काठमाडौं । अभिनेता विजय बरालको चलचित्र ‘जनै हराएको मान्छे’ यही शुक्रवारबाट हलहरूमा लाग्दैछ भने अर्का अभिनेता नाजिर हुसेनको चलचित्र ‘गुन्यु चोलो’ अर्को शुक्रवार भदौ १३ बाट लाग्दैछ । रंगमन्चबाट उदाएका यी दुई अभिनेता मण्डला थिएटरको संस्थापक पनि हुन् ।
अभिनय क्षेत्रमा १८ वर्षदेखि सँगसँगै रहेका विजयले नाजिरलाई भाइ भन्छन् भने नाजिरले विजयलाई दाइ सम्बोधन गर्छन् । विजय ‘कबड्डी’को बिके पात्रबाट चर्चामा आएका थिए भने नाजिर ‘होस्टेल रिटर्न्स’को रामेश्वर यादव नामक पात्रबाट चर्चामा आएका थिए ।
अहिले एक साताको अन्तरमा यी दुई अभिनेताको चलचित्र हलहरूमा लाग्दैछ । साथै उनीहरूले एक अर्काको चलचित्र प्रचारका लागि फरक शैली पनि अपनाएका छन् । नाजिरले सार्वजनिक गरेको भिडियोमा दुवैले एक अर्काको चलचित्रको पात्रको नाम समेत भनेका छन् ।
सार्वजनिक भिडियोमा सबैभन्दा पहिला विजयले सोध्छन्, ‘के छ भाइ साथी रु’ नाजिरको जवाफ आउँछ, ‘नमस्कार दाइ साथी ।’ यसपछि विजय भन्छन्, ‘आइजो हग गरौँ। मलाई एकै पटक कति खुसी लागेको छ । तँ र मेरो १८ वर्षदेखिको प्रेम हो भाइ ।’
यसपछि विजयले आफूले ‘गुन्यु चोलो’को गीत, ट्रेलर हेरेको, एकदमै मन छोएको बताउँछन् । अनि सोध्छन्, ‘तैँले मेरो चलचित्रको टिजर, ट्रेलर हेरिस् ?’
नाजिरले जवाफ दिन्छ, ‘किन नहेर्नु हौ । मुसुरीको दानामा अझ तपाईँ नाच्दाखेरि मेरो मन खुसी भयो । दाइ पनि नाच्नुभयो भन्ने भयो ।’
यसपछि विजयले आफ्नो चलचित्रको पात्रको नाम बनाउन लगाउँछन् । नाजिरले भन्छन्, ‘सीताराम सापकोटा’ । विजयले नाजिरको ‘गुन्यु चोलो’को पात्रको नाम गुलाबी थापा रहेको बताउँछन् ।
अन्यमा दुवैले एक अर्काको चलचित्रको डेट भन्छन् । अनि ‘आइजो बाबु हग गरौँ’ भन्दै पुनः हग गर्छन् ।

Leave a Reply