काठमाडौं । काठमाडौँ उपत्यका विकास प्राधिकरणले काठमाडौंमा भइरहेको अवैध प्लटिङ्गलाई कडाईका साथ नियन्त्रण गरिने जनाएको छ ।
बुधबार प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई कडाईका साथ नियन्त्रण गरिने जनाएको हो ।
प्राधिकरणका काठमाडौं जिल्ला आयुक्त सुभाष बस्नेतले जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा सार्वजनिक संरचना निर्माणमा कडाइका साथ मापदण्ड पालना गराइने बताए ।
सांस्कृतिक तथा भोजभतेर स्थल, अस्पताल, विद्यालय, कलेजलगायत भौतिक संरचना निर्माण गर्न प्राधिकरणबाट अनिवार्य योजना अनुमति लिनुपर्ने प्रावधान भए पनि विभिन्न निकाय र व्यक्तिले अनुमति नलिई अवैध रूपमा निर्माण गर्दै आइरहेका पाइएको उनले बताए ।
कानुनी प्रक्रिया पूरा नगरेका ‘रियल स्टेट’ कम्पनी वा मापदण्ड नपुगेका व्यक्तिबाट बिक्रीमा राखिएका घडेरी तथा अवैध कित्ताकाटसम्बन्धी विज्ञापन प्रकाशित नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।

Leave a Reply