काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि २० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ ।
मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जितको स्वाद चाखेको हो ।
नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै मेनबर्नलाई १०६ रनमा रोक्न सफल भए ।
नेपाललाई फराकिलो जित दिलाउन फास्ट बलर सोमपाल कामीले ५ विकट लिए ।
टिममा निकै फेरबदल गरिरहेको नेपालले आज नियमित कप्तान रोहित कुमार पौडेललाई बेन्चमा राखेको थियो । उपकप्तान दिपेन्द्रसिंह ऐरीले टिमको सफल कप्तानी गरे ।
आसिफ शेखलाई बेन्चमा राखेको नेपालले कुशल भुर्तेलको जोडीका रुपमा भिम सार्कीलाई ओपनिङमा पठायो । तर, यो जोडी धेरै टिकेन । ६ बलमा १ रन बनाएर भुर्तेल आउट भए । तेस्रो नम्बरमा आए आरिफ शेख ।
भीम र आरिफबीच छोटो तर आक्रमक साझेदारी भयो । भीम १२ बलमा १७ रन बनाएर आउट भए भने आरिफ ७ बलमा १२ रन जोडेर फर्किए । ३२ रनमा तीन विकेट गुमाउँदै नेपाल दवावमा पर्यो ।
त्यसपछि कुशल मल्ल र कप्तान ऐरीबीच ५० रनको उपयोगी साझेदारी भयो । २२ बलमा २९ रन जोडेर मल्ल आउट भए । उनले एक छक्का र एक चौका प्रहार गरेका थिए । त्यसपछि नेपालले लगातार विकेट गुमाइरह्यो । गुल्शन झा २ र सोमपाल कामी ० रनमा आउट भए । कप्तान ऐरी पनि २८ बलमा २७ रन जोडेर पेभिलियन फर्किए ।
१०० रनमा सात विकेट गुमाएको स्थितिबाट नेपाललाई लोकेश बलमे अलिकति उकासे । आठौं नम्बरमा ब्याटिङ गर्न आएका उनले १६ बलमा २४ रन प्रहार गरे । १९ औं ओभरको अन्तिम तीन बलमा उनले लगातार दुई छक्का र चौका प्रहार गरेका थिए । रुपेश सिंहले २१ बलमा १६ रन जोडे ।
जवाफी ब्याटिङमा नेपालले मेलबर्नलाई सुरुबाटै दवावमा राख्यो । २/२ ओभरमा सोमपाल कामीले मेलबर्नको पहिलो विकेट चट्काएपछि नेपाल निरन्तर खेलमा हावी भयो मेलबर्नले ठूलो पार्टनरसीप गर्न सकेन ।
कप्तान ऐरीले बलरहरुको प्रयोग निकै सन्तुलितरुपमा गरे । कुशल भुर्तेलले दुई विकेट लिए भने साहब आलम र रुपेश सिंहको नाममा एक एक विकेट रह्यो । अघिल्लो म्याचमा ५ विकेट लिएका नन्दन यादव आज विकेटविहिन बने ।


Leave a Reply