बुटवल । सिद्धार्थ राजमार्गको बुटवल-पोखरा खण्ड साँघुरा र अफ्ठेरा घुम्तीहरूसहितको जोखिमपूर्ण छ । बुटवल-तानसेन, तानसेन-वालिङ, वालिङ-पुतली बजार र पुतली बजार-पोखरा खण्डमा ठूला-ठूला पहाड, खोँच, खोला, खोल्सा र गल्छी छन् । वल्लो डाँडाबाट सानो फट्के राखे पल्लो डाँडामा पुगिनेमा लामा लामा घुम्ती बनाइएका छन् ।
सिद्धार्थ राजमार्गको सुनौली-पोखराको १८० किमीमध्येको बुटवल-पोखराको सडकलाई अब गेम चेन्जर आयोजनाका रूपमा सुधार गरिँदै छ । यहाँको दुरी हाल करिब १५७ किमी छ । यदि अहिले अध्ययन भइरहेको परियोजना साकार भएमा अब यो दुरी ४५ किमी छोटो भई ११२.८१ किमीमा सीमित हुनेछ । सिद्धार्थ राजमार्ग बुटवल-पोखरा सडक सुधार आयोजना अन्तर्गत नयाँ परियोजना अघि बढ्न लागेको छ ।
यो सडक खण्डमा सुरुङ, पुल, वायाडक्टहरु बनाएर अहिलेको अनावश्यक घुम्ती र दुरीलाई घटाइने छ । यती दुरी पार गर्न बढीमा अढाई घण्टा लाग्ने गरी सडकको विस्तार गर्नेगरी परियोजना अगाडि बढेको छ ।
सम्भाव्यता अध्ययन अन्तर्गत वातावरणीय तथा सामाजिक अध्ययनका लागि वाटर एसिया इन्टरनेशनल र वातावरणीय व्यवस्थापन र विज्ञान स्कूलका विज्ञहरू खटिएका छन् । उनीहरूलाई विकास साझेदारका रूपमा एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले सहयोग गरेको छ । सोही बैंकले यो नयाँ परियोजनामा लगानी गर्ने तयारी छ । तिनै अन्तर्राष्ट्रिय विज्ञहरूले तयार पारेको प्रतिवेदनका आधारमा सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल-पोखरा खण्डमा ४५ किमी दूरी कम हुने देखिएको हो ।
भगवान् सिद्धार्थ गौतम बुद्धको नामबाट नामकरण गरिएको र भारतीय आर्थिक सहायतामा झन्डै ५० वर्षअघि निर्माण भएको सिद्धार्थ राजमार्गमा कैयन अफ्ठेरा र साँघुरा घुम्ती छन् । तिनै साँघुरा घुम्तीहरू काटेर र कतिपय ठाउँमा सुरुङ, पुल र वायडक्ट बनाइने छ ।

कसरी घट्छ ४५ किमी दूरी ?
अध्ययनअनुसार ८ वटा सुरुङ (२३.३०६ किमी), १४ वटा पुल (०.८६ किमी), २७ वटा वायाडक्ट (२.९५३ किमी), ११.७ किमी नयाँ सडक निर्माण र ७४.०६ किमी सडक स्तरोन्नति गर्ने प्रस्ताव गरिएको छ । कास्कीको छोरेपाटनदेखि स्याङ्जाको फेदीखोलासम्म ५२४३.३६ मिटरको सुरुङ, स्याङ्जाको भालुपहाडदेखि बाडखोलासम्मको ३२८९.१ मिटरको सुरुङ, राङ्खोलादेखि हेलुसम्मको २२०१.४ मिटरको सुरुङ, कालीगण्डकी नदी राम्दीदेखि पाल्पाको पिपलडाँडासम्मको १०३३ मिटरको सुरुङ, बहाकी खोलादेखि तानसेन प्रभाससम्म तीनवटा सुरुङको निर्माण गरिने छ । ती सुरुङहरु पहिलो ५५३१.५१ मिटर, दोस्रो १०२७.२५ मिटर र तेस्रो २२६७.२६ मिटरका रहनेछन् ।
सडक सुधार आयोजना अन्तर्गत २३.३०६ किलोमिटर सुरुङ मार्ग निर्माण गर्ने, ०.८६ किलोमिटर पुल, २.९५३ किलोमिटर वायाडक्ट निर्माण गर्ने, ७४.०६ किलोमिटर सडक स्तरोन्नति/सुधार गर्ने र ११.७ किलोमिटर नयाँ सडक निर्माण गरिने प्रस्ताव छ । नयाँ परियोजनामा हाल निर्माण भई अन्तिम चरणमा रहेको सिद्धबाबा सुरुङमार्ग भने समावेश छैन । यो खण्डका बारेमा परियोजनाले थप अध्ययन भइरहेको जनाएको छ । यस्तै पाल्पाको केराबारीमा १०२७.२५ मिटरको डबल लेनको पुल बनाइने छ ।

यी सबैको कामको फिजिबिलिटी अध्ययन भएर वातावरणीय र सामाजिक अध्ययनसँगै पालिका केन्द्रित छलफलमा विज्ञहरू जुटेका छन् । सम्भाव्यता अध्ययनका लागि वाटर क्यू स्कूल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेन्ट एण्ड साइन्सका अन्तर्राष्ट्रिय विज्ञहरूसहितको टोली खटिएको छ । यो अध्ययन टोलीलाई एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) ले सहकार्य गरेको छ । यो बैंक सिद्धार्थ राजमार्गको नयाँ परियोजनामा लगानी गर्न इच्छुक पनि छ ।
पाँच वर्ष निर्माण अवधि राखेर यो सडकको स्तरोन्नतिका लागि सडक विभागले करिब २० अर्ब लागत अनुमान गरी डीपीआर तयार पारि थप प्रक्रियामै रहेको कुरा बताइरहेका बेला वन तथा वातावरण मन्त्रालयले परियोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको थियो । नयाँ परियोजनाको लागत र समय के कति लाग्ने भन्ने बारेमा उक्त बैंकका अधिकारी र विज्ञहरूको टोली अध्ययनमै छ । सडक विभागले गरेको तयारीमा भने यो सडक हालकै अवस्थामा सामान्य सुधार गर्ने मात्रै उल्लेख छ । तर, नयाँ परियोजनामा भने गेमचेन्जर सुधारको प्रस्ताव भएको छ । केपी ओली प्रधानमन्त्री बनेपछि सडक
यातायातमा सुरुङ युगको सुरुआत भएको छ भने राजमार्गहरूलाई अन्तर्राष्ट्रिय मापदण्डमा स्तरोन्नति गर्ने काम अगाडि बढेको छ ।

सडक सुधार सम्पन्न भएपछि १५७ किमीबाट ११२.८१ किमीमा छोटिनेछ र दोहोरो लेन मापदण्डअनुसार सञ्चालनमा आउनेछ । यो भयो भने मात्रै बुटवल-पोखरा यात्रा समय करिब ६ घण्टाबाट २.५ घण्टामा झर्नेछ । सुनौली-पोखराको दूरी भने १८० किमी छ ।
वि.सं.२०२७ मा भारत सरकारको आर्थिक सहयोगमा निर्माण शुरू भएर ७ वर्षमा वि.सं.२०३४ मा सम्पन्न भएको यो राजमार्गको अधिकांश खण्ड घुम्ती, उकाली–ओराली र पहिरो जोखिमका कारण लामो समयदेखि कमजोर र असुरक्षित छ ।
रूपन्देही, पाल्पा, स्याङ्जा र कास्की गरी ४ जिल्लाका १७ वटा स्थानीय तहलाई जोडेको छ । सडक सुधार परियोजनाले कालीगण्डकी कोरिडोर, (मध्यपहाडी) पुष्पलाल राजमार्ग, मदन भण्डारी राजमार्ग र मुस्ताङसम्मको पहुँच अझ सहज हुनेछ ।
पालिकाहरूसँग छलफल गर्दै विज्ञहरू
वातावरणीय र सामाजिक अध्ययनसँगै विज्ञहरूले पालिकाहरूसँग छलफल सुरु गरेका छन् । यसो भएमा मुलुकमा अर्को गौरवको आयोजना अघि बढ्नेछ । वाटर एसिया इन्टरनेशनलले विभिन्न विज्ञहरूलाई आबद्ध गरेर वातावरणीय र सामाजिक अध्ययनका काम गरेको छ । वातावरणीय व्यवस्थापन र विज्ञान स्कूलको विज्ञ टोलीले यसको अध्ययन पूरा गरी राजमार्ग अन्तर्गतका स्थानीय पालिकाहरूसँग छलफल सुरु गरिसकेको परियोजना संयोजक विनोद अर्यालले जानकारी दिए ।
पूर्वाधार विज्ञ अजयभक्त माथेमा नेतृत्वको अध्ययन टोलीमा सामाजिक विज्ञ डा.तेज बीडी.कार्की, वातावरण विज्ञ प्रतीक कर्माचार्य र वातावरणीय अधिकारी तथा परियोजना संयोजक विनोद अर्याललगायतका प्राविधिकहरू रहेका छन् ।
पूर्वाधार विकासमा विशेष ध्यान दिने यस बहुपक्षीय विकास बैंकले यो महत्वाकांक्षी परियोजनामा लगानी गर्नसक्ने अध्ययनमा संलग्न विज्ञहरू बताउँछन् । अनुदान, साझेदारी वा ग्रान्ट सहयोग कुन मोडल उपयुक्त हुन्छ भन्ने विषयमा सरकारको स्पष्टीकरणको आधारमा बैंकले लगानी अघि बढाउने तयारी गरेको विज्ञ टोलीले आबद्ध परियोजनाका संयोजक अर्यालले जानकारी दिए ।
लगानीका लागि एसियाली पूर्वाधार लगानी बैंक इच्छुक
नयाँ परियोजनामा एआइआइबी लगानी गर्न इच्छुक छ । अहिले अध्ययनमा खटिएका मध्येका केही प्रतिनिधि यहीँ बैंकका पनि छन् । सोही बैंकको साझेदारीमा यो अध्ययन भएको हो । चीनमा मुख्य कार्यालय रहेको र विश्वका एक सय भन्दा धेरै मुलुक सदस्य रहेको, विश्वभर खर्बौँ अमेरिकी डलर लगानी गरिरहेको छ । यो बैंकलाई संसारभरिकै मुलुकहरुका लागि लगानी जुटाउने नयाँ र दरिलो स्रोत रहेको बैंकका रुपमा लिइन्छ ।
उक्त बैंकमा ली क्वीन अध्यक्ष रहेका बेला केही वर्षअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर लगानीका क्षेत्रका बारेमा चासो राखेका थिए । यो बैंकको मुख्य कार्यालय चीनमा रहेको छ । यो बैंकमा नेपाल, भारतसहित विश्वका एक सय भन्दा धेरै मुलुक सदस्यका रुपमा रहेका छन् ।

के गर्छ एसियाली पूर्वाधार लगानी बैंकले ?
चीनको अग्रसरतामा एसिया र ओसिनिया क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रको सुधारका लागि पूर्वाधार विकास तथा अन्य उत्पादनमूलक गतिविधिमा लगानी गर्ने उद्देश्यले सन् २०१६ को जनवरिमा स्थापना गरिएको बहुपक्षीय विकास बैंक हो । राजमार्ग निर्माण र ऊर्जा उत्पादनलाई बैंकले प्रमुख लगानीका क्षेत्र मानेको छ । सम्भाव्यता अध्ययन भई कार्यान्वयन योग्य नेपालका योजनामा यो बैंकले लगानी गर्ने बताउँदै आएको छ । ऊर्जा, पारवहन, खानेपानी तथा फोहर व्यवस्थापन, सहरी संरचना तथा सूचना प्रविधिलगायतमा गरी बैंकले हालसम्म अर्बौँ अमेरिकी डलर लगानी गरिसकेको छ । सन् २०२७ सम्ममा ४५ अर्ब डलर ऋण लगानी पुग्ने र सबैभन्दा ठूलो ऋणी भारत (२७ प्रतिशत) हुने उक्त बैंकको प्रक्षेपण रहेको बताइन्छ ।

Leave a Reply