उपसभामुखबारे कार्यव्यवस्थामा प्रश्न- रातो पासपोर्ट बोकेर एनजीओको कार्यक्रममा दौडिन मिल्छ ?

काठमाडौं । सभामुख देवराज घिमिरेले राखेको कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादीले उपसभामुख इन्दिरा राना मगरको अमेरिका भ्रमणबारे प्रश्न उठाएको छ ।

बैठकमा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले उपसभामुखको विषय चर्चामा आइरहेको भन्दै विषय उठाएपछि कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखको भ्रमणबारे प्रश्न उठाए ।

पाण्डेले बैठकमा भने, ‘उपसभामुखलाई हटाउने भन्ने विषय हिजोदेखि आइरहेको छ । यो के हो ? जानकारी होस् ।’

त्यसपछि सभामुखले व्यक्तिगत कार्यक्रममा लागि उपसभामुख अहिले अमेरिका भ्रमण गएको जानकारी गराए । सभामुखले उपसभामुखबारे जवाफ दिएपछि कांग्रेस सांसद खतिवडाले उपसभामुख कस्तो कार्यक्रममा सहभागी हुन गएको भन्दै प्रश्न उठाए ।

खतिवडाले सभामुखलाई भने, ‘उपसभामुख सांसदसँग सम्बन्धित कार्यक्रममा जानुभएको हो कि अरू कुनै एनजिओ, आइएनजीओको? सभामुखलाई जानकारी गराउनुभएको होला । रातो पासपोर्ट बोकेर उपसभामुख पटक पटक विदेश जान मिल्छ कि मिल्दैन ?’

खतिवडाले पटक-पटक संसदीय समितिमा एनजीओ आईएनजीओ कार्यक्रम रोक्न कुरा उठाउने तर आफू घुम्न जाने यसमा महासचिवले पनि कडाइ गर्नुपर्‍यो भन्दै सभामुखसँग सवाल जवाफ गरेका थिए ।

खतिवडाले भने, ‘संसदमा एनजीओ आइएनजीओ कार्यक्रम रोक्ने । आफू चाहिँ यस्ता कार्यक्रममा जाने, यस्ता कार्यक्रममा जान रोक्नुपर्‍यो । उहाँ कसको खर्चमा जानुभएको हो ?’

सभामुख घिमिरेले उपसभामुख सहभागी हुने कार्यक्रम संसदीय कार्यक्रम नभएको जानकारी दिएका थिए । सभामुखले भने, ‘एउटा कार्यक्रममा बिदा मागेर जानुभएको छ । संसद्को त होइन ।’

कांग्रेसले प्रश्न उठाएपछि उपसभामुख सहभागी भएको कार्यक्रम संसदीय नभएको र आफूलाई जाने आउने समय मात्रै बनाएको जवाफ फर्काएका थिए ।

कांग्रेस एमालेले उपसभामुख मगरको आचरणमाथि प्रश्न उठाउँदै हटाउनको लागि हस्ताक्षर सांसदहरूको हस्ताक्षर जुटाइरहेको छ । देशबाहिर हुँदा राम्रो सन्देश नजाने भन्दै फर्केपछि हटाउने प्रस्ताव अघि बढाउने तयारी छ ।

उनी भदौ १३ गते स्वदेश फर्किने कार्यक्रममा छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *