रूपन्देही । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा किसानले पाएको युरिया मलभित्र सिमेन्टको पिल्लरजस्तो आकारको देखिने ठोस वस्तु भेटिएको छ ।
वडा नम्बर १४ मा रहेको दाउन्नेदेवी सानाकिसानको कार्यालयमा बुधवार बाँडिएको मलभित्र ढुङ्गा/सिमेन्ट पिल्लर जस्तो देखिने ठोस वस्तु फेला परेपछि किसान आश्चर्यमा परेका छन् । सहकारीले ५० किलोको एक बोरा मल तीन जनालाई भाग लगाएको थियो ।
किसानले बोरा घर लगेर खोल्दा उक्त वस्तु भेटिएको हो । एक किसानको भागमा जम्मा १६ किलो बढी युरिया पर्ने भए पनि उक्त ठोस वस्तु नै झन्डै साढे ४ किलोको भेटिएको हो ।
कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय तहलाई उपलब्ध गराएको युरिया मलको बोरामा बोरा खोलेर हेर्दा देखिएपछि उक्त ठोस वस्तुलाई तौल गर्दा साढे ४ किलो रहेको स्थानीय मानबहादुर ढकालले बताए । ढुङ्गा भेटिएपछि ढुङ्गाको तौल कटाएर बाँकी मल तीन जनालाई भाग लगाइएको छ ।
‘सानोतिनो केही वस्तु भेटिनु त स्वाभाविक हो,त्यत्रो ठूलो ढुङ्गा बोराभित्र कसरी भेटिन्छ । यो अनौठो कुरा भयो’, ढकालले भने, ‘मल लिन बिहान २ बजेदेखि लाइन बसेको उपहार ढुङ्गो पाइएछ ।’

Leave a Reply