महिलालाई आत्मनिर्भर बन्न सीप सिकाउँदै एमाले कोशी प्रदेश सम्पर्क कमिटी

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश सम्पर्क कमिटीको महिला विभागले तीन दिने सीपमूलक तालिम सम्पन्न गरेको छ ।

हरितालिका तीजको अवसरमा महिलाहरुलाई फूलको बुके बनाउने तीन दिवसीय तालिम सञ्चालन गरेको कोशी प्रदेश सम्पर्क कमिटीका सचिव सुरज काफ्लेले जानकारी दिए ।

तालिमको समापनका क्रममा प्रमुख अतिथि रहेका एमाले स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय कमिटी इन्चार्ज कमरेड लालबाबु पन्डितले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

उनले महिलाहरुले घर व्यवहारसँगै अब व्यापार व्यवसायमा लागेर आत्मनिर्भर बन्दै परिवारसहित समाज र राष्ट्रलाई योगदान दिन सक्नुपर्ने बताए । त्यसका लागि यस किसिमका तालिमले आधारभूत भूमिका खेल्ने उनको भनाइ थियो ।

त्यस्तै, केन्द्रीय सदस्य ईन्द्र भण्डारी र नरेन्द्र श्रेष्ठले पार्टीका कमिटीहरुले सक्रियता देखाएर सीपमूलक कार्यमा कार्यकर्तालाई डोर्याउने कार्यले उद्यमशीलताको विकास गर्ने विश्वास व्यक्त गरे ।

कोशी प्रदेश सम्पर्क कमिटीका अध्यक्ष नवराज घिमिरले तीज नजिकिँदै गर्दा मनोरञ्जन मात्रै नभएर आर्थिक उपार्जनको आधार तय गर्न तालिमको आयोजना गरिएको उल्लेख गरे ।

कोशी प्रदेश सम्पर्क कमिटी महिला विभागकी अध्यक्ष राधिका दाहालले तालिमको अध्यक्षता गर्दै तालिमले महिलाहरुको सशक्तिकरणमा भूमिका खेल्ने बताइन् ।

त्यस्तै, कोशी प्रदेश सम्पर्कका सचिव सुरज काफ्लेले नेकपा एमालेले आत्मनिर्भरतामा विश्वास गर्ने भएकाले सीपले नै व्यक्तिलाई आत्मविश्वासी र आत्मनिर्भर बनाउने उल्लेख गर्दै सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

करिब ३० जना महिलाहरुले तालिममा सहभागी भएका थिए ।

  

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *