काठमाडौं । नेकपा एसनिकट युवा संघमा समानान्तर कमिटी घोषणा गरेका सञ्जीव राईलाई केन्द्रीय अनुशासन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगका अध्यक्ष विक्रम केसीले विधान र स्थापित प्रक्रिया विपरीत गतिविधि भएको आरोपमा राईलाई तीन दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएका छन् ।
युवा सङ्घ नेपालका इन्चार्ज लक्ष्मण केसीले कार्यदलको सिफारिस अनुसार नवौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्दा राईलाई सह–संयोजकको जिम्मेवारी तोकिएको उल्लेख छ ।
पत्रमा भनिएको छ, ‘…युवा सङ्घ नेपालको विधान, स्थापित विधि तथा प्रक्रिया विपरीत अनधिकृत रूपमा कमिटी गठन गरिएको भनी युवा सङ्घ नेपालको लोगो, छाप तथा झन्डा दुरुपयोग गरी के कति कारणले अराजनीतिक क्रिया गर्नु भएको हो । सो को आधार कारण सहित ३ (तीन) दिन भित्र लिखित स्पष्टीकरण पेश गर्नु होला ।’
तोकिएको मितिमा लिखित स्पष्टीकरण पेश नगरेमा वा पेश गरेको स्पष्टीकरण सङ्घको विधान, स्थापित विधि तथा प्रक्रिया विपरीत भएमा आवश्यक कारबाही गरिने पत्रमा उल्लेख छ ।
युवा संघले रोशन थापाको संयोजकत्वमा २०१ आयोजक कमिटी घोषणा गरेपछि असन्तुष्टि बढेको छ । समानान्तर कमिटीको उपाध्यक्षमा सम्मानित नेता झलनाथ खनालका छोरा निर्भीक छन् ।


Leave a Reply