काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रस्तावना, नाम र ऐन तुरुन्तै लागू हुने व्यवस्था कायम गरिएको छ ।
प्रतिनिधिसभाबाट सर्वसम्मत पारित उक्त विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा बुधवारदेखि सुरु भएको दफावार छलफलका क्रममा प्रतिनिधि सभामा पारित भएको विधेयकको प्रस्तावना र ऐन तुरुन्तै लागू हुने व्यवस्था जस्ताको त्यस्तै पारित गरेको हो ।
कतिपय सांसदले विधेयक प्रमाणीकरण भएको एक महिनापछि लागू हुने व्यवस्था गर्न माग गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ, मन्त्रालयका सहसचिव, कानून मन्त्रालयका सहसचिव लगायतले तुरुन्तै लागू गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएपछि बैठकले सर्वसम्मतबाट प्रतिनिधि सभाबाट पारित भएको व्यवस्थालाई नै कायम गरेको हो ।
प्रतिनिधि सभाबाट पारित विधेयकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी व्यवस्था गरी सो सेवालाई राष्ट्रहित र संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिक रूपमा तटस्थ, पेसागत रूपमा सक्षम, सुदृढ, सेवामूलक, जनउत्तरदायी, समावेशी पारदर्शी, परिणाममुखी, प्रविधिमैत्री र व्यावसायिक बनाउँदै सुशासनयुक्त संयन्त्रको रूपमा विकास गर्न वाञ्छनीय भएकोले संघीय संसदले यो ऐन बनाएको उल्लेख छ ।
दफा १ मा ऐनको नाम संघीय निजामती सेवा ऐन, २०८२ रहेको छ भने ऐन तुरुन्तै लागू हुने भएको छ ।
विधेयकको प्रस्तावनामा डा. अञ्जान शाक्य, विष्णुबहादुर विश्वकर्मा, डा।बेदुरा भुसाल, तुलप्रसाद विश्वकर्मा संशोधन दर्ता गराएका थिए भने दफा १ को उपदफा २ मा भुसाल, शाक्य, सुरशेकुमार आलेमगर लगायतका सांसदले संशोधन दर्ता गराएका थिए ।
समितिले समितिका सदस्यसँगै सम्बन्धित दफा तथा उपदफाका संशोधनकर्तालाई सँगै राखेर दफावार छलफल गरिरहेको छ । प्रतिनिधि सभाले विधेयक प्रमाणीकरण भए लगत्तै लागू हुने व्यवस्था पारित गरेकोमा शाक्य, आलेमगर लगायतका सांसदले प्रमाणीकरण भएको मितिले ३० देखि ३१ औँ दिनसम्म लागू हुनुपर्ने संशोधन दर्ता गराएका थिए ।

Leave a Reply