काठमाडौं । सदस्यता नवीकरण नगर्ने पार्टीले निर्णय गरे पनि आफू ब्याक नहुने अडान राखेकी पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीले आज सम्पर्क कार्यालय उद्घाटन गर्दै छिन् ।
च्यासलको ढोकामा तगारोपछि भण्डारीले सम्पर्क कार्यालयमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउन लागेकी हुन् । यद्यपि, बानेश्वरस्थित थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको ४ तले रातो घरलाई ‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालय भनिएको छ ।
दिउँसो २ बजे राखिएको उद्घाटन समारोहमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि सम्बोधन गर्ने तय भएको छ ।
व्यवस्थापनमा खटिएका एक नेताका अनुसार कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने गरी सुरूमा छलफल भएको थियो ।
‘मूल समारोह समितिका संयोजक डोरमणि कमरेडले औपचारिक निम्तोका लागि समय माग्नुभयो, तर प्रधानमन्त्रीज्यूबाट समय नपाइएपछि विद्या भण्डारीबाटै उद्घाटन गर्न लागेका हौ’, ती नेताले भने ।
एमालेका अन्य नेताहरूलाई पनि निमन्त्रणा पत्र दिइएको छ । केही नेतालाई हातैमा र नभेटिएकाहरूलाई केन्द्रीय कार्यालय सचिवमार्फत् पाउने गरी निम्तो थमाइएको छ ।
४५ वर्षदेखिको आफ्नो सदस्यता कसैले खान नसक्ने जवाफ दिएकी विद्याले मदन भण्डारी फाउन्डेसन मार्फत देशभर नेता कार्यकर्तासँग जोडिने तयारीमा छिन् ।
विद्याले अहिले सम्पर्क कार्यालय राख्नको लागि रोजेको यो घरलाई २०४८ सालको चुनाव मदन भण्डारीले प्रचारका लागि प्रयोग गरेका थिए। भण्डारीले यही घरबाट २०४८ मा काठमाडौं १ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरेका थिए ।
मदनले मात्रै होइन, विद्याले पनि २०५१ सालको चुनाव प्रचार प्रसारको लागि त्यही घर प्रयोग गरेकी थिइन् ।
भण्डारी दैनिक कार्यालयमा उपस्थित भएर नेता-कार्यकर्ता, समर्थक र शुभेच्छुकसँग भेटघाटसँगै आफ्नो राजनीतिक गतिविधि अघि बढाउने उनी निकटका नेताले बताएका छन् ।

Leave a Reply