाण कसको नून खाएर ओलिलाई यसो भन्छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *