रुपन्देही । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष जितेन्द्रबहादुर शाहले २०८० असार ११ गते नगर प्रमुख नरुलाल चौधरीलाई कार्यपालिका बैठकमै राजीनामा बुझाए । उक्त राजीनामा पत्र दुई वर्षसम्म दराजमा थन्क्याएका मेयर चौधरीले अहिले अचानक स्वीकृत गरिदिएका छन् ।
कुनै पनि जनप्रतिनिधिले पदबाट राजीनामा दिएको कति अवधिभित्र स्वीकृत गरिनुपर्छ भन्ने कुनै विशेष कानूनी प्रावधान छैन । तर, यतिका दिनपछि राजीनामा स्वीकृत गरिनुले मेयर चौधरीमाथि प्रश्न उठिरहेको छ । वडाध्यक्ष स्वयम्ले आश्चर्य व्यक्त गरेका छन् ।
रोचक के भने मेयर चौधरी र वडाध्यक्ष शाह एउटै पार्टी एमालेबाट निर्वाचित हुन् । मेयरसँग वडाध्यक्ष सुरुवातदेखि नै असन्तुष्ट थिए । मेयरले आफ्नो वडामा पर्याप्त बजेट नदिएको भन्दै उनले राजीनामा दिएका हुन् । ०८० सालमा दिएको राजीनामा पत्रमा हस्ताक्षर भने नगरेको शाहको भनाइ छ । तर मेयरको सचिवालयले भने हस्ताक्षरसहितको राजीनामा आएको दावी गरेको छ । तर राजीनामा पत्र सार्वजनिक गरिएको छैन ।
वडाध्यक्ष शाहको बसोबास यसअघि वडा नं ९ मा थियो । निर्वाचनभन्दा पहिले बसाईसराई गरेर ८ नम्बरमा आएका उनले आफ्नो व्यक्तिगत लोकप्रियताको बलमा चुनाव जितेका हुन् । उक्त वडामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससहितका दलले गठबन्धन गरेका थिए एमालेको संगठन कमजोर थियो । भागवण्डामा कांग्रेसलाई परेपछि माओवादीको मत शाहले ताने ।
युवा जमातमा चर्चित शाहले आफूले टिकट पाए जितेर देखाउने दावी गरेपछि पार्टीले विश्वास गरेर त्यहाँ पठाएको थियो । नभन्दै जितेरै देखाए । आफूले वडाध्यक्षमा मात्रै जितेनन्, सबै सदस्यहरु पनि एमालेबाटै जिताए । यसले गर्दा उनको चर्चा चुलियो । मेयर चौधरीको भने दोस्रो कार्यकाल हो ।
तर चुनाव जितेपछि भने मेयर चौधरीसँग उनको स्प्रिट मिलेन । पहिलो बजेटबाटै शाहले मेयरसँग असन्तुष्टि जनाउन थालेका थिए । शाहले राजीनामा दिएर नगर सभाबाट बाहिरिएछि मेयर चौधरीले युवा उमेरमा आवेशमा नआउन र संयम हुन आग्रह गरेका थिए । उनले राजीनामा यत्तिकै थन्काएका थिए । राजीनामा स्वीकृत नभएपछि शाहले नियमित जिम्मेवारी बहन गरे ।
केही समयपछि शाहले पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गरेर एमाले छाडी स्वतन्त्र बसेको घोषणा गरे । त्यसयता पनि उनले नियमित वडा कार्यालयमै गएर काम गरिरहेका थिए । सोमबार पनि उनी नियमित नगरसभाको बैठकमा गएको बेला आफ्नो वडाध्यक्ष पद चैट भएको थाहा पाए ।
सोमबार बिहानै वडाध्यक्ष शाहले स्थानीय हाटबजारको व्यवस्थापनमा खटिएको भिडियो शेयर गरेका थिए । त्यो भिडियोमा उनले कर संकलनका विषयमा स्थानीयवासीसँग प्रश्नोत्तर गर्दै कार्यपालिका बैठकबाट अनावश्यक कर हटाउन पहल गर्ने आश्वासन दिएका छन् । एकछिनमा कार्यपालिका बैठकमा जाँदा उनको वडाध्यक्ष पद गुमिसकेको बताइयो । मेयरले उनलाई भित्र छिर्नै रोक लगाए ।
नगर प्रमुख चौधरीले आफूले गएको वर्ष असारमा राजीनामा स्वीकृत गरेको र सोमबार भएको कार्यपालिका बैठकबाट अनुमोदन गराएको पत्रकारलाई बताएका छन् ।
‘युवा जनप्रतिनिधि हो भनेर सम्झाएर काममा लगाउने प्रयास भयो, तर आफ्नो अधिकार क्षेत्रबाट बाहिर गएर बोल्दै हिँड्ने, सामाजिक सन्जालमा जनप्रतिनिधि र पार्टीका नेताहरुलाई गाली गरेर लेख्ने र राजीनामा स्वीकृत गर्न नसक्ने हुतिहारा बताउँदै आएपछि हटाउन बाध्य भएको हुँ,’ उनले भने, ‘सभामै राजीनामा घोषणा गर्नुभयो, पत्रकार सम्मेलन गरेर पार्टी छाड्नुभयो, पदीय मर्यादामा नरहेपछि हटाइएको हो ।’
त्यसो त पार्टीको नीतिविपरीत कार्य गरेको भन्दै वडाध्यक्ष शाहलाई एमालेले २०८१ माघमा नै कारवाही गरेको थियो ।
राजीनामा स्वीकृत भएपछि जेष्ठताका आधारमा चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएर मेयर चौधरी काठमाडौं पुगेका छन् । चुडामणि पनि एमालेकै हुन् । राजीनामा स्वीकृतपछि शाहले कार्यपालिका बैठकमा आफूलाई बस्न नदिएको गुनासो गरेका छन् । मेयरले हकारेर बाहिर निकालेको उनको भनाइ छ ।
‘म भित्र जान खोज्दा नगर प्रमुखज्यूले रिसाएर बस्न पाउनुहुन्न आउट भन्नुभयो, मैले किन मेर साब भन्दा ‘तपाईको २०८०–३–११ गते दिएको राजीनामा पत्र स्वीकृत भइसक्यो’ भन्नुभयो । त्यसबेला राजीनामापत्रमा हस्ताक्षर नभएको भनेर मेयरले सामाजिक सन्जालमा लेख्नुभएको थियो । तर आज यति लामो समयपछि कहाँबाट गएछ हस्ताक्षर र स्वीकृत भएको भन्नुभयो,’ उनले लेखेका छन् ।
तर मेयर शाहले कार्यालयमा शाहको हस्ताक्षरसहितको राजीनामा पत्र स्वीकृत गरेर कार्यपालिका बैठकले पास गरेको दावी गरेका छन् । उममेयर हुमा डिसीले सोमबारको कार्यपालिका बैठकमा शाह पुगेपछि मेयरले राजीनामा स्वीकृत गरेको विषय जानकारी दिएको बताइन् ।
‘उहाँको राजीनामा स्वीकृत भएको विषय मलाई पनि जानकारी थिएन, आजको बैठकमा वडाध्यक्ष शाह पुगेपछि मेयरसा’बले तपाईको राजीनामा स्वीकृत भएको छ, अब यहाँ नबस्नुस् भनेपछि उहाँले तपाईंहरुलाई धन्यवाद भनेर जानुभएको हो,’ उनले भनिन्, ‘उहाँले सम्बोधन गर्छु भन्नुभएको थियो, तर मेयर सापले अब वडाध्यक्ष नै नभएपछि किन चाहियो भनेपछि बाहिरिनुभएको हो ।’

Leave a Reply