५ अर्ब ७९ करोडको लगानीमा बन्दैछ देशकै अत्याधुनिक इन्धन डिपो, एक महिनालाई पुग्ने इन्धन भण्डारण हुने

काठमाडौं । नेपाल आयल निगमले लुम्बिनी प्रदेशको इन्धन आपूर्तिलाई सहज र सुरक्षित बनाउन रुपन्देहीमा अत्याधुनिक प्रविधिसहितको विशाल इन्धन डिपो निर्माण गर्ने भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टको विशेष पहलमा रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा करिब साढे २५ बिघा क्षेत्रफलमा निर्माण हुने छ ।

लामो समयदेखि साँघुरो र घनाबस्तीको बीचमा रहेको भलवारी डिपोबाट असुरक्षित रूपमा हुँदै आएको पेट्रोलियम पदार्थको कारोबार अब सुरक्षित र फराकिलो स्थानबाट सञ्चालन हुने भएको हो ।

हालको भलवारी डिपोको भण्डारण क्षमता अत्यन्तै न्यून हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत चुनौतीपूर्ण बन्दै गएपछि निगमले यो नयाँ र वृहत् परियोजना अघि बढाएको हो । स्थानीय बासिन्दाले पनि भलवारी डिपो स्थानान्तरण गर्न निरन्तर माग गर्दै आएका थिए ।

काठमाडौं विश्वविद्यालयको सहकार्यमा तयार पारिएको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार, नयाँ डिपो निर्माणका लागि कर बाहेक ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । यो डिपो पूर्ण रूपमा स्वचालित प्रविधिमा आधारित हुनेछ । जसले इन्धनको भण्डारण, लोड तथा अनलोड प्रक्रियालाई छिटो, छरितो र सुरक्षित बनाउनेछ ।

निगमले डिपो निर्माणका लागि आवश्यक साढे ११ बिघा जग्गा खरिद गरिसकेको छ । भने थप जग्गा प्राप्तिको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । गत वर्ष नै भूमी पूजन गरी जग्गा सम्याउने, नदी किनारमा रिटेनिङ्ग वाल लगाउने र साइट कार्यालय स्थापना गर्ने जस्ता प्रारम्भिक कामहरू सम्पन्न भइसकेका छन् ।

नयाँ बन्ने डिपोको भण्डारण क्षमताले समग्र लुम्बिनी प्रदेशको एक महिनाको माग धान्नेछ । यहाँ डिजेलका लागि १३ हजार ५ सय किलोलिटर, पेट्रोलका लागि ४ हजार ९६० किलोलिटर र मट्टीतेलका लागि २२८ किलोलिटर क्षमताका विशाल भण्डारण ट्यांकहरू निर्माण हुनेछन् ।

सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै डिपोभित्र अग्नि नियन्त्रणका लागि ४ हजार २०० किलोलिटर क्षमताको पानी ट्यांकी, ८–८ वटा लोड–अनलोड बे, प्रशासनिक भवन, प्रयोगशाला, कर्मचारी आवास, सुरक्षा पोष्ट र ट्यांकर पार्किङ स्थललगायतका अत्यावश्यक संरचनाहरू निर्माण गरिने निगमको भण्डारण क्षमता अभिवृद्धि परियोजनाका प्रमुख इन्जिनियर प्रदिप कुमार यादवले जानकारी दिए । यो परियोजना सम्पन्न भएपछि लुम्बिनी प्रदेशमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीमा सुधार आउने विश्वास लिइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *